प्लाइउड निकासीमा भारतीय सर्तले अन्योलमा उद्योगी



  नेपालगन्ज।
नेपालबाट निकासी हुने बस्तुको टपटेन सूचीमा प्लाइउड परेको छ । चालु आर्थिक वर्षको ५ महिनामै झन्डै पौने ३ अर्ब रुपैयाँबराबरको प्लाइउड भारत निर्यात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले यस अवधिमा विभिन्न शीर्षकमा २ अर्ब ८९ करोड २ लाख रुपैयाँबराबरको प्लाइउड भारततर्फ निर्यात गरेको हो ।

यो अवधिमा मात्रै नेपालगन्ज भन्सार नाकाबाट ११ करोड २३ लाखको प्लाइउड निकासी भयो । बाँकेमा रहेका आधा दर्जन प्लाइउड उद्योगले विभिन्न ब्रान्डका प्लाई भारत निकासी गर्दै आएका छन् । नेपालबाट प्लाइउड निकासी बढ्दै गएपछि भारतले भारतीय गुणस्तर प्रमाण (आइएसआई) अनिवार्यताको सर्त तेस्र्याएको छ । हालसम्म बिना आइएसआई प्लाइउड भारततर्फ निर्यात गरिरहेका नेपाली उद्योगीलाई यसले अवरोध गर्ने नेपालगन्जका एक जना प्लाइउड उद्योगीले बताए ।

उनका अनुसार भारतले अब आइएसआई खोज्ने भएपछि नेपालबाट जाने प्लाइउडमा केही समस्या सिर्जना हुने भएको छ । भारत सरकारले गत भदौ १४ मा राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी फेबु्रअरी २८ पछि प्लाइउडमा आइएसआई प्रमाण अनिवार्य गरेको हो ।
यसपश्चात नेपाली प्लाइउड उद्योगीले नेपालको उद्योग मन्त्रालयसँग विभिन्न चरणमा छलफल गरेर यसको सहजीकरणको पहल गरिदिन आग्रह गरेका छन् ।

सबैजसो उद्योगले आइएसआई लिन करिब ५ देखि ६ महिनाको समय लाग्ने भए पनि भारतले तोकेको समय केही अपुग हुने उनी बताउँछन् ।
यो प्रमाणपत्र लिन जटिल प्रक्रिया पूरा गर्नुपर्ने बाध्यताबीच उद्योगीहरू अन्योलमा छन् । उनीहरूले नेपाल सरकारले भारत सरकारसँग समन्वय गरेर जुनसुकै बहानामा निर्यातमा हुने सम्भावित बाधा हटाउनुपर्ने माग गरेका छन् । उद्योगीहरूले भारतीय गुणस्तर प्रमाणपत्र लिन तयार छन् तर त्यसका लागि सहज वातावरण निर्माणको अपेक्षा गरेका छन् ।

यहाँ निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्तै रहेको मोर्डन प्लाइउडका प्रबन्ध निर्देशक पशुपति दयाल मिश्र बताउँछन् । जसका कारण पूर्वी र पश्चिमी दुवैतर्फका नाकाहरूबाट भारततर्फ गत आर्थिक वर्षमा मात्रै ६० लाख क्युबिक मिटर बढी प्लाइउड निर्यात भएको पाइएको हो । यस्तै चालु आर्थिक वर्षको पहिलो ४ महिनामा पनि यसको निर्यात प्रशस्तै भएको पाइएको छ । धेरै निर्यात हुने ३० वस्तुभित्रको सूचीमा परेको प्लाइउड पछिल्लो ५ महिनामा मात्रै २७ लाख क्युबिक मिटर प्लाइउड निर्यात भएको पाइएको छ ।

भारतीय बजारमा बढेको प्लाइउडको मूल्यका कारण नेपालमा पाइने सस्तो मूल्यको प्लाइउडको निर्यात बढेको पाइएको छ । भारतमा प्लाइउडको कच्चा पदार्थको मूल्य बढ्नु, नेपालको निर्माण क्षेत्रमा सुस्तता आउनु र प्लाइउडलाई पनि निर्यातमा नगद अनुदान पाइने वस्तुको सूचीमा समावेश गरिनुले नेपालबाट हुने यसको निर्यात लगातार बढिरहेको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे बताउँछन् ।

यसरी यसको निर्यात बढेपछि नेपालबाट निर्यात हुने प्रमुख वस्तुको रूपमा यसलाई राखिनुपर्ने उद्योगी व्यवसायीहरूको भनाइ छ । नेपालबाट जाने सस्तो मूल्यको प्लाइउडको खपत भारतका लखनउ, कानपुर, दिल्ली, आग्रा, देहरादुनलगायतका बजारसम्म हुने गरेको छ ।

प्रकाशित मिति : २०८० पुस १९ गते बिहीबार