घर–घर पुगेर सिकलसेल बिरामी खोज्दै पालिकाहरू



नेपालगन्ज।
बाँकेको कोहलपुर र राप्ती सोनारी गाउँपालिकाले सिकलसेल र थालेसिमिया रोगको ‘क्रिनिङ’ गरेका छन् । थारू समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बढ्दै गएपछि पालिकाहरूले सर्वसाधारणको स्वास्थ्य जाँच गरेका हुन् । स्वास्थ्य कार्यालय बाँकेको सहकार्यमा दुवै पालिकाले यस्तो जाँच सुरु गरेका हुन् । राप्ती सोनारीको वडा नं. १, ४, ३, ६, २ वडामा जाँच गरिएको छ भने कोहलपुरमा नियमितरूपमा परीक्षण हुँदै आएको छ । राप्ती सोनारीमा गरिएको स्क्रिनिङ ३५ जनाको रक्त नमुना संकलन गरिएको स्वास्थ्य कार्यालय जनस्वास्थ्य अधिकृत एवम् सूचना अधिकारी नरेश श्रेष्ठले बताए ।

खासकुश्माका राप्ती नदीपारिका विकट तथा छरिएको बस्तीहरूबाट लक्षित समूह थारू, खुना र कुमाल जातिका नागरिकहरूको रक्त नमुना संकलन गरिएको खासकुश्मा स्वास्थ्य चौकी प्रमुख अमरसिंह महताराले जानकारी दिए । संकलित रक्त नमुना परीक्षणका लागि तुरुन्तै कोहलपुर नगरपालिकाको सिकलसेल ल्याबमा पठाइएको राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए ।

रक्त नमुना संकलन शिविर हरेक हप्ताको ३ दिन चल्नेछ । चैत मसान्तसम्म चल्ने शिविरमा करिब ३ हजार जना लक्षित समुदायको रगत नमुना जाँच गर्ने लक्ष्य लिइएको छ । शिविरमा प्रत्येक एक पटकमा ३०–४० वटा नमुना संकलन गर्ने लक्ष्य पालिकाले लिएको केसीले बताए । थारू समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरू भएसँगै दुवै रोगका बिरामी बढ्दै गएको देखिएको हो ।

सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क उपचारले केही राहत भए पनि थालसेमियाका बिरामीले राहत नपाउने समस्या छ । यसका बिरामी पनि कति छन् भन्ने खुल्न सकेको छैन । कतिपय बिरामी त विभिन्न शारीरिक समस्या देखिएपछि छिटो निको हुने आशमा निजी अस्पताल र मेडिकल धाउँदा लाखौं रकम खर्च भएको र त्यस्ता शारीरिक समस्याको निको पनि नभएको बताउँछन् ।

सिकलसेल एनिमियाका बिरामी केही त्यस्ता छन् जसलाई सरकारले १ लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्छ भन्ने कुराको समेत जानकारी नहुँदा विभिन्न अस्पताल र मेडिकल कलेजमा सास्ती खेपिरहेका छन् । जनस्वास्थ्य अधिकृत श्रेष्ठले १ लाखसम्मको उपचार निःशुल्क हुने र बाँकीको बीमामा खर्च भरिने बताए ।

श्रेष्ठले विवाह कुण्डली मिलाएर सिकलसेल एनिमियाको न्यूनीकरण गर्न सकिने उल्लेख गर्दै सिकलसेलको बाहकका लागि औषधि आवश्यक नपर्ने बताए । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ ।

‘अहिलेको पुस्तामा रोग देखिएको छैन तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ । यो रोग अफ्रिका, भारतलगायतका मुलुकमा रहेको छ । थारू समुदायबाहेक बाहुन, क्षेत्री, मगरमा पनि सिकलसेल देखिएको बताइएको छ । थारू बाहुल्य बाँके र बर्दियामा मात्रै पहिचान भएको करिब ४ हजार सिकलसेलका बिरामी छन् ।

प्रकाशित मिति : २०८० पुस १९ गते बिहीबार