बाँकेमा हात्तीपाइलेविरुद्धको अभियानः जतिपटक अभियान गर्दा पनि ‘कभरेज’ बढ्न सकेन



सर्वसाधारणले निसङ्कोच औषधी सेवन गर्दा कर्मचारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायत जानेबुझेकाले भने असहयोग गरेपछि कभरेज बढ्न सकेन । अब विगतमा खुवाइएको औषधी सेवनको प्रभावकारिता परीक्षणका लागि अभियान सुरु गरिँदै छ ।

कमल डाँगी । नेपालगन्ज ।
१३औं पटक अभियान सञ्चालन गर्दा पनि बाँकेमा हात्तीपाइलेविरुद्धको औषधी सेवनको ‘कभरेज’ निराशाजनक छ । यही निराशाबीच स्वास्थ्य कार्यालय बाँकेले पटक–पटक खुवाइएको औषधीको प्रभावकारिता जाँच्न लागेको प्रमुख सुनिता पौडेलले बताइन । उनका अनुसार बुधबारदेखि नेपालगन्ज, कोहलपुर, नरैनापुर र राप्ती सोनारी गाउँपालिकामा हात्तीपाइले औषधीविरुद्धको औषधीको प्रभावकारिता परीक्षण गर्न सुरु गरिँदै छ ।

पहिलो दिन कोहलपुर नगरपालिकाको वडा नं. ६ मा परीक्षण गर्ने कार्यक्रम छ भने त्यसपछि अन्य तीनवटै पालिकाका ४ नम्बर वडामा यस्तो परीक्षण गरिनेछ । यो परीक्षण प्रभावकारितामा सफल भए अब हात्तीपाइलेविरुद्धको औषधी सेवन गर्नु नपर्ने हुन्छ । तर परीक्षणमा नतिजा नकारात्मक आए फेरि खुवाउने अभियान सुरु गर्नुपर्छ । बाँकेमा स्वास्थ्यकर्मीले पढेलेखेकै व्यक्तिबाट पनि खोप अभियानमा असहयोग भएको दुखेसो पोखेका छन् । खोप खुवाउने अभियानमा खटिएका एक जना स्वास्थ्यकर्मीले भने, ‘सर्वसधारण नागरिकले मज्जाले औषधी सेवन गरिरहेका बेला सहरमै नाम कहलिएका व्यक्तिले मेरो घरमा औषधी नल्याउनु भन्नुभयो ।

अब भन्नुहोस् हामी स्वास्थ्यकर्मी एक्लैले के गर्न सक्छौं ?’ सबै उपाय अपनाउँदा पनि सहरमै कभरेज नबढेपछि स्वास्थ्यकर्मीले ‘सरेन्डर’ गर्नुपर्ने अवस्था आएको भन्दै निराशा व्यक्त गर्दै आएका छन् । हात्तीपाइले रोग निवारण अभियानका फोकल पर्सन दुर्गा गौतमले हात्तीपाइलेविरुद्धको औषधीको प्रभावकारिता जाँच्नका लागि सुरु हुने अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताइन् । उनले भनिन्, ‘समग्र जिल्लाकै स्वास्थ्यसँग सम्बन्धित विषय भएकाले सबैको साथ र सहयोग चाहिन्छ ।’ नेपालगन्जमा रहेको ६ लाख १६ हजार जनसंख्यामा ५.५ प्रतिशतलाई हात्तीपाइले देखिएको तथ्यांक छ ।

यो अवस्था अन्त्यका लागि हरेक वर्ष अभियान सञ्चालन गर्दै आए पनि नेपालगन्जमा यसको कभरेज ५० प्रतिशतभन्दा बढी हुन सकेको छैन ।
गत वर्ष सञ्चालन भएको अभियानका क्रममा नेपालगन्जमा प्रगतिको अवस्था जम्मा ४७ प्रतिशत थियो । अन्य पालिकाको कभरेजको अवस्था नेपालगन्जको भन्दा राम्रो छ । आठ पालिकामध्ये सबैभन्दा कम कभरेज नेपालगन्जको छ भने त्यसपछि नरैनापुरकै ६३ प्रतिशत छ । ‘लगभग ८० प्रतिशतलाई ठिकै मान्न सकिन्छ तर नेपालगन्जमै औषधी सेवनको कभरेज ५० प्रतिशत नाघेको छैन,’ गौतमले भनिन् ।

औषधी सेवनका लागि राजनीतिक दल, धर्मगुरु र सामाजिक अभियन्तालाई सक्रिय बनाइएको छ । तर पढेलेखेका व्यक्तिले नै औषधी सेवनले समस्या ल्याउँछ भन्दै अफवाह फैलाएपछि अन्य व्यक्तिको समेत अभियानमा असहयोग बढेको पाइएको छ । नेपालगन्जमा स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि तहबाटै औषधी सेवनमा असहयोग भएपछि त्यसका विरुद्ध कडाइका साथ जानुपर्ने आवाजसमेत उठेको छ । औषधी सेवन नगरेको अवस्थामा सरकारले दिने सेवा सुविधा रोक्ने सम्बन्धमा सुझाव आए पनि नागरिकको मौलिक हक हनन् हुनेमा सचेत रहेको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल बताउँछन् ।

उनी भन्छन्– ‘तर अब हामीले सामान्य तरिकाले अभियान सफल पार्न नसक्ने भएकाले केही न केही कडाइ गर्नैपर्ने निष्कर्षमा पुगेका छौं ।’
औषधि सेवन कार्यक्रमलाई सहयोग पुग्ने गरी गतिविधि हुनुको साटो जानेबुझेकाहरूबाटै अफवाह फैलाउने काम भएको भन्दै त्यसलाई चिरफार गरेर अघि बढ्नुपर्ने सुझाव दिइएको छ । जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जिल्लाका अन्य पालिकाको तुलनामा नेपालगन्जमा निकै कम कभरेज भएकाले आमऔषधि सेवन कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो वडामा जनप्रतिनिधि जिम्मेवार ढंगले लाग्नुपर्नेमा जोड दिए ।

औषधि सेवन गर्नेहरू पनि औषधि सेवन नगर्नेहरूका कारण जोखिम रहेको भन्दै उनले आफ्नो स्वास्थ्यप्रति सबै गम्भीर हुनुपर्नेमा जोड दिए । तथ्यांक अनुसार वडा नम्बर ३, ५, ७, ८, ११ र १६ मा ३० प्रतिशतभन्दा कम कभरेज छ । यस्तै २, ४, ६, १२, १९, २०, २१ र २२ मा ५० प्रतिशत कम कभरेज रहेको देखिएको छ ।

प्रकाशित मिति : २०८० पुस १८ गते बुधबार