नेपालगन्ज।
नेपालगन्ज–३ एकलैनीका ६४ वर्षीय मुख्तार सिद्धिकीले ढाका टोपीको व्यापार गर्न लागेको वर्षौं भइसक्यो । बाबुबाजेको पालाबाट सुरु भएको यो व्यापारलाई उनले पनि निरन्तरता दिइरहेका छन् । नेपालीको मौलिक पहिचान बनेको ढाका टोपीको कारोबारले आत्मसन्तुष्टि दिइरहेको पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका सिद्धिकीको भनाइ छ । उनी भन्छन्, ‘यो मेरा लागि व्यापार मात्रै होइन, नेपालीको मौलिक पहिचानको बिस्तार गर्ने थलो पनि हो ।’
उनकै छिमेकी मोहमद जहिरको उमेर पनि ६० वर्ष पुग्यो । बुबाको पालाबाट सुरु गरिएको ढाकाको टोपी बेच्ने व्यापारलाई उनले पनि निरन्तरता दिइरहेका छन् । ‘पहिले पहाडबाट व्यापारका लागि आउनेहरू हाम्रा ग्राहक हुन्थे । अहिले त सहर बजारबाटै किन्न आउनेहरू धेरै छन्,’ नयाँ पुस्तामा समेत ढाका टोपी लगाउने क्रेज बढेको बताउँदै उनी भन्छन्, ‘बूढापाकाको शिरमा मात्रै लगाउने ढाका टोपी अहिले युवा पुस्तामा समेत देख्न पाइन्छ ।’ नेपालगन्जमा ढाका टोपीका लागि चर्चित छ, पाल्पाली ढाका टोपी पसल ।
जहाँ हर प्रकारका ढाका टोपी पाइन्छन् । यहाँ ८० रुपैयाँदेखि ६ हजार रुपैयाँसम्मको ढाकाका आकर्षक टोपीहरू पाइने गरेको छ । हातैले बलियो धागोले बुनेको टोपीको मूल्य अत्यधिक हुने गरेको छ भने नेपालगन्जमै ढाका टोपीका शौखिनहरूले २० हजारसम्मको टोपी किनेको समेत पाइएको छ । दशैँ, तिहार एवम् विवाह, व्रतबन्धमा ढाका टोपी व्यापार बढ्ने गरेको व्यापारीहरूको अनुभव छ ।
तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारको रूपमा स्नेहपूर्वक ढाका टोपी दिने प्रचलन रहेकाले यसको व्यापार बढ्दै गएको व्यापारीहरूले बताएका छन् ।पछिल्लो समय नयाँ पुस्ताले पनि ढाका टोपीको प्रयोग गर्ने प्रचलन बढेकाले व्यापारमा वृद्धि हुँदै गएको छ । चाडपर्व मात्र नभई विभिन्न सभा सम्मेलनमा सहभागी हुँदासमेत ढाका टोपीको प्रयोग गर्ने प्रचलनले व्यापार बढेको छ । ढाका टोपी नेपाली समाजको पहिचान हो ।
जसलाई हाम्रो आस्थाको प्रतीक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व, कार्यक्रममा ढाका टोपी लगाउने गरिन्छ । विगतमा सरकारी निकायका कर्मचारीलाई अनिवार्य गरिएको र नागरिकता बनाउँदा ढाका टोपी लगाउनुपर्ने व्यवस्था गरिएकोमा पछिल्लो समय पूर्वाग्रहका आधारमा हटाइएपछि त्यसको कारोबारमा असर परेको व्यवसायीहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्