अघिल्लो कार्यकालमाको स्थानीय तह निर्वाचनमा राजपुर गाउँपालिका–७ को वडा सदस्यमा निर्वाचित भएका पुष्कर वली २०७९ सालको स्थानीय तह निर्वाचनमा ७ नम्बर वडाबाटै वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । वडा सदस्य भएर निकै सक्रियताका साथ जनताका सम्पूर्ण कामकाज सहज रूपमा गर्दै आएका वलीले वडाध्यक्षमा निर्वाचित भएपछि जनताको घर आँगनमा ‘शाखा वडा कार्यालय’ स्थापना गरेर वडाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधा सहज रूपमा प्रदान गर्दै आएको बताएका छन् । वडाको विकास निर्माणका गतिविधिमा केन्द्रित रहेर वडाध्यक्ष पुष्कर वलीसँग मिसन टुडेले गरेको कुराकानीको सम्पादित अंश ः
निर्वाचित भएको एक वर्ष बितेको छ, यस अवधिमा कति काम गर्नुभयो ?
स्थानीय वडा सरकारप्रति नागरिकको अपेक्षा हुन्छ नै । राजपुर गाउँपालिका वडा नम्बर ७ को वडा प्रमुखको कार्यभार सम्हालेदेखि जनचाहना अनुसार वडाबासीको काममा लागिरहेको छु । वडाबासीलाई स्थानीय वडा सरकारको अनुभूति गराउने कार्यमा लागेको छु । स्वास्थ्य उपचारका लागि सीमावर्ती क्षेत्रमा बर्थिङ सेन्टरको स्थापना गरिएको छ । नाकाका स्थानीयलाई उपचारका लागि भारत जानुपर्ने बाध्यता अन्त्य भएको छ । लालपुर्जा वितरणका लागि पहल भइरहेको छ । शिक्षामा सुधार, पूर्वाधारमा जोड, विपन्नलाई स्वास्थ्य बिमा, ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण, आधुनिक कृषिकार्यलाई जोड दिएका छौँ । महिलालाई आत्मनिर्भर बनाउन तालिम र स्थानीय उत्पादनलाई प्रोत्साहन हुने गरी योजना बनाएका छौँ । अहिलेसम्म सन्तोषजनक नै छ । काम गर्दै जाँदा जनगुनासो आउँदै आउँदैन भन्ने हुँदैन । स्थानीय वडा सरकारले सबै क्षेत्रमा काम गर्नुपर्ने भएकाले सामान्य गुनासो आउनु स्वाभाविक नै हो । म चाहिँ आफ्नो कामबाट सन्तुष्ट नै छु ।
वडाको मुख्य सम्भावना के–के देख्नुभएको छ ?
मेरो वडा केही सीमित चुनौती र असीमित सम्भावना बोकेको वडा हो । यो वडा पहाड, चुरे र समथल मैदान र सीमानाकाको भौगोलिक अवस्थितिमा छ । कृषि तथा पशुपालन व्यवसायको हबका रूपमा पनि यो वडालाई चिनिन्छ । विशेषगरी यो बाख्रापालनको पकेट क्षेत्रका रूपमा रहेको छ । यी कुरालाई प्रवद्र्धन र विकास गर्न निरन्तर लागेका छौँ । सबै काम एकै वर्षमा गर्न सकिहालिन्छ भन्ने छैन । मान्छेले विकास भनेको सडकको विकास मात्रै विकास हो, भन्ने बुझाइ राखेको देखिन्छ । मेरो बुझाइमा सडक बन्नु पनि विकास हो, तर सडक बन्नु मात्रै विकास हैन । मानिस ठूला ठूला भवनहरू निर्माण भयो भने विकास मान्छन् । सडक चौडा भयो भने विकास मान्छन् । हाम्रा सामुदायिक विद्यालयका भवनहरू ठूला–ठूला छन् । बोर्डिङ स्कुलमा टिनका टहरा हुन्छन् तर पढाइको गुणस्तर बोर्डिङमा किन हुन्छ ? त्यसैले भौतिक संरचना निर्माण मात्र विकास होइन । मानवीय विकास सबैभन्दा ठूलो विकास हो जस्तो लाग्छ । चेतनामा विकास भयो भने वडा समृद्ध बन्छ भन्ने मेरो बुझाइ हो । मानिसको चेतना विकासका लागि रोजगारमुखी तालिम, स्वास्थ्य संस्था मजबुत र सबै नागरिक शिक्षित हुनु नै विकास हो भन्ने लाग्छ ।
वडाको विकासमा प्रदेश र संघको समन्वय र सहकार्य कस्तो छ ?
वडाको साधन र स्रोतले मात्र कहाँ वडाबासीका आवश्यकता पूरा गर्न सकिन्छ । प्रदेश र संघ दुवै सरकारसँग सहकार्य गरेर काम गर्ने गरेका छौँ । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश र संघीय सरकारको समन्वयमा दर्जनभन्दा बढी योजनाको काम सम्पन्न भएको छ । यस आवमा पनि गतवर्षको जस्तै योजना समावेश भएका छन् ।
तपाईंको कार्यशैलीप्रति वडाबासी कत्तिको सन्तुष्ट छन् ?
जहाँसम्म मलाई लाग्छ मेरो कामप्रति वडाबासी सन्तुष्ट नै हुनुपर्छ । वडाबासीकै लागि काम गरिरहेको छु । यद्यपि यो त वडाबासीले मूल्यांकन गर्ने कुरा हो । वडाबासीप्रति उत्तरदायी भएर काम गर्ने गरेको छु । मेरो स्वभाव र कार्यशैली सरल र सहज भएकाले सबै वडाबासीको पहुँचमा छु ।
वडाको स्वास्थ्य सेवामा तपाईं आएपछि के परिवर्तन भयो ?
स्वास्थ्य बिमालाई प्राथमिकतामा राखी असहाय तथा विपन्न परिवारको स्वास्थ्यमा पहुँच पु¥याएका छौँ । सीमावर्ती क्षेत्रको भैसाहीँ नाकामा बर्थिङ सेन्टर स्थापना गरी दक्ष जनशक्ति थपेका छौँ । यसले नाकाबासीलाई सेवा पु¥याइरहेको छ । अझ हामीले यसलाई सुविधा सम्पन्न बनाउने योजनामा छौँ । प्रसूतिगृहका लागि जनशक्ति र उपकरणको थप काम हुँदै छ । साथै वडाका स्वास्थ्यचौकीहरूको स्तरोन्नति गर्न लागिपरेका छौँ ।
सामुदायिक विद्यालय शिक्षा सुधार गर्ने के कस्ता योजना छन् ?
शिक्षाको सुधारका लागि सामुदायिक विद्यालयको अनुगमनलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । प्राविधिक शिक्षालाई जोड दिएका छौँ । शिक्षा सुधार गर्ने कार्यमा कसैसँग पनि सम्झौता गर्दैनौँ । शिक्षाको विकास भएमात्र वडाको विकास हुने हुँदा वडाबासीको थप सल्लाह सुझाव लिएर शिक्षा सुधारमा स्थानीय वडा सरकार अगाडि बढ्छ ।
वडाको प्रमुख भएर काम गर्दै जाँदा के कस्ता चुनौती आइपर्ने रहेछन् ?
चुनौती र असहजता नहुने कुरै छैन । अर्को कुरा पहाडी भूभाग र सीमावर्ती क्षेत्रका वडा सरकारलाई झनै चुनौती छन् । पातलो बस्ती छ । एउटा मात्र घरका लागि खानेपानी, विद्यालय, स्वास्थ्य सेवा पु¥याउनुपर्ने हुन्छ । स्रोत साधन निश्चित छ । सरकारले अनिवार्य शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानी भनेको छ । सीमा नाकाका गाउँमा सहज रूपमा पु¥याउन गाह्रो छ । त्यस्तो अप्ठ्यारो कसैले बुझ्दैन । हामीले किन पाएनौँ भनेर आवाज मात्र उठ्छ । आवाज उठाउनु पनि स्वाभाविक नै हो तर हाम्रो वडाको बजेटको सीमाले त्यस्तो काम गर्न चुनौती छ तर पनि चुनौतीलाई सिकाइका रूपमा लिएर काम गरिरहेको छु ।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि ?
सबै वडाबासीहरूलाई विकासको क्रममा हातेमालो गरेर अगाडि बढ्न अनुरोध गर्दछु । विकासमा हामी सबै एकजुट हुनु आवश्यक छ । साथै यहाँहरूको साथ र सहयोग अन्य दिनहरूमा पनि रहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।
प्रतिक्रिया दिनुहोस्