पश्चिम तराईका जिल्लाहरूमा शीतलहर सुरु भएको छ । शीतलहरसँगै एक्कासि चिसो पनि बढेको छ । बिहीबारसम्म पारिला घाम लारिहेकोमा शुक्रबारदेखि बाँके, बर्दियालगायतका जिल्लामा एक्कासि शीतलहर सुरु भएर चिसो ह्वात्तै बढेको हो । चिसोका जनजीवन प्रभावित भएको छ । बजारहरूमा मानिसहरूको चहलपहल घटेको छ । ठाउँठाउँमा आगो बालेर ताप्ने क्रम बढेको छ ।
विगतका वर्षहरूमा मंसिरदेखि नै हुस्सु, कुहिरो र शीतलहर चल्ने गरेको भए पनि यस वर्ष केही ढिलो गरी चिसो सुरु भएको छ । तर एक्कासि बढेको चिसोले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने सम्भावना बढी देखिन्छ । त्यसमाथि तराईको चिसो हिमाल वा पहाडको जस्तो सतही नभएर गहिरो असर गर्ने खालको हुने गरेको छ । मौसमको यही अवस्थाका कारण नै तराईमा विशेष प्रकारको सावधानी आवश्यक हुन्छ । तराईमा गर्मीयाममा ४० डिग्री सेल्सियससम्मको तापक्रम र तातो लु चल्छ भने जाडोमा महिनौँसम्म चल्ने शीतलहरका कारण जनजीवन प्रभावित हुने गरेको छ । त्यसैले त चिसो र तातोबाट जोगिन तराईमा हरसम्भव उपाय अवलम्बन गर्ने गरिएको छ ।
चिसोले विस्तारै तराईबासीलाई चिस्याउँदै लगिरहेको छ । यसै अवस्थालाई मध्येनजर गर्दै तराईका विभिन्न जिल्लाले सचेतना अभियान पनि सञ्चालन गर्ने गरेका छन् । चिसोले सबैलाई असर पार्छ नै । त्यसमाथि यसले सबभन्दा बढी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी महिला प्रभावित हुनेगर्छन् । विपन्नसँग चिसोबाट बच्नका लागि आवश्यक लत्ताकपडा र स्रोत साधन हुँदैन भने वृद्धवृद्धाहरूमा शारीरिक क्षमता क्षीण भइसकेको हुन्छ । त्यसैगरी गर्भवती र सुत्केरी महिलाहरू पनि शारीरिक अवस्थाकै कारण चाँडो चिसोबाट प्रभावित हुनसक्छन् ।
त्यसैले त्यस्ता व्यक्ति वा समूहहरूलाई चिसोमा विशेषरूपमा हेरचाहको आवश्यकता हुन्छ । त्यस्तै, बालबालिका पनि चिसोबाट बढी प्रभावित हुने वर्गमा पर्छन् । चिसोमा विद्यालय आउजाउ गर्दा उनीहरू बिरामी पर्नसक्ने खतरा बढी हुुन्छ । चिसो मौसमले रुघाखोकी, निमुनिया, दमलगायतका रोग निम्त्याउने स्वास्थ्यकर्मीहरू बताउँछन् । चिसोको मौसममा अस्पतालहरूमा यस्ता रोगीको संख्या बढ्ने गरेको छ । चिसोबाट बच्नका लागि न्याना कपडा तथा आगो बाल्ने प्रबन्ध मिलाउन सकिन्छ । तातो र झोलिलो खाने कुरामा जोड दिनुपर्ने चिकित्सकहरूको भनाइ रहनेगर्छ । चिसोमा लापरबाही गर्ने वा बेवास्ता गर्दा यसले गम्भीर अवस्था निम्त्याउन सक्छ ।
शीतलहरसँगै बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने भएकाले यातायातका साधन आवागमनमा पनि समस्या देखिने गरेको छ । हुस्सुका कारण दुर्घटनाहरूसमेत बढिरहेका पाइन्छन् । त्यसैले सवारी चालकहरू पनि मौसमको प्रतिकूलताबारे जानकार र सचेत हुनुपर्ने आवश्यकता छ । यो काममा सबै व्यक्ति तथा समुदाय र सरकारको उत्तिकै भूमिका हुन्छ । त्यसमाथि स्थानीय सरकारको जिम्मेवारी र भूमिका यसमा अझ अपेक्षित हुन्छ । जनताको नजिकको सरकार भनेको स्थानीय सरकार नै हो । जनताले प्रत्यक्ष देख्ने, भेट्ने, सुन्ने र अनुभव गर्ने पनि यही सरकारलाई नै हो । जनताका दैनिकीसँग यो सरकारको सरोकार हुन्छ ।
जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत कुराहरूमा यो सरकार जोडिएको हुन्छ । जनताका स–साना आवश्यकताहरूलाई पनि सम्बोधन गर्नु स्थानीय सरकारको दायित्व हो । त्यसैले हरेक स्थानीय सरकारहरूले चिसो मौसमबाट आफ्ना नागरिकलाई बचाउनका लागि विशेष पहल गर्नुपर्र्छ । गरिब तथा विपन्न, असहाय वृद्धवृद्धालाई न्याना लुगा उपलब्ध गराएर वा चोक चौराहका ठाउँठाउँमा आगो बाल्ने व्यवस्था गरिदिएर उनीहरूलाई राहत प्रदान गर्न सकिन्छ । अबको करिब एक महिना तराईका जिल्लामा अत्यधिक चिसो हुने गर्छ । यो चिसोबाट नागरिकलाई जोगाउनु जनताको नजिकको सरकारको कर्तव्य हो ।
प्रतिक्रिया दिनुहोस्