गणेश रावत। कोहलपुर।
शिरमा मैलो ढाँका टोपी । चाउरी परेको अनुहार । सेतै फुलेका रौँ र दाह्री । एकसरो लुगा दौरा सुरुवाल । एक हातमा कुरुस र अर्काे हातमा फुटबल चुज जुत्ता सिलाउँदै थिए, फागुने सार्की । जुम्लाको गोठिचौर–४ का सार्की मंसिर महिना लागेलगत्तै कोहलपुर झरेका हुन् ।
उनी आफू मात्रै होइन्, आफू सँगसँगै जुत्ता सिलाउने सामग्री पनि साथमै लिएर कोहलपुर झारेका छन् । ‘यो सामान नभए त मुखमा माड कसरी हाल्नू !’ सार्की भन्छन्, ‘मेरो आम्दानीको स्रोत भनेकै यही हो ।’
उनले चिसोका कारण हिउँदमा जुम्लामा अत्यधिक चिसोले जुत्ता सिलाउन र बस्न गाह्रो हुने भएकाले कोहलपुर झरेको बताए । जुत्ता नसिलाए साँझ–बिहान छाक टार्न हम्मेहम्मे पर्ने उनको भोगाइ छ । वर्षायाममा जुम्ला र हिउँद महिना कोहलपुर आउने गरेको उनको भनाइ छ । सार्की यो वर्ष मात्रै होइन्, विगत ३ वर्षदेखि यसरी नै हिउँदमा कोहलपुर झरेर जुत्ता सिलाउने गरेको मिसन टुडेलाई जानकारी दिए । दैनिक जुत्ता सिलाएर ५ सय कमाइ हुने गरेको सार्कीले बताए ।
उनी अहिले कोहलपुर नगरपालिका पछाडि आफन्तको घरमा बस्दै आएका छन् । बिहानै ५ बजे उठेर जुत्ता सिलाउन निस्कन्छन् । दिनभर जुत्ता सिलाएर साँझ ६ बजे घर जाने गर्छन् । उनी प्रायः कोहलपुर सडक छेउछाउमा जुत्ता सिलाउँदै गरेको अवस्थामा भेटिन्छन् । उनको कुनै निश्चित एक ठाउँमा बस्दैनन् । ठाउँ फेरि फेरि जुत्ता सिलाउने काम गर्दै आएको उनले बताए । शरीरीक रूपमा अपाङ्गता भएका सार्की उमेरले ६५ वर्ष पुगे । तर, उनले आफ्नो कर्म गर्न छाडेका छैनन् । आफ्नै कर्ममा रमाइरहेका छन् ।
हातमा भएको सीपलाई उपयोग गरेर उनी बाँचिरहेका मात्र छैनन् आफ्नो स्वाभिमानलाई पनि बचाइरहेका छन् । कसैसँग हात पसार्नुपरेको छैन । बिहान घरबाट केही नखाई निस्कने उनी दिउँसो एक हाफ चाउमिनको भरमा दिन काटाउने गरेको सुनाउँछन् । दिनमा खाना पु¥याउने मान्छे नहुँदा दिनभर कहिले भोकभोकै जुत्ता सिलाउने गरेको पनि उनले कताए । ‘आफन्तको घरमा बिहान उठ्दा नास्ता पकाउने मान्छे कोही हुँदैनन्,’ उनी भन्छन्, ‘केटाकेटी छन्, सबै स्कुल जान्छन् ।’
उनलाई पनि दिउँसो खाना खान जान समय मिल्दैन । ‘त्यसैले साँझ एकै पटक खान्छु,’ उनले भने, ‘दिउँसो हल्काफुल्का नास्ता खाएरै बस्ने गरेको छु ।’ उनको दाहिने खुट्टा कमजोर छ । सानैमा पोलिएकाले धेरै हिँडडुल गर्न सक्दैनन् । दिनमा खाना खान जाँदा पनि हिँड्न सकस भएकाले साँझ एकैपटक खाने गरेको सार्कीले सुनाए । ‘दिनमा अति नै भोक लागे नजिकै रहेको होटलमा चाउमिन, चिया, डुनोट खाएर दिन कटाउने गर्छु,’ उनले थपे, ‘दिनमा कमाएको ५ सय रूपैयाँले उपचार गर्नुकी खानु !’ त्यसैले जेनतेन जीवन धानिरहेको छु ।’
पहिला गाउँमा अरूका घर बनाएर पनि जीवन निर्वाह गर्दै आएका थिए, उनले । गाउँमा घर बनाउन मजदुरी काम गर्ने फागुनेको केही वर्षदेखि भने दैनिकी फेरिएको छ । आफ्नै जुत्ता चप्पल सिलाएर उनले यो कामको थालनी गरेका थिए । ‘म पहिला गाउँमा घर बनाउने काम गर्थें,’ उनले भने, ‘जब आफ्नै र परिवारको जुत्ता चप्पल सिलाउँदासिलाउँदै जुत्ता सिलाउने काम सिकेँ अनि सबै छाडेर यही काम गर्न थालेँ ।’
सानै उमेरमा खुट्टा पोलिएका कारण उनलाई मजदुरी गर्न गाह्रो हुने हुथ्र्याे । एक दिन घरमै कुरुस बनाएर आफ्नै जुत्ता टाल्न सुरु गरे । त्यसपछि घर परिवारको सिलाउन थाले । पछि गाउँमा सबैले थाहा पाएपछि गाउँलेहरूले पनि जुत्ता चप्पल सिलाइमाग्न घरमा आउने गरेको उनले स्मरण गरे । विस्तारै उनी गाउँमा नजिकै रहेको विद्यालय गेटमा जुत्ता सिलाउन बस्न थाले । विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी र शिक्षकको जुत्ता सिलाएर गुजार चलाए । एक जोर जुत्ताको सय रूपैयाँ दिन्थे । ‘दिनमा कहिले ४ सयसम्म कमाइ हुने गथ्र्याे ।
आफूले जुत्ता सिउने काम गरे पनि छोरालाई धेरै पढाउने र जागिर खुवाउने उनको सपना थियो । तर उनले सोचेजस्तो भएन । ‘मेरो एकजना मात्रैे छोरो छ, छोरालाई राम्रोसँग पढाउने र जागिर खुवाउने सपना थियो । तर, सोचेजस्तो भएन,’ उनले भने, ‘आर्थिक अवस्थाका कारण मैले पढाउन पनि सकिन, छोराले पढ्न पनि सकेन ।’ अहिले छोराले गाउँमा मिस्त्री काम गरेर जीविका चलाइरहेको उनले बताए ।
‘जे भए पनि म अहिले यसैमा खुसी छु । छोरो मिस्त्री काम गर्छ, म जुत्ता सिलाउने काम गर्छु,’ आर्थिक अवस्था कमजोर भएका सार्की ५ महिना हुँदै गर्दा उनको दाहिने खुट्टा आगोमा पोलियो । घरमा सुताएको बेला चुलोमा खुट्टा गएपछि पोलिएको उनले बताए । त्यतिबेला उपचारका लागि गाउँमा अस्पताल थिएन । जेनतेन गाउँमै प्राथमिक उपचार गरेर सन्चो भएको उनकी आमाले सार्की जान्ने भएपछि सुनाउने गरेको उनले बताए ।
जुम्लाको बिकट गाउँमा त्यतिबेला सिटामोल पनि पाउन मुस्किल रहेको उनले सम्झे । ‘पोलियो उपचारको त परको कुरा हो,’ उनले भने, ‘भर्खरै जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलेपछि उपचारमा केही सहज भएको छ ।’ हिँड्दा वा काम गर्दा पोलिएको खुट्टामा धेरै पीडा हुनेगरेको उनी सुनाउँछन् । गत वर्ष पुनः उनी आगलागीमा परेर पोलिए । उनले त्यो घटना यसरी सुनाए– ‘…वर्षायामको महिना थियो ।
गाईहरू चराउनका लागि लेखतिर लगेको थिएँ । मसँगै अरू गोठालाहरू पनि लेखमा गएका थिए । हामी सानो प्लास्टिकको खर्क (टहरो)मा बस्नेगथ्र्यौं । एक दिन बिहानपख जाडो भएपछि म ठूलो आगो बालेर पिठ्युँ तताउँदै थिएँ । तमाखु खाँदै आगो तापिरहँदा आगोले त कपडा समातिसकेछ । म पछाडि फर्केर हेर्दा त सुरुवालमा आगो दन्किसकेछ । कपडा खोल्दाखोल्दै पछाडि ढाड नराम्रोसँग पोलियो ।’
त्यसपछि उनी बेसी झरे । एक वर्ष घरमै बसे । उपचार गरेर भर्खरै आफू सन्चो भएको उनले बताए । जतिसुकै कठिनाइ आए पनि उनले जुत्ता सिलाउन भने छाडेनन् । ‘मेरो कर्म भनेकै जागिर जे–जे भने पनि यही हो,’ उनले भने, ‘बस्दा ढाड दुख्छ, बस्न गाह्रो हुन्छ । तर पनि बाँच्नलाई काम गरिरहेको छु ।’ जस्तोसुकै परे पनि उनले आफ्नो काम छोडेका छैनन् । उनी भन्छन्– ‘जे जस्तो भए पनि स्वास्थ्यले साथ दिए र हातमा सीप भए भोकै मर्नु पर्दैन ।’
प्रतिक्रिया दिनुहोस्