हराएका महिला थोरै भेटिए, अरू कहाँ छन् ?



२२ वर्षमा ८ हजार २ सय ३४ महिला हराएको भन्दै माइती नेपाल नेपालगन्जमा उजुरी परे । त्यसरी उजुरी गरेकामध्ये १ हजार ८ सय १६ मात्रै फेला परेका छन् । अरू कहाँ छन् ? कसैलाई थाहा छैन ।

नेपालगन्ज।
२२ वर्षमा ८ हजार २ सय ३४ महिला हराएको भन्दै माइती नेपाल नेपालगन्जमा उजुरी परे । त्यसरी उजुरी गरेकामध्ये १ हजार ८ सय १६ मात्रै फेला परेका छन् । अरू कहाँ छन् ? कसैलाई थाहा छैन ।  ‘हाम्रो संयन्त्र र पहुँचले भ्याएसम्म धेरैजसो भारतबाट र केही खाडी मुलुकबाट पनि उद्धार गर्न सकेका छौं । यीबाहेक अन्य महिलाहरू आफैँ घरको सम्पर्कमा आएका तर हामीलाई जानकारी नदिएका पनि हुन सक्छन्,’ केशव कोइरालाले भने । सन् २००२ मा हराएका महिला खोजबिन गरिदिन भन्दै आठ वटा निवेदन परेका थिए ।

त्यसमध्ये दुई जना फेला परेका थिए । त्यसपछि हराएका महिला खोजबिनका लागि हरेक वर्ष जस्तो उजुरी आइरहन्छन् । सन् २००३ मा मात्रै यस्ता निवेदन ६ सय ६२ वटा परेको माइती नेपालले जानकारी दिएको छ । त्यसमध्ये २ सय ७८ जना फेला परेका छन् । सामाजिक सञ्जाल जस्तो प्रविधिको प्रयोग गरी महिलाहरूलाई ललाइफकाई भारतका विभिन्न सहरमा लगी यौनशोषण गराउने गरिएकोमा पछिल्लो समय गर्भ भाडामा लगाउने जस्तो कुकृत्य बढ्न लागेको छ ।

माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले मानव अंग खरिद–बिक्री गर्ने चलन पश्चिम नेपालमा नभए पनि गर्भाशय भाडामा दिने क्रम बढेको बताए । उनले गर्भाशय भाडामा दिने महिलाहरू खुल्न नचाहेका कारण यकिन तथ्यांक आउन नसकेको जिकिर गरे । ‘गर्भाशय भाडामा दिएका मध्ये दुई–तीन जना सम्पर्कमा छन् । मानव तस्करले अपनाउने नयाँ–नयाँ तरिकाका कारण हराएका महिला तथा बालबालिकाको अवस्था पहिचान तथा खोजतलास र उद्धारका लागि झनै जटिल अवस्था सिर्जना भएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले बताए ।

सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाट्सएप, भाइबर, मेसेन्जरलगायतको दुरूपयोग गरी मानव दलालले आफ्नो सम्पर्क संयन्त्रलाई सहज बनाउँदै गएको संयोजक कोइराला बताउँछन् । उनका अनुसार आधुनिकताको नाममा विलासिताप्रतिको बढ्दो आकर्षणले पनि महिला तथा बालबालिका हराउने, बेचिने र यौन शोषणमा पर्ने गरेका छन् ।

घरेलु हिंसा, गरिबी र महिलालाई सीमा कटाउन परिवारकै सदस्यको संलग्नता पनि मानव बेचबिखनका चुनौती रहेको देखिएको उनी बताउँछन् । आफन्तको प्रलोभन र कतिपय भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय कोठीमा पुग्ने गरेका छन् । खुला सीमा नाकाले बेचबेखिनको उच्च जोखिम बढेको छ । भारतीय बाटो भएर कुवेत, साउदी, दुबईलगायत खाडी मुलुक जान यो नाकाको प्रयोग बढ्दै गएको छ । मानव तस्करले महिला र बालबालिका बेचबिखनमा नयाँ–नयाँ उपाय प्रयोग गर्ने गरेकाले नियन्त्रणमा चुनौती थपिएको देखिएको छ ।

माइती नेपालले हरेक वर्ष ३१ डिसेम्बरका दिन पत्रकार सम्मेलन गरी वर्षभरि भए गरेका गतिविधि तथा तथ्यांक सार्वजनिक गर्दै आएको छ । विशेषगरी सीमावर्ती क्षेत्रमा रही जोखिमपूर्ण यात्रामा जाने महिला, बालबालिकालाई पहिचान गरी उनीहरूलाई परामर्श गरी फिर्ता पठाउने गर्दछ । यसरी फिर्ता पठाइएका महिला बालबालिकालाई पारिवारिक पुनर्मिलन गराइने गरिन्छ ।

प्रकाशित मिति : २०८० पुस १६ गते सोमबार