सम्पादकीयः कोहलपुर मयेर कप केही अनुत्तरित प्रश्न



कोहलपुर नगरपालिकाको आयोजनामा चारदिने सातौं अन्तर मावि मेयर कप तथा १६औं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुक्रबार समापन भएको छ । कोहलपुर खेलकुद विकास समितिको व्यवस्थापन र सञ्चालनमा भएको उक्त प्रतियोगिताको नगर प्रमुख पूर्णप्रसाद आचार्यले समापन गरेका हुन् ।

पुस १० गते नगर प्रमुख आचार्यले नै उद्घाटन गरेको सो प्रतियोगितामा विभिन्न विधाका ५० खेलका लागि प्रतिस्पर्धा भएको थियो । जसमा एक हजार बढी विद्यार्थी भाइबहिनीहरूले भाग लिएका थिए । खेलको परिणाम पनि आइसकेको छ । बालविद्या बोर्डिङ स्कुलले ८ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै नगरस्तरीय प्रतिस्पर्धामा अरू सबैलाई उछिनेको छ ।

त्यस्तै, त्रिभुवन माविले बालविद्या माध्यमिक विद्यालय भन्दा दुईवटा रजत पदक कम ल्याएर दोस्रोमा खुम्चिनुपरेको छ । त्यस्तै, गोरखा युनााइटेड तेस्रो स्थानमा आएको छ । दुई संस्थागत विद्यालयहरू प्रतिस्पर्धामा अगाडि आउँदा एउटा सामुदायिक विद्यालय मात्र अगाडि देखिएको छ । अत्यधिक विद्यार्थी चाप रहेका सामुदायिक विद्यालयहरू किन शिक्षाका साथसाथै खेलकुद र अन्य सिर्जनशील अतिरिक्त क्रियाकलापमा पनि पछि परिरहेका छन् ? यसको बहस गर्नुपर्ने बेला भएको छ ।

र अर्को, महत्वपूर्ण कुरा प्रतियोगिता उद्घाटनका क्रममा मेयर आचार्यले खेललाई सभ्य र व्यवस्थित ढंगले सञ्चालन गरिने घोषणा गरेका थिए । उनले सबै सरोकारवाला पक्षलाई सोही अनुसारको निर्देशन पनि दिएका थिए । तर उनले दिएको निर्देशनलाई पूरै लत्याइएको छ । कोहलपुर नगरपालिकाले सञ्चालन गरेको यो प्रतियोगिता यति अव्यवस्थित रूपमा सम्पन्न भएको छ कि निर्णय प्रक्रियादेखि नै अव्यवस्थाको सुरुवात भएको थियो ।

नगरपालिका बैठकले गरेको निर्णयलाई नै कार्यान्वयन गरिएन । नगर बैठकले एउटा निर्णय ग¥यो तर खेलमा भने त्यसलाई लागू गरिएन । खेल सञ्चालन अवधिमा नगरभरिका माध्यमिक तथा आधारभूत दुवै तहका सबै विद्यालय बन्द गरिने निर्णय गरिएको थियो । तर अन्तिममा अर्को सूचना जारी गरेर आधारभूत तहलाई खेल उद्घाटनका दिनबाहेक अन्य समयमा बिदा नदिने जानकारी दिइयो । यसो किन गरियो ? कसको दबाब वा प्रभावमा यसो गर्नुपरेको थियो ? थाहा छैन । खेल सुरु भएपछि पनि व्यवस्थापनका लथालिङ्गे पारा देखिइरहे ।

नगरपालिकाले खेल व्यवस्थापनका लागि मूल समिति र थुप्रै उपसमितिसमेत बनाएको थियो । के ती पत्रिकामा नाम छाप्न र व्यक्तिगत रूपमा बायोडाटा बढाउनका लागि मात्र थिए ? पत्रकारले खेलका सूचना माग्दासमेत पाउन गाह्रो थियो । प्रतियोगिताको सचिवालय संयोजक बनाइएका टीकाराम शर्मा बेलुकी फोन गर्दा ‘म बिरामी छु, म बोल्न सक्दिनँ, म घर आइसकेँ, उतै सचिवालयतिर बुझ्नोेस्’ भन्दै झर्किने गर्थे । यस्ता गैरजिम्मेवार र ‘बिरामी’ व्यक्तिलाई कसरी सचिवालय संयोजकको जिम्मेवारी दिइयो ?

अझ लाजमर्दो कुरा त कतिपय विद्यालयले फर्जी विद्यार्थी भर्ती गरेर प्रतियोगितामा सहभागी गराएको समेत खुल्न आयो । तर यसबारे नगरपालिकाले अझै औपचारिक रूपमा मुख खोलेको छैन । न ती विद्यालयको नाम सार्वजनिक गरिएको छ न त त्यस्तो कार्यमा संलग्न विद्यार्थी, शिक्षक वा प्रशिक्षकहरूलाई नै कुनै कारबाही भएको छ । विद्यालयलाई त्यो पनि ‘नगद’मा जरिवाना गरिएको गाइगुइँ समाचार बाहिर आएको छ ।

यसको मतलब पैसा तिराएपछि सजाय भयो, पैसा हुनेले जे गर्दा पनि भयो ? समापन समारोहमा मेयर आचार्यले विद्यालयले फर्जी खेलाडी प्रतिस्पर्धीका रूपमा खेलाएकोप्रति असन्तुष्टि जनाउँदै त्यस्ता विद्यालयमाथि छानबिन गरेर दोषी देखिए कारबाही गरिने बताएका छन् । उनीहरूमाथि छानबिन भइरहेको पनि उनको भनाइ छ । यो छानबिनका नाममा उनीहरूलाई उन्मुक्ति दिने प्रपञ्च त होइन ! शंका यहाँ पनि छ ।

यी यस्ता गतिविधिले नगरपालिकाको इज्जत पक्कै बढाएको छैन । यसले नगरको शाख गिराएको छ । यो खेल भनेको राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुदमा नगरपालिकाको सहभागिताका लागि पहिलो पाइलो हो । पहिलो पाइलोमै लड्खडाएपछि नगरको खेलकुदको भविष्य के हुन्छ ? यी यावत् क्रियाकलापले गर्दा अहिले सार्वजनिक गरिएको परिणामप्रति पनि आम कोहलपुर नगरबासीले आशंका व्यक्त गर्न थालेका छन् । त्यसैले आम कोहलपुरबासीका लागि यी अनुत्तरित प्रश्नको जबाफ कोहलपुर नगरपालिकाले प्रस्ट शब्दमा दिनै पर्छ ।

प्रकाशित मिति : २०८० पुस १५ गते आइतबार