शिवु खनाल । देउखुरी ।
भारतसँग सीमा जोडिएको दाङको राजपुर गाउँपालिका–६ खांग्रा नाकामा पहिलो पटक मन्त्रीस्तरबाट स्थलगत भ्रमण भएको छ । जनतासँग विशेष माओवादी अभियान कार्यक्रमअन्तर्गत खांग्रा नाकामा आयोजित जनभेटघाटमा सहभागी हुन बिहीबार सीमावर्ती क्षेत्रमा आएका लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्केले आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत्, सञ्चारलगायतको सञ्जालको पहुँच नपुगेको दुर्गम सीमावर्ती क्षेत्रका बस्ती स्थलगत अवलोकन भ्रमण गरेका छन् ।
विभिन्न समुदायको बाहुल्यता रहेको दुर्गम सीमावर्ती क्षेत्रको अवलोकन गर्दै अर्थमन्त्री मास्केले दुर्गमको मापदण्डलाई बदलेर सडकलगायतका पूर्वाधार नपुगेका ठाउँलाई विशेष प्राथमिकता दिन लागीपर्ने प्रतिबद्धता जनाए । ‘दाङलाई सुगम जिल्लाका रूपमा लिइन्थ्यो । तर राजपुरको खांग्रा, अडबरुवा, बैरवा, गौरिया, गम्भीरा, सिउरे, सुनपत्थरी, सुकैया, भैसाहीँलगायतका सीमावर्ती क्षेत्रमा पुग्दा म स्तब्ध भएँ,’ मन्त्री मास्केले भने, ‘नागरिकहरू यस्तो विकट ठाउँमा पनि बसेका रहेछन् । सदरमुकामबाट गाँउपुग्नै ३÷४ दिन लाग्ने, गाउँबाट खेतबारीमा पुग्न पनि उस्तै समय लाग्ने ।’
मन्त्री मास्केले सडक नपुगेका स्थानलाई अति दुर्गम स्थानको रूपमा परिभाषित गरी नागरिकले पाउने सुविधा र कर्मचारीलाई दिने भत्तामा शतप्रतिशत वृद्धि गर्न प्रतिबद्धता जनाए । उनले जिल्ला सदरमुकाम र बिकट बस्तीमा एउटै सुविधा न्यायोचित नभएको उल्लेख गरे । मन्त्री मास्केले पूर्व–पश्चिम जितबहादुर सिँजाली सडकमार्गको समेत निरीक्षण गरेका थिए । सीमावर्ती क्षेत्रमा लुम्बिनी प्रदेश अर्थमन्त्री पुग्दा उनलाई स्थानीय नाकाबासीले भव्य स्वागत गरेका थिए ।
गाउँमा पहिलोपटक मन्त्रीको आगमन भएपछि स्थानीयबासीले उत्साहित भएर आफ्ना समस्या र गुनासा अर्थमन्त्री सामु राख्ने अवसर पाएको मन्त्रीको भ्रमण गराउन समन्वय गरेका अगुवा चक्रबहादुर खड्का (शिखर)ले बताए । अर्थमन्त्रीलाई राजपुर गाउँपालिका–६ का वडाध्यक्ष श्यामबहादुर रोका र ७ नं.वडाका वडाध्यक्ष पुष्कर वलीले सीमावर्ती क्षेत्रका विभिन्न गाउँको समस्याबारे ध्यानकर्षण गराएका थिए ।
स्थानीयबासीको गुनासा सुनेपछि अर्थमन्त्री मास्केले सीमावर्ती क्षेत्रको विकासको पूर्वाधार र नागरिकको सुविधाका लागि सरकारी तवरबाटै पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।बिनाबर्दीका प्रहरी सीमावर्तीमा अवस्थित स्थानीयबासीलाई उनले सीमा रक्षकको रूपमा समेत प्रशंसा गरे । सीमावर्ती क्षेत्रका नाकाबासीले गाउँलाई दुर्गम क्षेत्र घोषणा गर्न र वडा छुट्याउन निरन्तर रूपमा काम गर्दै आएका छन् । अर्थमन्त्री मास्केले सीमावर्ती क्षेत्रमा बाटोसँगै शुद्ध खानेपानी, विद्युत् र सञ्चारको पहुँचलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताए ।
उनले भारतसँग सीमा जोडिएका विभिन्न विकट गाउँ, दशगजामा रहेको सीमा स्तम्भ, सरकारी संरचना, अवलोकन तथा निरीक्षण गरेका थिए ।
उनले जनतासँग छलफल तथा विचार विमर्श गर्दै, गाउँगाउँमा सिंहदरबारको मतलब गाउँगाउँमा विकास हुनु रहेको बताए । मन्त्री मास्केले लुम्बिनी प्रदेश सरकारको मन्त्रालय देउखुरीमा हुनुमा गौरव गर्नुपर्ने बताउँदै सीमावर्ती क्षेत्रको विकासमा प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे । उनले सीमावर्ती क्षेत्रमा सडक पु¥याउने पहिलो लक्ष्यअनुसार काम गर्ने प्रतिबद्धतासमेत जनाए ।
‘सीमावर्ती क्षेत्रमा विकासको मूल फुटाउन आवश्यक छ,’ मन्त्री मास्कीले भने, ‘सीमावर्ती क्षेत्रसम्म पुग्ने उत्तर–दक्षिणको बाटो निर्माण पहिलो चरणमा काम गरी कपिलवस्तुको पश्चिम भाग र दाङको ८३ किलोमिटर सिमाना र बाँके जिल्लाको पूर्वी भाग सीमावर्ती क्षेत्रमा सडक सञ्जालले जोड्नेछौँ ।’ यसका लागि प्रदेश सरकारले तत्कालै दिगो योजना बनाएर अगाडि बढ्ने उनले बताए ।
सीमावर्ती क्षेत्रमा बाह्रै महिना यातायात सुचारु हुने हिसाबले काम गर्न चाहेको पनि उनले जनाए । सो अवसरमा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय नाकाबासीहरूले मन्त्री मास्केलाई ज्ञापनपत्रसमेत बुझाए थिए । ज्ञापनपत्रमा मुख्य गरी खानेपानीको समस्या, विद्युत, सञ्चार, बाटोलाई विशेष प्राथमिकतामा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्