गीतकार कालीप्रसाद रिजालका शब्दमा गायक रामकृष्ण ढकालले गाएको एउटा गीत छ– ‘बिहान उठ्नेबित्तिकै हिमाल हेर्न पाइयोस्, यी हातले सधैँ–सधैँ नेपाल लेख्न पाइयोस्….।’ यहाँ उद्धृत गीतका पछिल्ला पंक्तिबाट प्रभावित भएर यो शीर्षक राखिएको हो । आज हामीकहाँ यति नकारात्मकता विकास भएको छ कि हामी जता गए पनि नकारात्मक कुरा मात्र सुन्न बाध्य छौँ । सडकदेखि सदनसम्म, चिया पसलदेखि सपिङ मलसम्म यस्तै–यस्तै नकारात्मक भावका विचारहरू प्रकट हुने गरेका हामी पाउँछौँ ।
सकारात्मक रूपमा सोच्ने र सकारात्मक काम गर्ने क्रम हराउँदै गएको छ । सञ्चारमाध्यमहरूमा पनि प्रायः यस्तै कुराले प्रश्रय पाइरहेका छन् । हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, ठगी अनियमितता आदिबारे प्रशस्त समाचार आउँछन् । जब समाजमा यसरी नकारात्मकता वृद्धि भएर गएको छ भने सञ्चार माध्यममा पनि त्यसको प्रभाव त पर्ने नै भयो । कहिलेकाहीँ सञ्चारमाध्यमहरूले सधैँ नकारात्मक मात्रै देख्ने र लेख्ने गरेको गुनासो पनि सुन्न पाइन्छ । आखिर समाजमा जताततै नकारात्मकता वृद्धि भएर गएका बेला कसरी सकारात्मक देख्ने होला र लेख्ने होला !
फोहोरको डंगुरमाथि उभिएर कसरी सुगन्धको कविता वा समाचार लेख्न सकिएला र ! यसै पनि साहित्य र सञ्चार भनेका समाजको ऐना भनिन्छ । ऐनामा त जस्तो समाज छ त्यस्तै देखिने नै भयो । नागरिक र समाजलाई सकारात्मक बनाउन त मुलुकका जिम्मेवार निकायले सकारात्मक बन्ने मार्ग प्रशस्त पो गर्नुप¥यो । उनीहरूले जनताप्रति आशा जगाउनुप¥यो, भरोसा दिलाउनुप¥यो । उनीहरूका आवश्यकता र पीरमर्का बुझिदिनुप¥यो ।
समाजमा राम्रो काम गर्नेहरूको पहिचान गर्नुप¥यो र शोषण, दमन, अन्याय, अत्याचार र गैरकानुनी काम गर्नेहरूलाई दण्डित गर्नुप¥यो । मुलुकमा दण्डहीनता बढिरहेका बेला नेपालगन्ज उपमहानगरपालिकाले भने एउटा राम्रो कामको सुरुवात गरेको छ । नगर सफा राख्ने अभियान सञ्चालन गरिरहेको उपमहानगरले यसमा अवरोध गर्ने र अटेरी गर्नेलाई कारबाहीको दायरामा ल्याएको छ ।
एउटा पसलले सडकमा जथाभावी फोहोर फालेको भेटिएपछि १० हजार रुपैयाँ जरिवाना गरिएको छ । अनेकौँ चेतावनीका बाबजुद सडकमा फोहोर फालेर राज्य र सरकारलाई नै चुनौती दिन खोज्नेविरुद्ध उपमहानगरपालिकाले गरेको यो कारबाही स्वागतयोग्य छ ।यसको निरन्तरता आवश्यक छ । कारबाहीपछि सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर गर्नेहरू हच्किनेछन् । जथाभावी फोहोर फाल्नेलाई मात्र होइन, अन्य किसिमका अवैधानिक काम गर्ने कसैलाई पनि अब छाड्नु हुन्न ।
सुरुमा सचेत गराउने, चेतावनी दिने र त्यसपछि पनि सुधार आएन भने नागरिकलाई जिम्मेवार बनाउन कारबाहीको डन्डा चलाउनै पर्छ । जनतामाथि कारबाहीको डन्डा चलाउँदा स्वयम् पनि आफ्नो कर्तव्य र जिम्मेवारी भुल्नु हुँदैन । जिम्मेवार निकाय वा व्यक्ति नै राम्रो कामका लागि उदाहरणीय बन्ने हो भने त्यसको प्रभाव तलसम्म स्वतः पर्दै जान्छ । उपमहानगरले फोहोरमैला व्यवस्थापनका सन्दर्भमा मात्र होइन अन्य काममा पनि दण्डहीनताको अन्त्य गर्ने, सुशासन कायम गर्न र साँचो अर्थमा समाजको चौतर्फी विकास गर्न तदारुकता देखाओस् ।
नेपालगन्ज उपमहानगरले मात्र होइन, सम्पूर्ण स्थानीय, प्रदेश र संघीय सरकारहरूले यस्ता कामलाई तदारुकताका साथ अगाडि बढाऊन् । जसबाट आमजनतामा रहेको निराशा, आक्रोश र विद्रोहलाई सकारात्मकतामा परिणत गर्न सकियोस् । सञ्चारकर्मीले पनि उनीहरूका कामलाई सकारात्मक भएर लेख्न बाध्य हुनुपरोस् । उनीहरूलाई धन्यवाद, बधाई र शुभकामना भन्न पाइयोस् । यी हातले सधैँ–सधैँ यस्तै लेख्न पाइयोस् ।
प्रतिक्रिया दिनुहोस्