कोहलपुर।
कोहलपुरमा विभिन्न सरोकारवालाहरूसँग वैदेशिक रोजगारीका विविध सवालमा छलफल तथा अन्तरक्रिया गरिएको छ । बुधबार एक कार्यक्रमका बीच वैदेशिक रोजगारीबाट फर्केकाहरू र सरोकारवाला निकायसँग वैदेशिक रोजगार बोर्ड सचिवालयले सो अन्तरक्र्रिया गरेको हो । सो अन्तरक्रियामा वैदेशिक रोजगारीमा जाँदा के गर्ने ? कसरी जाँदा सुरक्षित हुन्छ ? कुन–कुन प्रक्रिया पूरा गर्नुपर्छ ? लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका उपमेयर संगीता सुवेदीले वैदेशिक रोजगार बोर्डबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जाँदा ठगिने र दुःख पाउने गरेको बताइन् । ‘सकेसम्म नेपालमै केही गरौँ जानै प¥यो भने श्रम स्वीकृति लिएर तथा प्रक्रिया पु¥याएर वैधानिक तरिकाबाट जाउँ,’ उनले भनिन् ।अहिले पनि कति युवाहरू श्रम स्वीकृति नलिई अवैधानिक ढंगबाट जाँदा विदेशमा अलपत्र पर्ने, ठगिने र मृत्युसमेत व्यहोन बाध्य हुने गरेको उनले बताइन् ।
अहिले प्रायः युवा नेपालमा रोजगारी नभएको भन्दै विदेश जाने गरेको र त्यसमा पनि श्रम स्वीकृति नलिई जाँदा विदेशमा अलपत्र पर्ने गरेको वैदेशिक रोजगार बोर्डको सचिवालयका निर्देशक टीकाराम ढकालले बताए । आफू जान चाहेको देशको सामान्य भाषा, नियम कानुनलगायतका कुरा जानकारी लिन पनि उनले आग्रह गरे ।एकातिर, वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी नहुँदा पनि वैदेशिक रोजगारीमा जानेहरूले अनकौं कष्ट भोग्नुपरेको जानकारी दिए ।
श्रम स्वीकृति नलिई जाँदा यदि विदेशमा मृत्यु भएमा सव नेपाल ल्याउनका लागि पनि निकै कठिनाइ झेल्नुपरिरहेको उनको भनाइ थियो । ‘लाखौँ खर्च गरेर सव नेपाल ल्याउन अनेकौं झन्झट झल्नुपरेको छ,’ उनले भने, ‘श्रम स्वीकृति लिएर जाँदा सव निःशुल्क सरकारले नै नेपाल ल्याउने व्यवस्था मिलाउँछ ।’ त्यस्तै, श्रम स्वीकृति लिए उद्धार तथा खोजतलास, मृतकका बालबालिकालाई छात्रवृत्रि, परिवारका सदस्यलाई औषधि उपचार सहयोग र बिरामी वा अंगभंग भएमा प्रदान गरिने उपचारका लागि आर्थिक सहयतालगायतका सेवा सरकारबाट प्रदान गरिने जानकारीसमेत दिए ।
श्रम स्वीकृति लिएर जानेको तथ्याङ्क सरकारसँग भए पनि अवैधानिक तरिकाबाट कति गए भन्ने तथ्याङ्क नहुने उनले बताए । अल्पकालीन रूपमा रोजगारीको विकल्पको रूपमा यसको सकरात्मक पक्षसमेत रहेको उनले बताए । २०७९÷०८० मा मात्रै १२ खर्ब २० अर्ब ५६ करोड विप्रेषण भित्रिएको उनले जानकारी दिए ।वैदेशिक रोजगारमा गएर आएको भन्नासाथ महिलालाई हेर्ने दृष्टिकोण नराम्रो भएको वैदेशिक रोजगारीबाट फर्किएकी हीरा खनालले बताइन् ।
वैदेशिक रोजगारीमा जाँदा एयरपोर्टका कर्मचारी र समाजबाटै हेपिने गरेको समेत उनले गुनासो पोखिन् । ‘वैदेशिक रोजगारीमा ९ वर्ष विदेश बसेँ । धेरै कुरा सिक्न पाएँ र दुःख कष्ट भोगेँ । त्यसैले अब वैदेशिक रोजगारीमा जाने जुनसुकै व्यक्तिले मैले भोगेको र पाएको दुःख भोग्न नरोस् भनेर सचेतना फैलाउन लागि परेकी छु,’ वैदेशिक रोजगारीसम्बन्धी सचेतना अभियानमा लागेकी खनालले भनिन् । उनले नेपाल सरकारले वैदेशिक रोजगारीसम्बन्धी दिने ३ दिने तालिम प्रभावकारी नभएको पनि गुनासो गरिन् ।
यसलाई एउटा प्रमाणपत्रको रुपमा मात्रै नभई साँच्चिकै दक्ष बनाउने तवरले सञ्चालन गर्न आग्रह गरिन् ।वैदेशिक रोजगारीमा गएर अलपत्र परेका व्यक्तिको खोजतलास् र सव नेपाल ल्याउन माइती नेपालले भूमिका निर्वाह गर्दै आएको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले बताए ।
वैदेशिक रोजगारीमा जाँदा घर परिवार अर्थात छिमेकीलाई जानकारी तथा सर्टिफिकेट फोटोकपी गरेर दिनुपर्ने उनको भनाइ थियो । ‘यसो गर्दा भोलि केही भइहालेमा खोजी र उद्धार गर्न सहज हुन्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्