सडकमा फोहोर गर्नेलाई तिराइयो १० हजार जरिवाना



नेपालगन्ज।
सडकमा फोहोर फालेर सहर दुर्गन्धित पार्नेविरुद्ध नेपालगन्ज उपमहानगरपालिकाले कठोर कारबाही सुरु गरेको छ । उपमहानगरपालिकाले सुरु गरेको कारबाही पछि सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर गर्नेहरू हच्किने सम्भावना छ । अन्यथा उपमहानगरले जतिपटक फोहोर फाल्यो त्यतिपटक १५ हजारसम्म जरिवाना काट्ने तयारी गरेको छ ।

यसको सुरुवात बुधबारबाट भइसकेको उपमहानगरले जानकारी दिएको छ । संयुक्त बजार अनुगमनका क्रममा धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर (औषधिजन्य) फालेबापत १० हजार रुपैयाँ जरिवाना गरिएको हो। बुधबार संयुक्त बजार अनुगमनका क्रममा सडकमा जथाभावी म्याद नाघेका औषधि (फोहोर) फालेको भेटिएपछि नन्दादेवीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका फार्मेसी अधिकृत डा. अस्मित आचार्यले जानकारी दिए ।

सडकमा जथाभावी औषधिजन्य फोहोर फालेको कम्प्लेनपछि जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा र नगर प्रहरी, औषधि व्यवस्था विभाग तथा वाणिज्य कार्यालयको संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको थियो । सडकमा जथाभावी फोहोर फालेको नन्दादेवी कन्सर्नलाई १० हजार जरिवानासँगै तीन घन्टाभित्र फोहोर उठाउन निर्देशन दिइएको आचार्यले जानकारी दिए ।

नेपालगन्जलाई सफा, स्वच्छ र सुन्दर सहर बनाउन’ सचेतना प्रवद्र्धन र जरिवाना अभियान’ थालेको उपमहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाले ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ । फोहोरमैला व्यवस्थापन ऐन, २०७५ अनुसार जरिवाना गरिनेछ । नगरलाई सफा राख्न दैनिक फोहोर संकलन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई अब जरिवाना नै तिराउने नीति लिएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

‘सहर सफा राख्नु भनेर सम्झाइबुझाई गर्दा पनि नटेर्नेविरुद्ध कठोर हुनैपर्ने भयो । अब कुनै चेतावनी हुँदैन । सीधा कारबाही हुन्छ,’ नगर प्रमुख विष्टले भने । उपमहानगरपालिकाले केही दिन पहिल्यै सार्वजनिक सूचना र अभियान नै चलाएर फोहोर नगर्न अपिल गरिसकेको छ । जिल्लाका सरोकारवाला निकायका अगुवाहरूलाई अघि लगाएर नगरभरी प्रचारात्मक कार्यक्रम गरिएको थियो । सोही समयमा जथाभावी फोहोर नगर्न चेतावनी दिँदै अन्यथा कानुनअनुसार १५ हजारसम्म जरिवाना गर्ने चेतावनी दिइएको थियो ।

तर उक्त चेतावनीलाई बेवास्ता गर्दै फोहोर फाल्ने क्रम पनि बढेपछि उपमहानगर कारबाहीमा उत्रिएको हो ।
नेपालगन्ज उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका अनुसार नेपालगन्ज नगरमा सबैभन्दा बढी बजेट खर्च गरेर सरसफाइको काम भइरहेको छ । नगरपालिकाले सफाइ गरेर गएपछि जथाभावी ढंगले सडकमा फोहोर फाल्ने गरिएकाले अब त्यस्तो नगर्न सबैलाई आग्रह गरेको छ ।

नेपालगन्जलाई फोहोरमुक्त र सफा सहर बनाउने अभियान सुरु गरिएको जनाउँदै सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीले यो अभियानमा उपमहानगरभित्रका सबै जनाको सहयोग अपरिहार्य भएको बताए । उनले टोलटोलमा सरसफाइ समिति बनाएर फोहोर व्यवस्थापनबारे निगरानी गर्न पनि सबैलाई अनुरोध गरिएको जानकारी दिए । नगरका विभिन्न ठाउँमा अझै पनि स्थानीयले जथाभावी फोहोर फाल्ने गरेकाले सरसफाइ कार्यक्रम सफल हुन नसकेकाले कडाइ गर्ने निर्णयमा पुगिएको उपमहानगरले जनाएको छ ।

नेपालगन्ज–११ का वडाध्यक्ष नन्दकिशोर कश्यपले फोहोर व्यवस्थापनबारे सचेतना फैलाउने काम अब सकिएको जनाउँदै वडाबासीको घर–घरमा पुगेर अब फोहोर जथाभावी फालेमा कारबाही हुने जानकारी गराए । नेपालगन्जमा ३५ हजार ५ सय १७ परिवारमा १ लाख ६६ हजार २ सय ५८ को बसोबास छ । प्रतिदिन कम्तिमा ३८ मेट्रिक टन फोहोर उत्पादन हुने गरेकोमा २५ टन मात्र प्रशोधन केन्द्रसम्म पुग्ने गरेको छ ।

प्रकाशित मिति : २०८० पुस १२ गते बिहीबार