चरन खोज्दै भारतीय बस्ती पस्दै जनावर



कन्चनपुर।
चरनको अभावमा नेपालका जनावर भारततिर छिर्न थालेका छन् । नेपालका जंगलमा घाँस सुक्न थालेपछि चरनको खोजी गर्दै जनावर भारतीय वस्तीहरूतिर छिर्न थालेका हुन् । मंसिर दोस्रो सातातिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बयस्क भाले गैंडा चरन खोज्दै सीमा जोडिएको भारत उत्तर प्रदेशको लखिमपुर जिल्लाको बस्ती क्षेत्रमा पुगेको थियो । भारतीय बस्ती पसेको गैंडा हात्ती परिचालन गरेर फर्काइएको थियो ।
उक्त क्षेत्रमा गहुँ र उखु चर्नका लागि गैंडा उक्त क्षेत्रमा गएको निकुञ्ज कर्मचारीहरू बताउँछन् ।

मंसिर १४ मा भारततर्फको बस्तीमा गएको गैंडालाई निकुञ्जमा फर्काउन झन्डै दुई साता लाग्यो । भारततर्फका वन विभागका कर्मचारीसँग समन्वय गरेर हात्ती परिचालन गरेर गैंडा फर्काइएको हो । ‘उतापट्टि गहुँ र उखु खान पाएपछि फर्काउनै गाह्रो भयो,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराइले भने, ‘दुई–दुई पटक हात्ती परिचालन गरेर फर्काउनुप¥यो ।’

वरिष्ठ संरक्षण अधिकृत भट्टराईका अनुसार मंसिर १७ मा दुई हात्ती र निकुञ्जका कर्मचारीले गैंडा फर्काएर ल्याएका थिए । फेरि बस्तीतिरै पस्यो । २६ गते फेरि ४ हात्ती परिचालन गरेर फर्काइयो । ३० नम्बर सीमा स्तम्भ क्षेत्रबाट गैंडा बस्तीमा पसेको थियो । उक्त क्षेत्रमा गैंडाको सिकार हुन सक्ने पनि जोखिम थियो । यसका लागि भारततर्फका वन विभागका कर्मचारीसँग पनि समन्वय गरिएको थियो ।
अहिले उक्त गैंडाको नियमित अनुगमन भइरहेको छ ।

हिउँदमा घाँस सुकेर आहारा खोज्दै गैंडालगायत वन्यजन्तु बस्ती तर्फ पस्न सक्छन् । यसैगरी गैंडाहरू आपसमै जुँधेर पनि भाग्दै बस्तीसम्म पुग्ने गर्छन् । यस्तो अवस्थामा समयमै निकुञ्जमा फर्काउन नसके शिकार हुने तथा आक्रमण हुने जोखिम रहन्छ । शुक्लाफाँटामा पछिल्लो गणना अनुसार गैंडाको संख्या २० पुगेको छ ।

सन् २००० मा गरिएको स्थानान्तरण सफल भएपछि र यहाँ गैंडाको बासस्थान र आहाराको उपलब्धता राम्रो देखिएपछि २०१७ मा थप ५ वटा गैंडा चितवनबाट स्थानान्तरण गरियो । २०२१ को राष्ट्रिय गणनामा यहाँ गैंडाको संख्या १७ पुगेको थियो । २०२२ मा गरिएको गणनामा यहाँ २० वटा बयस्क गैंडा भेटिएको निकुञ्जले जनाएको छ । निकुञ्जमा गैंडासँगै बाघ र कृष्णसारको संख्या निरन्तर बढ्दै गएको छ ।

एकातर्फ संरक्षित क्षेत्रमा वन्यजन्तुको संख्या बढ्दै जानु र अर्कोतर्फ निकुञ्जकै कोर एरियामा बस्ती हुँदा समेत वन्यजन्तुको चरन र विचरणमा समस्या देखिन थालेको छ । कोर एरियामै बाक्लो बस्ती भएका कारण यस्तो समस्या आएको संरक्षणकर्मी बताउँछन् ।

प्रकाशित मिति : २०८० पुस ११ गते बुधबार