काँचुली फेर्दै इप्रका कोहलपुर



कोहलपुर।
इलाका प्रहरी कार्यालय कोहलपुरले कार्यालय भवनलाई व्यवस्थित बनाउनुका साथै सेवामा सुधार ल्याउने विभिन्न प्रयास थालेको छ । कार्यालय भवनलाई सफा, आकर्षक र सन्देश प्रवाह गर्ने गरी व्यवस्थापन थालिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए । कार्यालय बाहिरका भित्ताहरू रङरोगन गरिनुका साथै विभिन्न सन्देशमूलक नाराहरू लेखिएका छन् ।

सडकमा हिँड्ने बटुवाहरूले पनि ती नाराहरू सहजै देख्न सक्छन् । सडकपेटीमा माटो पुरेर व्यवस्थित पार्किङ स्थल बनाइएको छ । त्यसैगरी कार्यालय परिसरभित्र विभिन्न जातका फूलका गमलाहरू सजाइएका छन् । छेउछाउमा आकर्षक फूलका बिरुवाहरू रोपिएका छन् । कार्यालयभित्र प्रवेश गर्नेबित्तिकै देब्रतिर नयाँ धारा निर्माण थालिएको छ । जसमा चिसो तातो पानीको व्यवस्था हुने इलाका प्रहरी कार्यालयले जनाएको छ । यसले आगन्तुकलाई लागि पानी पिउन र हातमुख धुनका सहज हुने अपेक्षा गरिएको छ ।

नगरको शान्ति सुरक्षा कायम गर्दै इप्रकाबाट दिइने सेवा सुविधालाई प्रभावकारी बनाउन र वरिपरिको वातावरणलाई सफा राख्न सुधारको प्रयास गरिएको डिएसपी तिवारीले बताए । कोहलपुरको मुटुमा रहेकाले पनि इप्रका भवन सफासुग्घर र आकर्षक बन्दा त्यसले नगरभरि नै सकारात्मक सन्देश जाने डिएसपी तिवारीको भनाइ छ । ‘विभिन्न तनाव बोकेर यहाँ आउने व्यक्तिहरूलाई यहाँको वातावरणले थोरै भए पनि राहत देओस्,’ डिएपी तिवारीले भने, ‘जसबाट केही सिक्न पनि सकियोस् ।’

उनले कार्यालयमा दिइने सेवामा पनि सुधार गर्ने प्रयास गरेका छन् । कार्यालयमा छुट्टाछुट्टै उजुरी डेस्कहरू निर्माण गरिएको छ । कार्यालयलाई महिला, बालबालिका र अपाङ्गमैती बनाउने प्रयास गरिएको तिवारीले बताए । त्यसका लागि सहायता कक्षमा अपाङ्गता डेस्कसमेत निर्माण गरिएको छ, जहाँ अपाङ्गताहरूका लागि ह्विल चियरको व्यवस्था छ । नगरपालिकाको सहयोगमा निर्मित सो सहायता कक्षलाई चिटिक्क सिँगारिएको छ ।

त्यसलाई पनि विभिन्न स–साना कक्षमा विभाजित गरी अधिकतम् उपयोग हुने गरी व्यवस्था मिलाइएको छ । कार्यालयमा छुट्टै बालबालिका कक्षको स्थापना गरिएको छ । ‘विभिन्न उजुरी लिएर आउने अभिभावकहरूसँग आउने स–साना बालबालिकालाई भुलाउन र उनीहरूलाई अभिभावका विवादबाट अलग राख्नका लागि पनि यो कक्षको निर्माण गरिएको हो,’ डिएसपी तिवारीले भने, ‘अभिभावकका विवाद सुनेर साना नानीहरूमा नकारात्मक प्रभाव पर्न सक्छ । त्यसैले यो कक्षमा बसेर उनीहरू मजाले खेल्न र भुल्न सक्छन् ।’ चिटिक्क परेको सो कक्षमा बालबालिकाका लागि खेल्ने, पढ्ने र हेर्ने कुराहरू राखिएको छ, जहाँ बालबालिका सहजै रमाउन सक्छन् ।

असक्त, निरक्षर तथा विपन्न वर्गका सामान्य उजुरीहरूलाई कार्यालयले नै निःशुल्क लेखिदिने व्यवस्था मिलाएको छ । ‘अहिलेसम्म करिब एक हजारजति निवेदन निःशुल्क लेखिसकिएको छ,’ डिएसपी तिवारीले भने, ‘असक्त तथा विपन्न नागरिकका लागि यसले ठूलो सहयोग पुग्न सक्छ।’त्यसैगरी डिएसपी तिवारीले प्रहरी कार्यालयलाई नगरको समग्र विकाससँग जोड््ने गरी विभिन्न योजना अघि सारेका छन् ।

कार्यालयको आँगनमा रहेका बिरुवाहरूलाई वरिपरिबाट घेरेर कलात्मक शैलीमा एउटा यात्रु प्रतिक्षालय निर्माण गरिएको छ, जुन झट्ट हेर्दा निकुञ्जभित्रका यात्रु प्रतीक्षालय जस्तो लाग्छ । ‘यसलाई बाँके राष्ट्रिय निकुञ्जबारे विभिन्न जानकारी दिने उद्देश्यले नै निर्माण गरिएको हो,’ प्रहरी नायब उपरीक्षक तिवारीले भने, ‘यहाँ विभिन्न जनावरका तस्बिर, राष्ट्रिय निकुञ्ज र गाभर भ्यालीबारे जानकारीमूलक तस्बिर राख्ने योजना छ ।’

बाँकेमा यत्रो राष्ट्रिय निकुञ्ज भएर पनि त्यसबाट नगरले लाभ लिन नसकेको तिवारीले बताए । ‘निकुञ्जको आवश्यक प्रचारप्रसार र पर्यटन प्रवद्र्धन गर्न सकिएको छैन,’ डिएसपी तिवारीले भने, ‘यसले निकुञ्ज र यहाँको पर्यटनबारे थोरै भए पनि जानकारी दिनेछ ।’

प्रकाशित मिति : २०८० पुस १० गते मंगलबार