नेपालगन्ज ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुममा अवस्थित गाईलेख प्राकृतिक सौन्दर्य अवलोकनका लागि लुम्बिनी प्रदेशको तराई क्षेत्रमा सबैभन्दा उत्तम स्थान मानिन्छ । यसका साथै गाईलेखमा सिद्धबाबाको धार्मिक महिमालाई पनि यहाँका नागरिकले उच्च सम्मान गर्ने गर्दछन् ।
गाईलेख सिद्धबाबा थान यस क्षेत्रका नागरिकका लागि प्रख्यात, पौराणिक र विशेष महत्वको स्थान हो ।
यो आदिकालदेखि नै ग्वाला(गाईचराउनेहरू)को बासस्थान मानिन्छ । तर अहिले गाई चराउनेहरू पनि जाँदैनन् र दर्शन गर्नेहरू पनि बाटो नभएको कारण फाटफुटबाहेक त्यहाँ नपुग्ने गरेको बताउँछन् स्थानीयबासी एवम् शिक्षक भुवन खुना । उनका अनुसार त्यस स्थानबाट यन्त्रबिना नै नांगो आँखाले बाँकेको नेपालगन्जलगायत उत्तर क्षेत्रको दाङदेखि सिस्ने हिमालसम्म प्रस्टै दृश्यावलोकन गर्न सकिन्छ । यसका साथै आफूलाई जानकारी नभए पनि भारतका बहराइच, गोन्डा जिल्लाका धेरै स्थानको अवलोकन गर्न पाइने उनले बताए ।
राप्ती सोनारी–१ का वडाध्यक्ष यमबहादुर खड्काका अनुसार गाईलेखको आफ्नो छुट्टै इतिहास छ । ‘कुसुमबासीको सिद्धबाबाको शक्तिको जनविश्वास छ, तर यात्राका लागि बाटोको अभाव छ, यसका लागि वडासँग अधिकार छैन,’ वडाध्यक्ष खड्काले भने । आफ्नो दुईबर्से कार्यकालमा गाउँपालिकाबाट कुनै काम नभएको उनी बताउँछन् । उनका अनुसार यदि पैदल यात्रा सहज बनाउन सक्ने हो भने नेपालगन्ज र दाङका धार्मिक तथा पर्यटकीय अवलोकनकर्ताबाट कुसुम क्षेत्रको रोजगारीमा पनि राम्रो सहयोग पुग्ने उनको भनाइ छ ।
वडाध्यक्ष खड्का अनुसार यो ठाउँ सानो लगानीबाट बाँके जिल्लाको पर्यटकीय पहिचानका लागि ठूलो चर्चा र महत्वको स्थान हुनसक्छ ।
विकास र निकासको अधिकार सबै पालिका अध्यक्ष र हाकिमसँग हुने भएकाले वडा तहले विषय पहिचान गरे पनि समस्याको समाधान नहुने गरेको नेकपा (एमाले)का नेता एवम् वडा नंं.१ का वडासदस्य भरत बुढाथोकी बताउँछन् । राप्रपाका युवा नेता एवम् त्यसक्षेत्रमा राजनीतिक भौगोलिक र नाता सम्बन्ध भएका सुरेश भण्डारीका अनुसार स्रोतमा पहुँच गाईलेख सिद्धबाबाको आस्था, महिमा र महत्व नबुझेकासँग भएकाले विकास हुन नसकेको हो ।
नेपालगन्जबाट करिब १ घन्टाको दूरीमा कुसुम पुग्न सकिन्छ । कुसुमको बैरिया(राजमार्ग बजारक्षेत्र) बाट राप्ती नदीको पुल तरेर दक्षिण भम्का हुँदै गाईलेख सिद्धबाबा थान पुग्न सकिन्छ । कुसुमदेखि गाईलेखको चुचुरोमा पुग्न ३ घन्टाको पैदल यात्रामा पुग्न सकिने स्थानीयको भनाइ छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा ग्रामीणशास्त्र विषयका अध्यापक दमनध्वज डिसीले स्थानीय स्थानीय बस्तु, सेवा र सम्भावनालाई निकायले बेवास्ता गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्