बाँकेमा बढ्यो प्रतिबन्धित भारुको कारोबार



कमल डाँगी । नेपालगन्ज ।

बाँकेमा प्रतिबन्धित भारतीय ५ सय दरभन्दा बढीको नोटको खुलेआम प्रयोग भइरहेको छ । पछिल्लो समय नेपालमा एक सयभन्दा माथिल्ला दरका (५ सय र २ हजार) भारतीय मुद्राको प्रचलनमा प्रतिबन्ध लगाइएको छ । तर यी नोटको नेपालमा व्यापक रूपमा प्रचलन भइरहेको पाइएको छ ।

यसमा पनि २ हजार दरको नोटभन्दा ५ सयको नोट बढी प्रयोगमा आएको छ । कम मूल्यमा यी नोटको प्रयोग भइरहेको पाइएको हो । क्यासिनो, सीमावर्ती क्षेत्रमा कारोबार गर्ने व्यवसायी र भारतमा काम गरेर फर्किएकाहरूबाट उक्त रकमको प्रयोग ज्यादा भएको पाइएको हो ।

नेपाल सरकारले भारतीय नागरिकले २५ हजारमात्र भारु लिएर आउन सक्ने कानुनी व्यवस्था गरेको छ । त्यो पनि एक सय दरको नोट मात्र । यस्तोमा भारतीय नागरिकहरूले नै जोखिम मोलेर ५ सय दरका भारु ल्याउने गरेको बताइन्छ । नेपालमा घुम्न आउनेदेखि कारोबार गर्नेहरूले ल्याएको ५ सय दरको नोट नेपालबाट भारतमा फिर्ता नगई यतै प्रचलनमा रहेको हो ।

नेपाली ग्राहकको स्थानमा भारतीय ग्राहक देखिएपछि स्वाभाविक रूपमा भारुको प्रयोग बढेको हुन सक्ने यस क्षेत्रका नेपाली व्यवसायी बताउँछन् । सरकारले एक व्यक्तिका हकमा २५ हजारको सीमा तोकेका कारण पनि ५ सय दरका भारतीय मुद्राको बजारमा प्रयोग बढेको हुन सक्ने अनुमान छ ।

पछिल्लो समय नेपालगन्जमा पर्यटनको उद्देश्यले, मदिरा पिउन, जुवातास खेल्न र विवाह जस्ता परम्परागत पारिवारिक कार्य गर्न ठूलो समूह बनाएर नेपालमा आउने गरेका छन् ।

यस्तोमा उनीहरूले प्रशस्त मात्रामा गर्ने खर्चको भुक्तानी ५ सय वा २ हजार दरका भारतीय मुद्राबाट गर्ने गरेको पाइएको छ । बैंकिङ प्रणालीबाट खर्चको भुक्तानी नगर्ने र एक सय दरको नोट धेरै बोक्नुपर्ने हुँदा भारतीय नागरिकको चाहना ५ सय दरको नोटमा हुनेगर्छ ।

यसबाहेक सीमावर्ती क्षेत्रबाट हुने अवैध व्यापारको कारोबारमा पनि सबैभन्दा बढी ५ सय दरको नोट प्रयोग भइरहेको छ । अहिले अनौपचारिक बजारमा भारुका तुलनामा नेपाली रुपैयाँँ बलियो बनेको छ । अवैध र वैध दुवै किसिमका ठूला कारोबारमा ५ सय र २ हजार दरका भारु नोट प्रयोग हुने, तर ती दरका नोट बैंकले सटही नगर्ने भएपछि भारतीय मुद्रा अवमूल्यन भएको हो ।

नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ (भारु) एक सयभन्दा ठूला दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको स्मरण गराउँदै त्यस्तो कार्यमा संलग्न नहुन निर्देशन दिएको छ । राष्ट्र बैंकले सामाजिक सञ्जालमा सर्वसाधारणको वित्तीय चेतनाका लागि भन्दै सार्वजनिक सूचना नै जारी गर्दै भारु नोट कारोबारसम्बन्धी व्यवस्थाका बारेमा स्मरण गराएको हो ।

भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजारबराबरको भारु (१०० वा सोभन्दा कम दरका नोट मात्र)
ल्याउन-लैजान सकिन्छ भने योभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने उल्लेख गरेको छ । नेपालमा भारु १०० दरभन्दा ठूला दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको छ ।

भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेन्जरबाट पनि लिन सक्छन् ।

कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टिटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने केन्द्रीय बैंकले जनाएको छ । प्रतिबन्धित दरका भारतीय नोट साथमा नराख्न र स्वदेशभित्र नेपाली मुद्रामा मात्र कारोबार गर्न राष्ट्र बैंकले सार्वजनिक आह्वान गरेको छ ।

नेपालका सीमावर्ती क्षेत्रमा भारुको अवैध कारोबार हुने गरेको छ । विशेष त नेपालगन्जमा यस्तो कारोबार धेरै हुने गरे पनि नियमन हुन सकिरहेको छैन । यस्तो अवस्थामा अत्यधिक भारु पैसा भएपछि त्यसको मूल्यांकनसमेत घट्यो र व्यवसायीहरू आफैँ भारुको कारोबार गर्न हिच्चकिचाइरहेका छन् ।

केही समय अघिसम्म भारतीय रुपैयाँँको सस्तोमा कारोबार हुन थाल्नुले नेपालमा ‘अनौपचारिक अर्थतन्त्र’को थप विस्तार भएको अर्थमा लिइएको थियो । यहाँका पेट्रोल पम्पले भारु नोट नदिनु भन्दै सूचना नै जारी गरेका छन् ।

सीमा क्षेत्रमा ‘वित्तीय संयन्त्रबाहिर हुने अनौपचारिक’ कारोबारमा अहिले प्रति १०० रुपैयाँँ भारुमा कम्तीमा पाँच रुपैयाँँसम्म कमी आएको त्यस क्षेत्रका व्यवसायी र स्थानीयबासी बताउँछन् । नेपाली र भारतीय मुद्राबीच दशकौँदेखि स्थिर विनिमय दर रहँदै आएको छ अर्थात् नेपालमा १०० रुपैयाँँ भारुको १६० रुपैयाँँ नेरु तिर्नुपर्छ ।

अन्य मुद्राको सटही दर हरेक दिन परिवर्तन भए पनि भारुको हुँदैन । तर करिब एक महिनादेखि सीमावर्ती क्षेत्रमा नेपालीहरूले ‘अनौपचारिक माध्यम’मा प्रति १०० रुपैयाँँ भारु १५५ रुपैयाँँसम्ममै पाउन थालेको त्यस क्षेत्रका स्थानीयबासी बताउँछन् ।

प्रकाशित मिति : २०८० पुस ६ गते शुक्रबार