कृषिजन्य वस्तु बजारीकरणसँगै कला संस्कृतिको संरक्षण



गणेश रावत । कोहलपुर ।

शनिबार साँझ ५ बजेको थियो । सूर्य अस्ताउँदै थियो । रत्न राजमार्गमा सवारी साधनहरूको ओहोर–दोहोर तीव्र थियो । मानिसहरूको भीड बाक्लो भएकाले सवारी साधनका हर्न बजिरहेका थिए । मंसिर महिनाको चिसो र हर्नका आवाजसँगै बानियाभार कृषि हाटबजारमा एकोहोरो गुन्जिरहेको थियो देउढा गीत ।

सडक छेउदेखि हाटबजारमा मानिसहरूको बाक्लो भीड थियो । गेटमा कृषिजन्य वस्तुहरू बिक्रीका लागि राखिएका थिए । हाटबजारभित्र पुरुष र महिला छुट्टाछुट्टै देउडा खेलिरहेका थिए । देउडा हेर्न मानिसहरू झुम्मिएका थिए । शनिबार बानियाभार हाटबजार देउढामय बनेको थियो ।

बैजनाथ गाउँपालिकामा–४ बानियाभार रत्न राजमार्ग सडकछेउमै रहेको उक्त कृषि हाटबजार प्रत्येक हप्ताको शनिबार यस्तै दृश्य देखिने गरेको छ । सो मेला प्रत्येक शनिबार लाग्ने गर्छ । र मेलामा कृषिउपज बिक्रीवितरणका अलावा मानिसहरूले देउडा खेलेर भरपूर मनोरञ्जन पनि लिने गरेका छन्् । २०६५ सालमा कृषि हाटबजारको स्थापना भएको हो । कृषिजन्य बस्तुको बिक्रीवितरणका लागि हाटबजारको स्थापना गरिएको भए पनि पछि सो हाटबजार कला संस्कृति संरक्षणको केन्द्र बन्न पुगेको अध्यक्ष विष्णुकान्त आचार्यले बताए ।

पछिल्लो समय हाटबजारमा तरकारी किनमेल गर्न आउनेहरूको कमी भएपछि उनीहरूलाई आकर्षित गर्न कला संस्कृति सँगसँगै कृषिजन्य बस्तु बिक्रीवितरणका लागि मानिसहरू बटुल्न देउढा खेल्ने गरिएको आचार्यले जानकारी दिए ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट बसाइसराइ गरेर लुम्बिनी प्रदेश आएका ज्येष्ठ नागरिकहरू आफ्नो पुरानो कला संस्कृति जगेर्ना गर्न देउडा खेल्न शनिबार हाटबजार पुग्ने गरेको अध्यक्ष आचार्यले बताए । यसले गर्दा एकातिर कला संस्कृतिको संरक्षण र अर्काेतिर हाटबजारमा कृषिजन्य बस्तुको बिक्रीवितरण हुने गरेको उनको भनाइ छ ।

अध्यक्ष आचार्य पनि एक जना देउडा गायक हुन् । उनी पनि बेलाबेला देउडा गाउने गर्छन् । जुम्लाको सिञ्जामा जन्मिएका आचार्य बसाइसराइ गरेर बानियाभार आएका हुन् । अहिले हाटबजारमा तरकारी सँगसँगै कर्णाली प्रदेशको संस्कृति जगेर्ना गर्न लागिपरेका छन् । कृषि हाटबजारमा देउडा खेल्न र हेर्न आएका मानिसहरूले घर फर्किंदा तरकारी किनेर लैजाने गरेका छन् । जसले गर्दा हाटबजारमा किसानले बेच्न राखेका तरकारी कुहिएर जानबाट जोगिने बानियाभारका स्थानीय हरिकृष्ण धितालले बताए ।

धिताल पनि शनिबार हाटबजारमा देउडा खेल्न पुगेका थिए । कर्णालीको पुरानो कला सस्ंकृतिको जगेर्ना गर्न आफूहरू लागिपरेको उनले बताए । पछिल्लो पुस्ताले पुरानो कला संस्कृतिमा ध्यान नदिँदा हराउँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । हाटबजार एउटा तरकारी बिक्रीवितरण गर्ने ठाउँ मात्रै नभई कला संस्कृतिको जगेर्ना गर्ने थलो बनेको उनले बताए ।

त्यही हुलमा नाकमा फुली–बुलाकी, घाँटीमा पुरानो पोते र गुन्यूचोलीमा सजिएर देउढा खेल्न पुगेकी थिइन्, केसरकला मल्ल पनि । उमेरले ५८ वर्षीय मल्ल मदनचोकदेखि बानियाभार पुगेकी थिइन् । मुगुबाट बसाइ सरेर आएकी केसरकला प्रत्येक शनिबार कृषि हाटबजार पुग्ने गरेको बताउँछिन् ।

उनी सानैदेखि देउढा खेल्ने गाउने गर्थिन् । उनी कोहलपुर मदनचोक झरेपछि देउडा गाउन पाएकी थिइनन् । ‘घरमा कहिलेकाहीँ एक्लै गुनगुनाउने गर्थें,’ उनले भनिन्, ‘जब मैले बैजनाथ बानियाभारमा कृषि हाटबजारमा ढेउढा खेल्छन् भन्ने थाहा पाए । त्यो दिनबाट आफ्नो मनको तिर्सना मेट्न यहाँ आउने गरेकी छु ।’

उनी जस्तै जोनु सिंह पनि कृषि हाटबजारमै भेटिइन् । ज्येष्ठ नागरिकको सुख दुःख भुलाउने र युवाहरूले सिक्नका लागि यो एउटा प्लेट फर्म बन्ने सिंहले बताइन् । अहिले देउडा र गुन्यू चोली हराउन थालेकोमा उनले चिन्ता प्रकट गरिन् । कृषि हाटबजारले कृषिजन्य बस्तुहरूको बिक्रीवितरण मात्र नगरेर कला संस्कृतिको संरक्षणसमेत गरिरहेकोमा खुसी व्यक्त गरिन् ।

प्रकाशित मिति : २०८० पुस ४ गते बुधबार