कोहलपुुर ।
हाम्रा कतिपय मान्यता र परम्परा यस्ता हुन्छन् जसको हामीले निरन्तरता त दिइरहेका हुन्छौँ तर किन हामी यसो गरिरहेका छौँ भन्ने हामीलाई थाहा हुँदैन । किन त्यसलाई निरन्तरता दिइरहेका छौँ भन्ने खोजी गर्ने रुचि पनि हामी देखाउँदैनौँ । वर्षाैंदेखि त्यो निरन्तर चल्दै आएको छ र सायद चलि नै रहनेछ ।
कोहलपुर–११ स्थित न्यौपाने मिष्ठान्न भण्डारभित्र सटरको ठीक माथि केही खुर्सानी र एउटा कागती धागोमा उनेर तुर्लुङ्ग झुन्ड्याइएको छ । यो पसलमा मात्र होइन, कोहलपुरका प्रायः पसलमा यसरी नै खुर्सानी र कागतीको माला झुन्ड्याइएको देख्न सकिन्छ । कसै–कसैले त दुई–तीन वटा कागती र अलि धेरै खुर्सानीको माला बनाएर झट्ट देखिने ठाउँमा झुन्ड्याउने गरेको समेत पाइन्छ ।
यसरी पसलमा खुर्सानी र कागतीको माला झुन्ड्याउँदा के हुन्छ ? यो प्रश्नमा प्रायः पसलका साहुजीहरू पनि अन्कनाउने गर्छन् । उनीहरू यसको वैज्ञानिक वा शास्त्रीय आधार दिन सक्दैनन् । तर पसल अगाडि खुर्सानी र कागतीको माला झुन्ड्याउँदा कसैको आँखा लाग्दैन भन्ने विश्वास भने उनीहरू गर्छन् ।
न्यौपाने मिष्ठान्न भण्डारका सञ्चालक ओमप्रसाद न्यौपाने भन्छन्– ‘सबैले झुन्ड्याएका हुन्छन् । पसलमा कसैको आँखा लाग्दैन र व्यापार राम्रो हुन्छ भन्ने मान्यता छ ।’
कोहलपुरमा मात्र होइन, नेपालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै यसरी पसलमा खुर्सानी र कागती डोरीमा उनेर झुन्ड्याइने गरेको
पाइन्छ । तर किन झुन्ड्याइन्छ भन्ने कुराको वैज्ञानिक वा शास्त्रीय आधार कसैले पनि दिन सक्दैनन् ।
‘अब यसको अरू के–के कारण छ त्यो त थाहा छैन,’ न्यौपाने भन्छन्, ‘एक जनाले हप्तादिन जस्तोमा यस्ता माला ल्याएर भुन्ड्याइदिन्छ । उनलाई नझुन्ड्याउ पनि भन्दैनौँ । १०/२० रूपैयाँ दिएर पठाउँछौँ ।’
त्रि–कन्या फेन्सी कलेक्सनका सञ्चालक शालिकराम लम्सालको पनि यही मान्यता छ । ‘अरूको नजर लाग्दैन, व्यापार राम्रो हुन्छ भन्छन्,’ लम्सालले भने, ‘मान्छेको नजर पहिले खुर्सानी र कागतीमा पर्छ । पसलमा सकारात्मक धारणा हुन्छ र व्यापार बढ्छ भनेर झुन्ड्याउने चलन
छ ।’
यसरी माला झुन्ड्याउने कुरामा प्रायः सबै व्यापारीको एउटै भनाइ रहने गर्छ । कोहलपुरका पुराना मःम व्यापारी जीवन मल्लको भनाइ पनि यस्तै छ । ‘नजर लाग्दैन, व्यापार राम्रो हुन्छ भन्ने भनाइ छ,’ उनी भन्छन्, ‘म आफैँ लगाइदेऊ भन्दिनँ । मान्छे आएर लगाइदिन्छन् । म इन्कार पनि गर्दिनँ ।’
प्रत्येक साताजसो नेपालगन्जबाट धनेन्द्र जोशी कोहलपुर आएर यहाँका पसलहरूमा यसरी नै माला झुन्ड्याइदिने गरेका छन् । नेपालगन्ज रानीतलाउ निवासी ४८ वर्षीय जोशीको पेसा यसरी नै चलेको छ । यसरी माला झुन्ड्याइदिएबापत पसलेहरू कसैले उनलाई १० रूपैयाँ, कसैले २० रूपैयाँ त कसैले ५० रूपैयाँसम्म दिने गरेका छन् ।
‘म पनि यति नै भनेर माग्दिनँ,’ उनी भन्छन्, ‘उहाँ (पसले)हरूले पनि मलाई खाली हात पठाउनुहुन्न ।’ यो उनी र पसलेबीच विगत २२ वर्षदेखि एउटा भद्र सहमति जस्तै बनेको छ । उनी पनि यति नै भनेर मूल्य तोक्दैनन् । पसलेहरूले पनि उनलाई खाली हात पठाउँदैनन् ।
कोहलपुरमा जोशी दस बिघा, चप्परगौढी र मुख्य बजार क्षेत्रमा यसरी माला झुन्ड्याइदिन्छन् । यी ठाउँमा उनका नियमित ग्राहक छन् ।
‘पहिले–पहिले हप्तामा तीन दिन आइतबार, मंगलबार र शनिबार आउँथेँ,’ उनी भन्छन्, ‘हिजोआज मंगलबार मात्रै आउँछु ।’ यसैगरी उनको जीवन गुजारा भइरहेको छ ।
जोशी पसलभित्र छिरेर पुरानो माला झिक्छन् र नयाँ माला टाँगिदिन्छन् । यसरी माला टाँग्नुको वैज्ञानिक आधार वा भरपर्दो तर्क उनीसँग पनि
छैन । ‘कसैको कुदृष्टि नपरोस् भन्ने नै हो,’ उनी पनि भन्छन् । ‘तर कसरी ?’ यसको ठोस जबाफ उनी दिन सक्दैनन् ।
तर लोटस इलेक्ट्रोनिक्सका केशवराज शाहीलाई भने यसरी खुर्सानी र कागतीको माला टाँगेर व्यापार हुन्छ भन्ने विश्वास छैन । तर पनि उनको पसलमा यसरी वर्षाैंदेखि माला टाँगिँदै आएको छ । ‘मलाई पसलमा कागती र खुर्सानी टाँगेर व्यापार हुन्छ भन्ने विश्वास त छैन,’ शाही भन्छन्, ‘तर उनी वर्षौंदेखि आइरहेका छन् । पसलमा टाँगिदिन्छन् । म २०/२५ रूपैयाँ दिन्छु । उनले फूल पनि राखिदिन्छन् । सोच्छु उनको पनि रोजगारी चलिरहेको छ ।’
बरु ती व्यक्तिसँग एउटा सकारात्क सम्बन्ध विस्तार भएको शाहीलाई लाग्छ । ‘कतिपय सम्बन्ध यसरी पनि जोडिँदा रहेछन्,’ उनी भन्छन्, ‘उनी मलाई नेपालगन्ज रूपैडिहा जता देखे पनि चिनेर हाँस्छन् । कुनै–कुनै सम्बन्ध यसरी पनि जोडिँदा रहेछन् ।’
पूर्वीय धर्म परम्पराका ज्ञाता ज्योतिषाचार्य डा. गौरीशंकर शर्मा पनि यसमा कुनै वैज्ञानिक वा प्राचीन आधार नभेटिएको बताउँछन् । ‘यो धेरै प्राचीन परम्परा पनि होइन,’ उनी भन्छन्, ‘झट्ट कसैको आँखा नलागोस् र खराब तत्वहरू पराजित हुन् भन्ने विश्वासकै आधारमा त्यसो गर्ने गरिएको हो तर प्राचीन ग्रन्थहरूमा पनि यसका बारेमा कुनै उल्लेख गरिएको पाइँदैन ।’
प्राचीन समयमा कसैलाई भूतप्रेत वा लागोभागो भए रातो खुर्सानीलाई आगोमा धुवाँएर उपचार गर्ने गरिएको बताउँदै त्यही परम्पराबाट परिवर्तित भएर मानिसहरूले खुर्सानी र कागती पसलहरूमा झुन्ड्याएको हुनसक्ने उनले बताए ।
पछिल्लो समयमा यो परम्परा पनि परिवर्तित हुँदै गएको उनको भनाइ छ । ‘यस्ता खराब तत्वहरूलाई प्रवेश नदिन हिजोआज कालो कपडामा मास, चामल, भोजपत्र, डंकिनी च्याउ र भूतकेश पोको पार्ने र १७ पटक कालो डोरीले बाँधेर मन्त्रद्वारा शुद्धीकरण गरेर झुन्ड्याउने गरेको पाइन्छ,’ डा. शर्मा भन्छन्, ‘यो मानिसको आ–आफ्नो आस्था र विश्वासको कुरा पनि हो ।’
यसमा वैज्ञानिक वा शास्त्रीय आधार होस् वा नहोस् तर यो परम्पराले केही व्यक्तिलाई रोजगारी भने अवश्य दिएको छ । कोहलपुरमै पनि जोशीजस्तै कागती र खुर्सानीका माला बेचेर केही व्यक्तिले गुजारा चलाइरहेका छन् ।
‘मुलुकभरि कतिपयले यसरी नै जीवन चलाएका होलान्,’ कोहलपुरका पुराना व्यापारी एवम् साहित्यकार सागर गैरे भन्छन्– ‘सायद यसको बलियो सकारात्क पक्ष भनेको पनि यही हो कि !’
प्रतिक्रिया दिनुहोस्