पुस १ गतेको त्यो कालो दिन



विष्णुकुमारी चौधरी ।

कुरा २०५८ सालको हो । कक्षा ८ मा बर्दियाको जनकनगरस्थित श्री जानकी माविमा पढ्दा निकै हैरानी भोग्नुप¥यो । बुबा जनयुद्धको पक्षमा हुनुहुँदो रहेछ । सबै गाउँघरमा राज्यआतंक थियो । सेना र प्रहरी घरमा आउने र अनेक प्रश्न गर्ने गर्थे । यो आतंककारीको छोरी हो । त्यसैले आतंककारी गतिविधिमा संलग्न छ भन्ने उनीहरूको ठहर थियो ।

मलाई के थाहा र ! म त सानै थिएँ । अहिले पनि बोल्ने र लेख्ने सीप सिक्दै छु । बुबालाई भेट्न नचिनेका मान्छेहरू आइरहन्थे । कहिलेकाहीँ उनीहरू बुबालाई सानो कागजमा लेखिएको चिठी दिएको देख्थेँ । चिठी पो के भन्नु, सानो कागजको चिर्कटो । धेरैपटक त मैले नै बुबालाई बुझाएकी थिएँ । बुबा चिठी पढेर एकैछिन के–के सोच्नुहुन्थ्यो ।

अनि आमासँग कुरा गरेर बाहिर जानुहुन्थ्यो । सायद आमाले कति बुभm्नुहुन्थ्यो, थाहा भएन । आमालाई विश्वास थियो बुबा गलत काममा लाग्नुहुन्न । गाउँलेलाई दुःख सुखमा साथ दिने बुबाको बानी आमालाई राम्ररी थाहा थियो । त्यसैले आफूले सकेजति सहयोग नै गर्नुहुन्थ्यो ।
त्यतिबेला मेरो बालमस्तिष्कले के–के सोच्यो, थाहा भएन ।

उनीहरू अनेक तरिकाले उल्टासीधा प्रश्न गर्थे । क्रूर तवरले घोचपेच गर्थे । केही बोल्न लाग्यो भने मार्ने धम्की दिँदै मुख नै थुनिदिन्थे । बन्दुकसँग आएका फौजले सताइरहँदा मन नै विक्षिप्त हुन्थ्यो । पछि–पछि त उनीहरू रातमा पनि आउन थाले । परिवार त के पुरै गाउँ नै आतंकित थियो । उनीहरूले गरेका व्यवहारले गाउँमै बसी पढ्न सकिएला जस्तो लागेन । कुनै पनि समयमा केही बहाना गरी मारिदिन सक्छन् भन्ने ठहरमा पुगेँ ।

त्यसैले विद्यालयमा मलाई निकै माया गरी पढाउने गुरु महानन्द वाग्लेसँग घर छोडी जान लागेको कुरा बताएँ । मेरो कुरा सुनेर उहाँ निकै दुःखी हुनुभयो । जसरी पनि पढाइ छोड्नुहुन्न भन्ने सल्लाह थियो गुरुको । उहाँकै सल्लाह अनुसार पढाइ नछोड्ने बरु कतै अलि टाढा नचिन्ने ठाउँमा गई पढाइलाई निरन्तरता दिने टुंगो लाग्यो ।

निर्णय त भयो । कहाँ जाने भन्ने अझै पनि थाहा थिएन । पढाइका लागि विद्यालयका कागजात तयार थिएनन् । अन्त्यमा, नवलपरासीको डण्डा अभियोनमा रहनुभएका एक जना आफन्तको घरमा बसी पढाइ गर्ने र विद्यालयका कागजात गुरुले नै त्यहाँ पठाइदिने गरी म आफन्तसँग नवलपरासी पुगेँ ।

यतातिर बुबाले गर्ने कामको जिम्मेवारी पनि बढ्दै गएछ । एकातिर राज्यसत्ताले सञ्चालन गरेको क्रूर आतंक, अर्कातर्फ आत्म स्वाभिमानका लागि गरिएको संघर्ष । संघर्षको दायरा बढ्दै जाँदा दुवै पक्षका हजारौँ मानिसको ज्यान गएछ ।

जो कसैका लागि पनि मृत्यु पीडादायी त हुन्छ नै । सोच्दै नसोचेको र कल्पना नै नगरिएको मृत्युले अझ बढी मर्माहत बनाउँदो रहेछ । व्यक्तिको मात्र होइन, पुरै गाउँलेकै अभिभावक गुमाउनुको त्यो क्षणको सम्झनाले आज पनि निकै भाव विह्वल बनाउँछ ।

सामाजिक काममा सरिक भएकै कारण २०५९ साल पुस १ गतेका दिन तत्कालीन शाही सेना र प्रहरीबाट गोला गाविसको गिदरपुरमा सुराकीको कारण उहाँ सहित ५ जना (लक्ष्मण थारू, खुशीराम थारू, पुष्प थारू, रमिला थारू) को हत्या भएछ ।

हुन त पाठकलाई आफ्नै बाबुको कुरा गर्दा पारिवारिक कुरा लेखेर गुनासो गरेको जस्तो पनि लाग्ला । तर पारिवारको साँघुरो घेराबाट मुक्त भई सामाजिक क्षेत्रमा गरेको योगदानलाई बाहिर ल्याउँदा उहाँमाथि न्याय नै होला भनी सहादत भएको २१आँै वर्ष पारी यो सानो स्मरण तयार गरेकी छु । सम्भव भएसम्म उहाँले व्यतीत गर्नुभएको जीवनलाई यहाँ सम्झने प्रयास गरेकी छु —

जन्मिँदाको परिवेश

दलबहादुर चौधरी, बाजे सन्तराम थारू र बज्यै महङगी थारूको कोखबाट २०२४ साल असार महिनाको ६ गते बर्दियाको तत्कालीन मनाउ गाउँ पञ्चायत (पछि गोला गाविस र अहिले गेरुवा गाउँपालिका–४) शान्तिपुर ढुकुनियामा निम्न मध्यम वर्गीय परिवारमा जन्मिनुभएको थियो । त्यतिबेलाको राजापुर ठूलै व्यापारिक केन्द्रको रूपमा परिचित थियो ।

खेती किसानी नै जीविकोपार्जनको आधार थियो । आफैँ खेती गर्न नसक्नेले कमैया राखी खेती गर्ने चलन थियो । पञ्चायती शासन । गाउँघरमा ठूलाबडा भन्ने नै पञ्चायतका दरिला खम्बा थिए । पञ्चायतको विरोध गर्नु त के चुइँक्क बोल्नसमेत पाइँदैन्थ्यो ।

विद्यार्थी जीवन

दौँतरीका अनुसार उहाँको व्यवहार निकै सरल र सहयोगी थियो । सानै उमेरदेखि सहयोगी स्वभावका उहाँ अत्यन्त मिलनसार हुनुहुन्थ्यो । विद्यार्थी कालदेखि नै सामाजिक काम गर्न रुचाउने र सामाजिक दायित्वबोध गर्ने उहाँको बानी थियो ।

अन्याय नसहने, सबैलाई सहयोग गर्ने स्वभावकै कारण किशोर अवस्थामै १२ वर्षसम्म गाउँको बडघर भई सामाजिक सेवामा योगदान पु¥याउनुभयो । घरमा हँुदा खेतीको काममा सघाउने र विद्यालयमा पनि लगनशील भई अध्ययन गर्नुहुन्थ्यो ।

साथीभाइसँग नाता लगाएर सम्बोधन गर्नुहुन्थ्यो । सरल र सहयोगी बानीका कारण उहाँको लोकप्रियता निकै नै बढेको थियो । गाउँमा केही काममा सल्लाह गर्नुपरेमा उहाँकै नाम अगाडि आउँथ्यो ।

बडघरमा छनौट

समस्या आउँदा सबैलाई सहयोग गरेकै कारण गाउँमा निकै लोकप्रिय हुनुभयो । उहाँको चालचलन, बानीव्यवहार देखेर नै सबै गाउँलेहरूले सम्मानको व्यवहार गर्दथे । लोकप्रियताका कारण १२ वर्षसम्म गाउँको बडघर बनी सामाजिक काममा योगदान दिनुभएको थियो ।

आफू बडघर हुँदा सामुदायिक वनमा गरेको वृक्षरोपणको प्रयासबाट लगाइएका बिरुवाहरू आज पनि रूखको रूपमा देख्न सकिन्छ ।
पञ्चायतको विरोध पञ्चायत दिनदिनै निरंकुश बन्दै गइरहेको थियो । पञ्चहरू गाउँका सोझा सीधा मानिसलाई हेप्ने, कुट्ने गर्दथे ।

कसैका छोरीचेली राम्रा छन् भने उनीहरूको गिद्दे नजर परिहाल्थ्यो । यस्तो अन्याय हुँदा पनि चुपचाप सहेर बस्न उहाँको मनले मानेन ।
आफूजस्तै युवा साथीहरूको संगठन निर्माण गरी २०४६ सालमा अखिल नेपाल युवा संघमा आबद्ध हुनुभयो र संगठित रूपमै पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्षमा होमिनुभयो ।

बहुदलको आगमन र पार्टी काम

संगठित रूपमा पञ्चायतविरुद्ध गरिएका आन्दोलनले व्यापकता पाउँदै गयो । एकातिर पञ्चायत आन्दोलनकारीलाई धरपकड गरी आफ्नो शासनकाल लम्ब्याउने कोसिसमा थियो भने अर्कातर्फ देशव्यापी रूपमा व्यवस्थाको विरोध गर्दै हजारौँ हजार मानिसहरू प्रदर्शनमा उत्रिएका थिए ।

पर्चा छर्ने, पोस्टरिङ गर्ने क्रममा पुलिसले लखेटेको र काँडैकाँडा भएको बुट्यानमा बास बस्नुपरेको कुरा उहाँका दाँैतरी बेगहराज चौधरी सुनाउनुहुन्छ । बहुदली यव्यवस्थाको आगमनपछि त उहाँको जिम्मेवारी झन् फराकिलो हुँदै गयो ।

बहुदलीय व्यवस्था आएपछि भएको पहिलो स्थानीय निर्वाचनामा पार्टीको तर्फबाट उहाँले वार्ड अध्यक्षको पदमा उम्मेदवारी दिनुभएको थियो तर मात्र १ मतको अन्तरले विजय हुनुभएन । २०४७ मा उहाँले गरेको कामको सम्मान गर्दै नेकपा(मसाल) ले सदस्यता प्रदान गरेको नजिकैबाट जान्नेहरू बताउँछन् ।

पार्टी काम र भूमिगत जीवन

समयको क्रमसँगै गरिब, निमुखा र उत्पीडनमा परेकालाई गरिबीका कारण र यसबाट मुक्तिका लागि गरिनुपर्ने संघर्षका कुरा सिकाउँदै हिँड्नु उहाँको कर्तव्य थियो ।

२०५४ सालमा थारू राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्यको भूमिकामा रही काम गर्नुभयो । तत्कालीन पार्टी नेता ज्ञानप्रसाद चालिसे (आयाम), तिलकराम शर्मा (हिमाल), रामचरण चौधरी, तिलकसिह कार्कीलगायतका साथीहरूको संगतले पार्टी काममा हौसला थपेको थियो ।

यो अवस्थामा स्वतः गाउँका फटाहा र शोषकवर्गको स्वार्थमा ठेस पुग्थ्यो नै । त्यसैले उनीहरूले उहाँलाई देखी सहेनन् । उनीहरूको दमनले सीमा नाघ्यो । घरमा बस्ने वातावरण नै भएन । त्यसैले २०५९ साल भदौमा भूमिगत भई काम सुरु गर्नुभयो ।

जस्तोसुकै जटिलतामा पनि नहडबडाई काम गर्ने कार्यशैली रहेको कुरा अझै पनि दौँतरीहरू सुनाउँछन् । रातभरि काम गरी बिहान सुतिरहेको समयमा दुश्मन आइपुगे । बिस्तारामै करिब ८ बजे उहाँलगायत अन्य ४ जना योद्धाको विभत्स हत्या गरियो ।

आमाको सिन्दूर पुछियो र भाइबैनी टुहुरा भए । साथीभाइका लागि शक्ति गुम्यो र फुपूहरूको माइती रित्तियो । परिवारका लागि जमिन भासियो । गाउँले अभिभावक गुमायो अनि गरिबहरूले बलियो काँध गुमाए ।

उपसंहार

सुन्दर सपना देखेर लामो संघर्षपछि देशमा लोकतन्त्र आएको पनि निकै वर्ष भइसक्यो ।

संविधानमा नै देश समाजवादउन्मूख भनी परिभाषित गरिएको छ । शान्ति प्रक्रियाबाट लोकतान्त्रिक गणतन्त्रको यो अवस्थासम्म आइपुग्दा आम नेपालीको अवस्था कस्तो छ, सोच्ने बेला भइसकेको छ । चारैतिरबाट लोकतान्त्रिक शक्तिमाथि प्रहार भइरहेको छ ।

युद्धमा घाइते भएका जिउँदा सहिदले अझै पनि शरीरभित्र गोली र छर्रा बोकेर हिँडिरहनु अनि भएको शक्ति पनि खण्डित र कमजोर हुँदै जानुले राम्रो कुराको संकेत गर्दैनन् । हामीहरू चुक्यौँ कि कतै, सोच्ने बेला भएको छ ।

नागरिकलाई दिइएका आश्वासन र वचनलाई पूर्ण पालन गर्न नसके सहिदको रगतले धिर्कार्ने छ । गरिबहरूको एकताबाट उठेको संघर्षबाट प्राप्त उपलब्धिलाई जोगाउन नसके भावी दिनमा हुन सक्ने वर्गीय संघर्षसमेत निराशामा परिणत हुनेछ ।

प्रकाशित मिति : २०८० पुस १ गते आइतबार