कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका–१० चटार बस्ने ४६ वर्षीय कालीप्रसाद थारू कोहलपुरमा घर तथा सार्वजनिक संस्थामा निर्माण गरिएका शौचालयको सेफ्टी ट्याङ्की सफा गर्ने काम गर्दै आइरहेका छन् । आफ्ना छोराछोरीको भविष्यका लागि भए पनि कालीप्रसादले यही कामलाई आफ्नो पेसा बनाएका छन् ।
उनले एक महिनामा करिब ८० वटासम्म घरको शौचालयको सेफ्टी ट्याङ्की सफा गरेका छन् । शौचालयको सेफ्टी ट्याङ्की सफा गर्ने कामबाट आम्दानी पनि राम्रो हुने उनी बताउँछन् । अहिले कोहलपुरमा शौचालयका सेफ्टी ट्याङ्की सफा गर्ने उनीजस्तै थुप्रै मानिस छन् ।
उनीहरू अहिले मेसिनबाट शौचालयको सेफ्टी ट्याङ्की सफा गर्छन् । कलिराम सेट्फी ट्याङ्कीमा भएको दिसाजन्य फोहोर समरसेलबाट ट्र्याक्टरको ट्रलीमा हाल्छन् र आफ्नो खेतमा बनाएको खाल्डोमा ल्याएर खन्याउँछन् । उनले यसरी आफ्नो खेतको खाल्डोमा ल्याएर खन्याएको दिसाजन्य लेदो सिधै कोहलपुर नगरपालिका–१२ मा रहेको डुडुवा खोलामा मिसिन्छ ।
यसले डुडुवा खोलाको पानीसँगै वातावरणमा समेत निकै असर पर्ने गरेको छ तर यसतर्फ भने सम्बन्धित निकायको ध्यान अझै जान सकिरहेको छैन । कोहलपुर नगरपालिकामा पछिल्लो समय बस्तीहरूको विकास हुँदै गइरहेको छ । कोहलपुर नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापन समयमै गर्न सकेन भने वातावरणसँगै मानव स्वास्थ्यमा समेत धेरै असर पार्ने देखिन्छ ।
शौचालयमा भरिएको सेफ्टी ट्याङ्कीको फोहोर कसरी व्यवस्थापन भइरहेको छ भन्ने बारेमा स्थानीय सरकारको चासोे र सरोकारको विषय अझै बन्न सकिरहेको छैन । शौचालयभित्रको फोहोर संकलन गरेर खुला ठाउँ, खेतबारीमा फाल्ने गरिएको छ । यसरी दिसाजन्य फोहोर खुला ठाउँमा फाल्दा नयाँनयाँ संक्रामक रोगहरू भित्रिन सक्ने खतरा हुन्छ तर यस विषयमा स्थानीय सरकारले खासै चासो देखाएकोे पाइँदैन ।
लामो समयसम्म सेफ्टी ट्याङ्कीमा दिसा स्टोर गरिने हुँदा त्यसमा विषाक्त किटाणुहरूको विकास हुने र त्यसलाई खुला ठाउँमा बिर्सजन गरिएमा मानव स्वास्थ्यमा प्रत्यक्ष रूपमा हानि गर्ने नेपालगन्ज मेडिकल कलेजका डाक्टर श्याम विक बताउँछन् ।
दिसाबाट ग्याससमेत उत्पादन हुन्छ ग्यासले फोक्सोमा असर गरेर फोक्सोसम्बन्धी समस्या आउने उनको भनाइ छ । ‘प्रदूषित हावाले मान्छेको फोक्सोमा असर ग¥यो भने कसैलाई त क्यानसरसमेत हुनसक्छ,’ डाक्टर विक भन्छन्, ‘शौचालयको सेफ्टी ट्याङ्कीमा राखेको दिसालाई खुल्लमखुला तरकारी बारीमा राख्दा हानिकार हुन्छ । यसलाई सकेसम्म मानवीय बस्तीबाट धेरै टाढा एकान्त ठाउँमा विर्सजन गर्नुपर्छ ।’
कोहलपुर नगरपालिकामा दिसाजन्य लेदोको व्यवस्थापन पछि गएर प्रमुख चुनौतीका रूपमा देखा पर्न सक्ने उनको भनाइ छ । अहिले धेरैले दिसाजन्य लेदो संकलन गर्ने काम गरिरहेका छन् । यसरी संकलन गरिएको फोहोर खुला ठाउँ, खेतबारी, डुडुवा खोला वा जंगलमा फोल्ने गरिएको छ ।
कोहलपुर नगरपालिका–१३ सिमरीमा दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण गर्ने भनेर गैरसरकारी संस्था लुमन्तीको सहयोगमा डिपिआर निर्माण गरिएको कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुबेदीले बताइन् ।
सिमरीमा रहेको प्रगतिशील सामुदायिक वनमा आगामी दिनमा प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरेर कोहलपुर नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापनका लागि ट्रिटमेन्ट प्लान्ट निर्माण गर्ने योजना रहेको सुवेदीले बताइन् ।
कोहलपुर नगर क्षेत्रमा बढ्दै गरेको जनसंख्या र अव्यवस्थित एवम् अनियन्त्रित सहरीकरणसँगै उत्पादन भएका फोहोरमैलाको जथाभावी विसर्जनका कारण सहरउन्मुख क्षेत्र तथा गाउँघरको वातावरण र जनस्वास्थ्यमा समेत असर गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्