8 September 2024  |   आइतवार, भदौ २३, २०८१

बाँसगढीमा बल्झियो चोक नामकरण विवाद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २२, २०८०  

‘काम नपाएका मान्छेले वाहियात विवाद गरिरहेको ठानेर चुप लागेको थिएँ, यसले समाजमा खासै नकारात्मक असर पनि गरिहालेको थिएन,’ बाँसगढी नगरपालिकाका मेयर खड्कबहादुर खड्का भन्छन्, ‘अब नगरपालिका चुप लागेर बस्दैन ।’

सनत सापकोटा । बाँसगढी ।

करिब दुई महिनाअघि बाँसगढी नगरपालिका वडा नम्बर ५ का विभिन्न स्थानमा चोकको नयाँ नामकरण गर्ने होड चल्यो । एक साताभित्रै राजमार्गमा चारवटा चोकका नयाँ नामकरण गरिए । चोक नामकरण स्थानीयबासीका लागि चर्चाको विषय बन्यो । चोक नामकरण गर्ने क्रमसँगै बाँसगढी बजारमा बहस र विवाद पनि बढ्दै गयो । जुन विवाद अहिले वडा हुँदै नगरपालिकासम्म पुगेको छ ।

बाँसगढीको मुख्य बजार क्षेत्र पर्ने यो वडाका एकपछि अर्को चोकलाई आ–आफ्नो अनुकूलता अनुसार नामकरण गर्ने काम हुँदै गएको थियो । चोेकवरपर घर भएका स्थानीयको पहलमा चोकका नयाँ नामकरण भएका थिए । यो क्रम सायद बढ्दै जान्थ्यो होला । अन्य चोकका मानिस पनि आ–आफ्नो घरवरपरको चोकलाई नयाँ नाम दिने सुरसारमा रहेकै बेला वडा कार्यालयले यो कार्यमा रोक लगाउने प्रयास
ग¥यो ।

५ नम्बर वडा कार्यालयले वडा समितिको बैठकबाट यसरी मनपरी चोकको नामकरण गर्ने कार्य बन्द गर्नुपर्ने भन्दै मंसिर ८ गते बोर्ड हटाउने निर्णय ग¥यो । तर बोर्ड हटाउने निर्णय कार्यान्वयन गर्न भने सकेन । स्थानीयको विरोधका कारण वडाले आफ्नो निर्णय कार्यान्वयन गर्न नसकेको हो । ‘नगरपालिकाको निर्देशन बमोजिम हामीले निर्णय गरेका थियौँ,’ बाँसगढी नगरपालिका–५ का वडाध्यक्ष दहवा थारूले भने, ‘तर निर्णय कार्यान्वयनका लागि बाँसगढी चोकमा जाँदा त्यहाँका केही स्थानीयले बोर्ड हटाउन दिएनन् ।’

नगरपालिकाका केही कर्मचारी र दुई जना प्रहरीसहित वडाध्यक्ष थारू नयाँ बोर्ड हटाउनका लागि बाँसगढी चोकमा पुगेका थिए । तर सो चोकवरपरका केही घरवालाहरूले बोर्ड हटाउन नदिएको उनले बताए । ‘३०–४० जना स्थानीय आएर बोर्ड हटाउने कुराको विरोध गरे,’ वडाध्यक्ष थारूले भने, ‘विवाद बढ्दै जाँदा मुठभेड होला भनेर हामी पनि त्यत्तिकै फर्कियौँ ।’

नयाँ बोर्ड हटाउने कुराको विरोध जनाउनेमा स्थानीय सर्वसाधारण मात्र नभएर नगरपालिकाका केही जनप्रतिनिधिसमेत रहेको दहवाले संकेत गरे । ‘उहाँहरू प्रत्यक्ष आफैँ अगाडि आएर विरोध त गर्नुभएन,’ उनले भने, ‘तर उहाँहरूका परिवारका सदस्य वा आफन्तहरू त्यहाँ उपस्थित थिए ।’ बाँसगढी चोकलाई किसान चोकमा परिणत गरिँदा के हेरेर बसेको र अहिले यहाँ बोर्ड हटाउन आएको ? भन्दै स्थानीयले विरोध जनाएको उनले बताए । स्थानीयको तीव्र विरोधपछि आफूहरू त्यहाँबाट त्यत्तिकै फर्किएको दहवाको भनाइ छ ।

जसले पायो उसले मनपरी ठाउँको चोकको नामकरण गर्दै जानु अनुचित भएको वडाध्यक्ष दहवाको भनाइ छ । ‘भोलि मेरो घरअगाडि मैले कुनै नामको चोक राखिदिउँला के त्यो अरू सबैलाई मान्य हुन्छ ?’ उनले प्रश्न गर्दै भने ।

आफ्नो निर्णय कार्यान्वयन गर्न नसकेपछि वडाध्यक्ष्य दहवाले नगरपालिकालाई गुहारेका छन् । उनले बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्कबहादुर खड्कालाई एउटा पत्र लेख्दै नगरपालिकाले नै सो कामको जिम्मेवारी लिन आग्रह गरेका छन् ।

वडाध्यक्ष दहवाले स्थानीयको अवरोधका कारण बोर्ड हटाउन नसकिएको र नगरपालिकाले नै पहल गर्नुपर्ने भन्दै मंसिर २० गते मेयरलाई पत्र पठाएका हुन् ।

सो कार्य बन्द गर्नका लागि अब आफूले पहल थाल्ने बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्कबहादुर खड्काले बताए । चोक नामकरणको विवाद बेतुकको विवाद भएको उनको भनाइ छ । ‘मानिसहरू काम पाउँदैनन् र यस्ता फाल्तु काममा रुमल्लिरहेका छन्,’ उनले व्यङ्ग्य गर्दै भने, ‘नाम राख्दैमा हुने भए वासिङ्टन नै राखिदिउँ न हुन्न ?!’

यस्ता फाल्तु विवाद झिकेर समय बर्बाद गर्नुभन्दा विकास निर्माणका काममा नगरपालिकासँग हातेमालो गर्न उनले स्थानीयलाई आग्रह गरे ।
यो अर्थपूर्ण काम नभएकाले नै आफू अहिलेसम्म चुप लागेर बसेको उनले बताए । ‘काम नपाएका मान्छेले वाहियात विवाद गरिरहेको ठानेर चुप लागेको थिएँ, यसले समाजमा खासै नकारात्मक असर पनि गरिहालेको थिएन,’ उनले भने, ‘अब नगरपालिका चुप लागेर बस्दैन ।’ यस विषयमा नगरपालिकाले चाँडै नै एउटा निर्णय लिने उनले बताए ।

यो विवादमा नगरपालिकाकै कतिपय वडाध्यक्षहरू पनि सामेल रहेको आरोप लाग्ने गरेको छ । खनाल चोक वा खानेपानी चोकको नाम परिवर्तन गरेर बाँसगढी चोक राख्ने कुरामा उनीहरू सक्रिय रहेको बाँसगढीका स्थानीयको भनाइ छ । यही चोकका बासिन्दा भएका कारण उनीहरूकै पहलमा पुरानो चोकलाई नयाँ नामकरण गर्दै बाँसगढी चोक राखिएको उनीहरू बताउँछन् ।

यसअघि शालिकराम अधिकारी नगर प्रमुख भएका बेला बाँसगढी बजारको मुख्य चोकलाई किसान चोक नामकरण गर्दै चोकको बीचमा किसानले हलो जुवा बोकिरहेको एउटा मूर्ति स्थापना गरिएको छ । त्यसअघि त्यही चोकलाई मानिसहरूले बाँसगढी चोकको रूपमा चिन्थे ।

त्यहाँ नगरपालिकाकै पहलमा नयाँ नामकरण भएको थियो । ‘हामीले संस्थागत निर्णय गरेर त्यहाँ हलो बोकिरहेको किसानको मूर्तिसहित चोकको नयाँ नामकरण गरेका हौँ,’ बाँसगढी नगरपालिकाका पूर्वमेयर अधिकारी भन्छन्, ‘यो काम सर्वदलीय सहमतिमा भएको थियो ।’

तर अहिले त्यसैलाई आधार बनाएर आ–आफ्नो अनुकूलता अनुसार स्थानीयहरूबाट चोकैपिच्छे नयाँ नाम राख्ने काम भइरहेको छ । ‘बासँगढी चोकको पुरानो विरासत लिनका लागि अहिले केही व्यक्ति यसरी लागिरहेका छन्,’ एक जना स्थानीय भन्छन् ।

अहिले धेरैका लागि आपत्तिको विषय पनि यही चोक बनिरहेको छ । नगरपालिकाको नाम र हिजोको मुख्य चोक बाँसगढी नै भएकाले यो नामसँग धेरैको मोह जागेको हुन सक्छ ।

हिजोको बाँसगढीको मुख्य चोक किसान चोकमा परिणत भइसकेकाले यो चोकलाई बाँसगढी चोक नामकरण गर्दा कसैले आपत्ति जनाउनु नपर्ने ‘बाँसगढी चोक’को नयाँ नामकरण गर्नेहरूको भनाइ छ ।

अहिले राजमार्गका दुई–तीन सय मिटरको दूरीमा चोकका नयाँ नामकरण भएका छन् । किसान चोकको पश्चिममा दुई अढाई सय मिटरको दूरीमा ‘बाँसगढी चोक’ छ । त्यसैगरी किसान चोकको पूर्व त्यति नै दूरीमा रहेको चोकलाई ॐ चोक र त्योभन्दा पनि पूर्व रहेको चोकलाई बुद्धचोक नामकरण गरिएको छ । त्योभन्दा अझ पूर्वमा छ, एसओएस चोक, जुन पहिलेदेखि नै नामकरण गरिएको हो ।

चोक नजिकका दुई–चार जनाको स्वार्थ मिल्यो भन्दैमा हचुवाका भरमा नामकरण गर्न नहुने अध्यक्ष दहवा बताउँछन् । ‘पालिकाभित्रका कुनै स्थानको नामकरण गर्नुपर्ने भए वडा वा नगरले निर्णय गर्छन्,’ उनले भने, ‘कुनै व्यक्ति वा निश्चित समूहलाई त्यो अधिकार छैन ।’ कुनै पनि ठाउँको नामकरण गर्दा विधिसम्मत तरिकाले सबैलाई मान्य हुनेखालको हुनुपर्ने वडाध्यक्ष दहवाको बुझाइ छ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २२, २०८०     8:52:36 AM  |