महिलाहरूले आफूमाथि हिंसा भएको भन्दै उजुरी दिनेक्रम बढ्दा पुरुषहरूले समेत हिंसा भएको भन्दै उजुरी दिने क्रममा बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म घरेलु हिंसामा परेको भन्दै ३ सय ३२ वटा उजुरी परेका छन्, जो महिलाहरूले दिएको उजुरी हो । यसै अवधिमा ४० जना पुरुषले समेत आफू अन्यायमा परेको भन्दै उजुरी दिएका छन् ।
नेपालगन्ज ।
महिलामाथि हुने हिंसा हाम्रो समाजको सबैभन्दा कुरुप पक्ष हो । तर अहिले पुरुषले समेत आफूमाथि हिंसा भएको भन्दै उजुरी दिन थालेका छन् । तर पुरुषको तुलनामा महिलामाथि हुने हिंसाको प्रकृति गम्भीर प्रकारका मात्रै छैनन् संख्या पनि अत्यधिक छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मंसिर महिनासम्म घरेलु हिंसामा परेको भन्दै ३ सय ३२ वटा उजुरी परेका छन् जो महिलाहरूले दिएको निवेदन हो । यसै अवधिमा ४० जना पुरुषले आफू अन्यायमा परेको भन्दै उजुरी दिएका छन् ।
‘अधिकांश हिंसामा परेका उजुरीहरू महिलाको तर्फबाट आउने गरेका छन्,’ महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्ट भन्छिन्, ‘कतिपय अवस्थामा पुरुषको तर्फबाट पनि उजुरी आइरहेका छन् ।’
तर महिलामाथि हिंसा गर्ने सामाजिक चरित्र नै भएका कारण पुरुषले दिने उजुरीको तुलनामा महिलाको संख्या अत्यधिक रहेको छ । हिंसामा परेको भन्दै उजुरी दिने महिलाहरू (उजुरी फिर्ता) होस्टायल हुने समस्या पनि उत्तिकै हुने गरेको पाइएको छ । जिप्रका बाँकेका अनुसार निवेदन दिइसकेपछि कतिपय निवेदनकर्ताहरू सम्पर्कमा आउँदैनन् ।
प्रतिशोध साँध्नका लागि उजुरी दिने र त्यसपछि उस्तै नगर्ने प्रवृत्तिसमेत बढ्दै गएको छ । तर सबैमा त्यस्तो नहुने भएकाले हिंसासँग जोडिएका घटनालाई सूक्ष्मरूपले गम्भरितापूर्वक अनुसन्धान गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगी बताउँछन् । उनी भन्छन्, ‘हिंसाका घटनालाई गम्भीरताूर्वक अनुसन्धान गर्दै आएका छौं । यो सवालमा प्रहरी सचेत र सजग छ ।’
सरोकारवाला पक्षसँगको सहकार्यमा आइतबार नेपालगन्जमा लैङ्गिक हिंसाका विरुद्ध एवं अल्पंख्यकसँग प्रहरी विषयक अन्तरक्रिया आयोजना गरिएको छ । उक्त अन्तरक्रियामा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले समाजमा रहेको लैङ्गिक हिंसाका घटनालाई सबै मिलेर परास्त गर्नुपर्ने बताए । उनले हिंसाका घटनालाई प्रहरी, प्रशासनले गम्भीरतापूर्वक लिने भएकाले त्यस घटनाबाट पीडित भएकालाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने बताए ।
त्यसैगरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराले हिंसा नियन्त्रणका लागि समाजका सबै तह र तप्का लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘हिंसाका घटनाका गम्भीरतापूर्वक अनुसन्धान गरी पीडितलाई न्याय र पीडकलाई सजाय दिने वातावरण निर्माण गर्न हामी लागिपर्छौं । तर त्यस्ता घटना नै हुन नदिन सबै लाग्नुपर्छ ।’