नेपालगन्ज ।
प्लास्टिकको चामल नहुने पुष्टि भइसके पनि यसका बारेमा आउने उजुरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका कर्मचारी हैरान बनेका छन् । चालु आवमा केही उजुरी आएको कार्यालयले जनाएको छ । प्लास्टिकको चामल नहुने भए पनि भ्रम रहेको कार्यालय प्रमुख अमित भूषण सुमनले जानकारी दिए ।
उनले भने, ‘प्लास्टिकको चामल हुँदैन भन्ने पुष्टि भइसकेको छ तर यसका बारेमा कतिपयमा भ्रम रहेको पाइएको छ ।’ चामल भन्दा महँगो हुने हुँदा व्यावसायिक दृष्टिबाट पनि कसैले पनि प्लास्टिकको चामल बनाउन नसक्ने उनको भनाइ छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले ३ महिनाको अवधिमा १ सय १ पटक विभिन्न प्रकारका खाद्य व्यवसाय अनुगमन गरेको र उपभोग्य मिति सकिएको, लेवल विवरण नभएको तथा अन्य कैफियत देखिएका खाद्य वस्तुहरू लगभग ७० हजार २ सय ७० रुपैयाँबराबरको जफत गरी नष्ट गरेको छ ।
प्रयोगशालामा ८ सय ५ वटा खाद्य तथा दाना नमुना विश्लेषण भएकोमा ४२ वटा नमुनामा कैफियत देखिएको थियो । खाद्य अनुसन्धान अधिकृत रामहरि लामिछानेले वित्तीय विवरण प्रस्तुत गर्दै कार्यालयको वित्तीय प्रगति ३६.६१ प्रतिशत, भारित प्रगति ५२.८८ प्रतिशत र राजस्व संकलन ९ लाख ९ हजार १ सय १० रुपैयाँ रहेको जानकारी दिए ।
उनले प्रगति कम हुनुको कारण भाद्र अन्तिममा मात्र बजेट प्राप्त भएको र दरबन्दी अनुसार कर्मचारी नभएको बताए ।
उपभोक्ता हित संरक्षण मञ्चका सचिव प्रभातकुमार ठकुरीले यस कार्यालयले खाद्य स्वच्छताको क्षेत्रमा राम्रो काम गरेको भए पनि बजारमा अस्वच्छ तथा कम गुणस्तरका सामानको बिगबिगी रहेको पाइएकाले आगामी दिनमा कार्यालयले अझै प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरन्जीवी ओलीले उपभोक्ताले गुणस्तरीय वस्तु प्राप्त गर्नुपर्नेमा आफूहरू सधैँ सजग रहेको र नियमनकारी निकायले गर्ने अनुगमनमा सहजीकरण गर्ने बताए ।