अब वडामा पालिकाबाट आउने सिलिङको बजेट हुन्छ जुन पर्याप्त हुँदैन । संघ र प्रदेशसँग अनुरोध गरेर मेरो वडाका विद्यालयलाई टिनका छाना मुक्त बनाउने योजनामा म छु । यस विषयमा संघ र प्रदेशका सांसदसँग मैले कुरा पनि गरिसकेको छु ।
शालिकराम डाँगी
वडाध्यक्ष
राप्ती सोनारी गाउँपालिका– ८
१. तपार्ईंको वडा सिक्टा सिँचाइबाट बढी लाभान्वित हुनसक्ने वडामा पर्छ । सिक्टा सिँचाइको कुरा अहिले कहाँ पुगेको छ ?
सिक्टा सिँचाइबाट अझै सिँचाइ सुविधा उपलब्ध हुन सकेको छैन । पहिलाको सरकारसँग के कुरा भएका थिए त्यो मलाई थाहा भएन ।
तर जब म आएँ मैले सिक्टाको त्यो लिफ्ट सिँचाइभन्दा ठोरिया कुलो चलाउनुपर्ने कुरामा जोड दिएको छु । यसले बाँके राष्ट्रिय निकुञ्जलाई पनि टेवा दिने र यो वडाका ओभरी, पेरानी र धर्मौती तीन गाउँका जमिनमा सिँचाइ पुग्ने थियो ।
मैले आयोजनासँग पनि यही कुरा राखेको छु । अहिले सिक्टा सिँचाइमा नयाँ हाकिमसाब आउनुभएको छ । उहाँले ल म जसरी भए पनि ठोरियाबाट नै किसानहरूलाई पानी उपलब्ध गराउँछु भनेर प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
२. सिक्टाबाट भन्दा कुलोबाट सिँचाइ राम्रो हुने कारण के छ ?
सिक्टाबाट लिफ्ट सिँचाइ गर्नुपर्छ । लिफ्ट सिँचाइ गर्दा किसानहरूलाई विद्युत चार्ज तिर्नुपर्ने हुन्छ । यो महँगो पनि पर्ने रहेछ । तर ठोरियाको कुलो चलाइदियो भने परम्परागत रूपमा २०२२ सालदेखि किसानले सिँचाइ गर्दै आएको कुलोबाट सहज रूपमा सिँचाइ गर्न पाउँछन् ।
कुनै महसुलको भार पनि किसानलाई पर्दैन । बलियो मुहान बन्यो भने यहाँका किसानलाई लिफ्ट सिँचाइभन्दा ठोरियाको सिँचाइ भरपर्दो र महत्वपूर्ण छ ।
३. यसले वडाका सबै क्षेत्रलाई समेट्न सक्छ ?
यो वडाका बालापुर र नयाँ गाउँ छुट्छन् । बाँकी क्षेत्रमा भने यो कुलोबाट सिँचाइ सुविधा पुग्छ ।
४. सबै वडालाई सिँचाइ सुविधा कसरी पु¥याउने त ?
बालापुरलाई सिक्टाले लिफ्ट सिँचाइ दिने योजना बनाइसकेको छ ।
नयाँ गाउँको सन्दर्भमा भने ९ नम्बर वडाको लिफ्ट सिँचाइबाट सुविधा पु¥याउनुपर्ने हुन्छ । अरू तीनवटा गाउँलाई भने ठोरियाबाटै सिँचाइ हुन सक्छ ।
५. यहाँको वडा बाँके राष्ट्रिय निकुञ्जभित्र पनि पर्छ । राष्ट्रिय निकुञ्जबाट यहाँहरूलाई सकारात्मक/नकारात्मक कस्तो असर परिरहेको छ ?
बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि यहाँका जनतामा सकारात्मक प्रभाव परेको मैले पाएको छु । यहाँ उत्पादन भएका कृषिजन्य बस्तु बेचबिखनका लागि टाढा जानुपरेको छैन ।
अर्कोतिर निकुञ्जअन्तर्गत मध्यवर्ती समिति छ जसमार्फत यहाँका जनताका लागि विभिन्न किसिमका कार्यक्रमहरू आइरहेका छन् ।
यसले जनतालाई फाइदा नै पुगेको छ । समग्रमा हेर्दा वन्यजन्तुको प्रकोप बढेकाले मानिसहरूमा तनाव छ ।
तर हाम्रो क्षेत्रमा सुरुवातदेखि नै राष्ट्रिय निकुञ्जप्रति मानिसहरू पोजेटिभ भएकाले त्यति अप्ठेरो छैन । अब स्थानीयबासीले कस्तो महसुस गर्नुभएको छ त्यो त थाहा छैन तर जनप्रतिनिधिका हिसाबले निकुञ्जले यहाँका जनतालाई टेवा पुगेको मैले महसुस गरेको छु ।
६. राष्ट्रिय निकुञ्ज बनेपछि विभिन्न देशी/विदेशी पर्यटक आउँछन् भन्ने आँकलन गरिएको थियो । आएका छन् त ? कस्तो अनुभव छ ?
त्यो उपलब्धि अझै हासिल गर्न सकिएको छैन । पर्यटकहरूलाई आकर्षित गर्न भने सकिएको छैन ।
७. यसको कारण के त ?
त्यो नहुनुको कारण निकुञ्जका चिफ वार्डेनहरूको समन्वय र सकार्यक कम हुनु हो जस्तो मलाई लाग्छ । भित्र कोर एरियामा टुरिस्ट जाने सबै वातावरण मिलाइएको छ तर चिफ वार्डेनले समन्वय नगरिदिँदा पर्यटकलाई घुमाउने वातावरण मिलेको छैन ।
अहिले मनोज शाह भन्ने नयाँ वार्डेनसाब आउनुभएको छ । उहाँसँग म एकपटक बसेँ । उहाँले पर्सामा मैले पर्यटनको विकास गरेर आएको छु । यहाँ पनि पर्यटनलाई लक्षित गरेर काम गर्छु भन्नुभएको छ ।
८. अहिलेसम्म निकुञ्जभित्र बस्ने व्यापारीहरूले बाह्य पर्यटक देख्न पाएका छैनन् ?
छैनन् । अब एकादुई कतैबाट आएको भए त्यसको कुनै तथ्यांक छैन । तर चितवन, बर्दिया राष्ट्रिय निकुञ्ज जस्तो विदेशी वा स्वदेशी पर्यटक आउने अवस्था यहाँ छैन ।
९. भनेपछि यसको प्रचारप्रसार पनि त्यति भएको छैन ?
प्रचारप्रसारमा कमजोरी छ । जति प्रचारप्रसार भयो त्यति प्रभावकारी हुने हो । तर हामीले प्रचारप्रसारमा जोड दिन सकेका छैनौँ । निकुञ्ज, मध्यवर्ती समिति र स्थानीय सबै पक्षबाट पर्यटक आकर्षित गर्ने विषयमा गम्भीर छलफल हुन सकेको छैन ।
१०. राष्ट्रिय निकुञ्ज क्षेत्रका जनता वन्यजन्तुबाट निकै पीडित हुने गरेका गुनासा सुनिन्छ । यसमा निकुञ्जको भूमिका कस्तो रहने गरेको छ ?
मैले हिजो मात्र सुनेको छु– यदि बँदेल किसानको बारीमा गयो भने मार्न पाउने प्रावधान राखिएको छ । यसरी मारिएको बँदेल रोयल्टी तिरेर किसानले उपभोग गर्न पाउँछन् । यसको कानुनी प्रबन्ध गरिएको भन्ने सुन्नमा आएको छ ।
हाम्रो क्षेत्रमा पहिलेपहिले बालापुर र ओभरीमा चितुवाले सताउने गथ्र्यो । बानियाभार र बालापुरमा घाँस काट्न वनमा गएका महिलालाई बाघले आक्रमण गरेर मारेको पनि थियो । तर पछिल्लो दुई–अढाई वर्ययता यहाँ बँदेल पनि पसेको छैन । चितुवा र बाघको पनि कुुनै प्रकोप सहनुपरेको छैन ।
तर यतिबेला यहाँ बाँदरले दुःख दिन थालेको छ । बाँदरले किसानका बालीनाली नष्ट गर्ने गरेको गुनासो सुनिन्छ । बाँदरलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरामा निकुञ्जसँग समन्वय गरेर काम गर्छौं ।
११. शिक्षा क्षेत्रमा यहाँको वडा कसरी अगाडि बढेको छ ?
मेरो वडामा ३ वटा सरकारी स्कुल छन् । दुई वटा निजी स्कुल छन् । यहाँ भएका यिनै ५ वटा स्कुल हुन् । यी पाँचवटै स्कुलमा अन्यत्रका तुलनामा राम्रो गुणस्तर कायम छ । म आएपछि अनुगमन गर्दा कुनै पनि स्कुलमा शिक्षामा कमजोर अवस्था भएको पाएको छैन ।
१२. ती विद्यालयहरूमा भौतिक संरचनाहरू र जनशक्ति (शिक्षक)को कत्तिको पर्याप्तता छ ?
शिक्षकको अभाव त खासै छैन । दुई वटा विद्यालयमा खानेपानी पनि पर्याप्त छ । बालापुर स्कुलमा भने खानेपानीको अलिकति समस्या छ । धारो गाडे पनि पानी राम्रो नआएकाले त्यहाँ पानीको समस्या भएको हो ।
अन्य भौतिक संरचनामा पनि कुनै कठिनाइ व्यहोर्नुपर्ने अवस्था छैन । सबै विद्यालय खरका छानाबाट त पहिले नै मुक्त छन् । अब विद्यालयहरूलाई टिनका छानामुक्त बनाउने प्रयासमा हामी छौँ । बालापुरमा दुई वटा टिनको छाना मुक्त गर्नु छ ।
ओभरीमा पनि दुईटा टिनका छाना छन् । शिवशक्ति मावि टिनको छानामुक्त भइसकेको छ । सबै विद्यालयमा टिनको छाना मुक्त बनाएर पक्की संरचना निर्माण गर्ने अभियानमा हामी लागेका छौँ ।
१३. वडामा शिक्षा क्षेत्रको सुधारका लागि विशेष कस्ता योजना अगाडि सार्नुभएको छ ?
अब वडामा पालिकाबाट आउने सिलिङको बजेट हुन्छ जुन पर्याप्त हुँदैन । संघ र प्रदेशसँग अनुरोध गरेर मेरो वडाका विद्यालयलाई टिनका छाना मुक्त बनाउने योजनामा म छु । यस विषयमा संघ र प्रदेशका सांसदसँग मैले कुरा पनि गरिसकेको छु ।
१४. यहाँको वडाको विकासका लागि संघ र प्रदेशका सांसदहरूले कत्तिको अभिरुचि राख्ने गरेको पाउनुभएको छ ?
मेरो क्षेत्रमा प्रदेश माननीय दुर्गा चौधरी हुनुुहुन्छ । त्यसैगरी संघको माननीय सूर्य ढकाल हुनुहुन्छ । उहाँहरू दुवै जनासँग मैले समन्वय गरिरहेको छु । उहाँहरूले पनि राम्रै आश्वासन दिनुभएको छ । उहाँहरूले ठोस योजना नै त केही दिनुभएको छैन ।
सांसद कोषको पैसा पनि अदालतका कारण रोकिएको भन्ने सुन्नमा आएको छ । उहाँहरूले प्रतिबद्धता चाहिँ व्यक्त गर्नुभएको छ । संघीय सांसदले यो वडाका बाटा पक्की बनाउने वचन दिनुभएको छ । त्यसैगरी सांसद दुर्गा चौधरीले पहिला गर्दागर्दै बाँकी रहेका योजनालाई पूर्र्ण गर्ने बताउनुभएको छ ।
१५. निर्माणाधाीन पूरा हुन नसकेका त्यस्ता योजना के के छन् ?
एउटा त कालिमाटी देउती बज्यैको मन्दिर छ । त्यसैगरी विद्यालयलाई टिनका छाना मुक्त गर्नुपर्ने छ ।
१६. अहिले तपाईंको वडाका सबैभन्दा बढी चुनौती के हो ?
स्थानीयबासीको जोड त नाली र बाटोमै छ । तर हाम्रो प्राथमिकता भनेको शिक्षा र स्वास्थ्यमा हो । त्यसैगरी मैले खानेपानीलाई पनि आफ्नो प्राथमिकतामा राखेको छु । खानेपानीका लागि पोहोर ४ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
अहिले पनि त्यति नै रकम छुट्याइएको छ । स्वास्थ्यमा यहाँ एउटा बर्थिङ सेन्टर बनाउनुपर्नेछ । त्यसपछि सिँचाइको व्यवस्था गर्न म लागिपरेको छु । ठोरियाको कुलो सञ्चालन गर्ने काममा म यतिबेला लागेको छु ।
१७. अहिले धेरै ठाउँहरूमा लागूऔषध दुव्र्यसनीको समस्या देखिने गरेको छ । यहाँको वडामा लागूऔषध दुव्र्यसनीको अवस्था कस्तो छ ?
त्यस्तो बिगबिगी चाहिँ छैन । तर दुई–चार जना केटाहरू यस्तो कुलतमा फसेका छन् भन्ने सूचना मैले पाएको छु । अब मदिरा चाहिँ रोक्न गाह्रो छ ।
तर अन्य लागूऔषधको प्रयोग त्यति छैन । र, भएकोलाई पनि सुधार गर्ने योजनामा हामी छौँ । मैले प्रहरी प्रशासनलाई पनि स्पष्ट रूपमा भनेको छु, त्यस्ता व्यक्तिलाई नहिच्किचाई कारबाही गर्नुस् ।