यस वर्ष जिल्लाभर १ लाख ५३ हजार ३ सय मेट्रिक टन धान उत्पादनको अनुमान गरिएको छ । गतवर्ष १ लाख ३३ हजार ५ सय ३३ मेट्रिक टन धान उत्पादन भएको थियो । बाँकेमा प्रतिहेक्टर उत्पादकत्वसमेत गत वर्षभन्दा बढेको छ । गत वर्ष प्रतिहेक्टर धानको उत्पादकत्व ३.८ रहेकोमा यस वर्ष वृद्धि भई ४.२ हुने अनुमान गरिएको छ ।
कमल डाँगी । नेपालगन्ज ।
बाँके जिल्लामा यस वर्ष धान उत्पादनमा उत्साहजनक वृद्धि हुने अनुमान गरिएको छ । आवश्यक वर्षा भएको, बाढी प्रकोपको समस्या नभएको मात्रै नभई सिक्टा सिँचाइ आयोजनाको पानी खेतसम्म पुगेका कारण धान उत्पादन वृद्धि हुने अनुमान गरिएको हो ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीका अनुसार यस वर्ष जिल्लाभर १ लाख ५३ हजार ३ सय मेट्रिक टन धान उत्पादनको अनुमान गरिएको छ । बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिएको थियो ।
गत वर्ष ३३ हजार ५ सय ३३ हेक्टरमा खेती भएकोमा १ लाख ३३ हजार ५ सय ३३ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । उक्त वर्ष नरैनापुर गाउँपालिकामा करिब ३५ हेक्टरमा सुक्खाका कारण खेती हुन सकेको थिएन ।
‘यो वर्ष आवश्यक वर्षा भइरह्यो । धान रोप्दा होस् वा काट्दा बाढी आएर नोक्सान गरेन,’ कृषि अर्थविज्ञसमेत रहेका सूचना अधिकारी केसीले भने, ‘सिक्टा सिँचाइ आयोजनाले पनि नहरमा पानी छाडेका कारण सिँचाइको व्यवस्था भयो । यी कारणले धान उत्पादन वृद्धि भएको हो ।’
केसीका अनुसार अधिकांश कृषकले खेतबाट धान काटेर घरमा भित्र्याइसकेका छन् तर अझै केही ठाउँमा काट्न बाँकी छ । केसी भन्छन्, ‘काला नमकजस्ता धान भित्र्याउन बाँकी छ ।’ बाँकेमा प्रतिहेक्टर उत्पादकत्वसमेत गत वर्षभन्दा बढेको छ । गत वर्ष प्रतिहेक्टर धानको उत्पादकत्व ३.८ रहेकोमा यस वर्ष वृद्धि भई ४.२ हुने अनुमान गरिएको छ ।
बाँके र बर्दिया जिल्लालाई धानको भण्डारसमेत भनिन्छ । पर्याप्त मात्रामा धान उत्पादन हुने भएका कारण धानको भण्डार भनिएको हो । आकाशेपानीको भरमा खेती किसानी गर्दै आएका कृषकलाई बेलाबखत आउने बाढीले धानबालीमा नोक्सानी पु¥याउँछ । यसपटक भने बाढी पनि नआएको र सिँचाइ तथा आकाशेपानी पनि परेका कारण धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो ।