शिवु खनाल । दाङ ।
दाङको राजपुर गाउँपालिका–७ मनौरा नाका निवासी प्रेमबहादुर घर्तीमगरको खेतमा छरेको तोरीको फल लाग्ने बेला बोट सुक्दै गएको छ । उनको खेतमा सिँचाइ सुविधा छैन । तोरी छरेदेखि पर्याप्त पानी परेन । जसका कारण फल लाग्ने बेला बोट सुक्दै गयो ।
‘यसपालि रहर गरेर छरेको तोरी खडेरीले खाइदियो,’ उनले भने, ‘सिँचाइ अभावमा हिउँदे बाली नसप्रिएपछि अर्काे वर्षदेखि गहुँ बाली लगाउने मनस्थिति बनाएको छु ।’
सोही ठाउँ निवासी तिर्सना घर्तीको एक बिघा जमिन पनि बाँझो छ । उनले गहुँ लगाउनका लागि सो जग्गा बाँझै छाडेको बताइन् । पानीको अभावमा आफूले गहुँ बालीमात्र लगाउने गरेको बताइन् ।
‘गहुँ राम्रै फल्छ । तर हिउँदमा आकाशेपानीको भर हुँदैन,’ उनले भनिन्, ‘सिँचाइ अभावका कारण विगतमा अन्य बालीबाट जोताइ, मल र बिउकै खर्च उठाउन नसकेपछि गहुँ मात्रै लगाउने गरेका छौँ ।’ गाउँमा उत्पादन नहुँदा दैनिक उपभोग्य सामग्री छिमेकी राष्ट्र भारतमा भर पर्नुपरेको उनको भनाइ छ ।
राजपुर गाउँपालिका–७ मनौरा नाकामा ४० घरधुरीमध्येका करिब ५० बिघा खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा छैन ।
सिँचाइ सुविधा भएका सीमावर्ती क्षेत्रका विभिन्न गाउँमै मकै, गहुँ, तोरी, अडहर, कपास, बदामलगायतको खेती हुन्थ्यो तर, सिँचाइको सुविधा नहँुदा सबै खेतीयोग्य जमिन बाँझा छन् । यहाँ सिँचाइको सुविधा नहुँदा आकाशेपानीको भरमा खेतिपाती गर्ने बाध्यता रहेको राजपुर गाउँपालिका–७ भौवा नाका निवासी श्यामबहादुर झाँक्रीले बताए ।
उनले भने, ‘घरमै मोटर भएका स्थानीयले खोलाको पनि तानेर सिँचाइ गरी खेतिपाती गर्ने गरेका छन्, मोटर नहुनेले आकाशेपानीको भरमा वर्षमा एकपटक मात्रै खेतिपाती गर्ने गरेका छन् ।’
राजपुर गाउँपालिका–७ डगमारा नाका निवासी बलबहादुर रानाले जमिन सिँचाइ अभावकै कारण वर्षमा ७ महिना खेत बाँझो हुने बताए । तीन बाली उब्जनी हुने जमिनमा सिँचाइ नहुँदा गहुँ बाली मात्रै लगाउने गरिएको उनले दुखेसो पोखे । उनले भने, ‘बेलैमा वर्षा भए केही किसानले गहुँ पनि छर्छन् । तर आकाशबाट पानी नपरे लगानी पनि नउठ्ने चिन्ता हुन्छ ।’
यो समस्या वडा नम्बर ७ का किसानको मात्रै होइन । सीमावर्ती क्षेत्रका सबै नाकाका अधिकांश किसानले भोग्दै आएको साझा समस्या हो ।
राजपुर गाउँपालिका–७ मनौरा नाका र भैसाहीँ नाकालाई लक्षित गरी मनौरा ड्याम बनाउने योजना रहे पनि यो सुरु भएको छैन ।
‘अब छिट्टै यस योजनालाई अगाडि बढाइनेछ,’ वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले भने । ड्याम निर्माण गरी मनौरा, भैसाहीँ, स्यानी मनौरा र भौवा नाकासम्म सिँचाइको सुविधा पु¥याउने लक्ष्य रहेको वडाध्यक्ष वलीले बताए ।
उनले त्यसका लागि संघ, प्रदेश र चुरेसँग समन्वय गरिरहेको जानकारी दिए । यसअघि सिँचाइका लागि वडाको बजेटबाट ट्यांकी निर्माणका लागि ४ लाख र पाइव विस्तारका लागि ३ लाख ४० हजार बजेट विनियोजन गरिएको उनले बताए ।
स्थानीय समाजसेवी अमर कवर (नवीन)ले वर्षको एकपटक मात्र बालीनाली पाक्ने सीमा नाकाका गाउँमा सिँचाइका लागि दिगो आयोजना निर्माण गर्नु आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्