उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन



काठमाडौं ।

मिथिलाञ्चल मूल थलो भएकाहरूले सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गरेका छन्।

पूजाका लागि नदी, तलाउ किनारमा बनाइएका छठघाटमा उनीहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन्। यसअघि आइतबार अपराह्न व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ्य दिएका थिए।

छठका व्रतालुले कार्तिक शुक्ल षष्ठीको अपराह्न अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ। यसलाई व्रतालुको भाषामा पारन भनिन्छ।

छठमा विशेषगरी सूर्य र छठी माताको पूजाआराधना गर्ने परम्परा छ। विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख–समृद्धि प्राप्त हुने र छालाका रोग नाश हुने विश्वास गरिन्छ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर ४ गते सोमबार