निगमको बाँकेमा रहेको मूल्यवान जग्गा प्रयोगविहीन



बाँकेको नेपालगन्ज, मनिकापुर र खजुराको सोनपुरमा निगमको जग्गा छ । यीलगायत देशभर रहेको निगमको जग्गा र भवनको मूल्य उच्च रहेकाले त्यसलाई आयआर्जनमा लगाउन नेपाल वायु सेवा निगम संरचनागत एवं व्यवस्थाकीय अध्ययन तथा सिफारिस समितिको प्रतिवेदन–२०८० ले सुझाव दिएको छ ।

कमल डाँगी । नेपालगन्ज ।

राजनीतिक भर्तीकेन्द्र, अक्षम व्यवस्थापन जस्ता कारणले नेपाल वायु सेवा निगम जहिल्यै थलिएकै अवस्थाबाट गुज्रिरहेको छ । निगम अहिले ४८ अर्ब ३ करोड रुपैयाँ ऋणमा छ, जसको औसत ब्याजदर १० प्रतिशतभन्दा बढी तिर्नुपरेको छ ।

यही संस्थाको देशभरका २३ ठाउँमा मूल्यवान जग्गा जमिन छ । त्यसमा पनि बाँकेमा सबैभन्दा धेरै तीन ठाउँमा ९ बिघा जग्गा छ । नेपालगन्ज, मनिकापुर र खजुराको सोनपुरमा निगमको जग्गा छ । सोनपुरमा ३ बिघा ७ कठ्ठा ३ धुर जग्गा रहेको छ । त्यस्तै भवनसहित नेपालगन्जमा १० कठ्ठा ६ धुर र हाल विमानस्थल सञ्चालनमा रहेको मनिकापुरमा पाँच बिघा १० कठ्ठा ११ धुर जग्गा रहेको छ ।

सुर्खेतरोडमा भव्य भवनसहितका सटरहरू उपयोगमा छन् । सम्भवतः यतिको ठूलो भवन नेपालगन्जमा पहिलो पटक निगमले नै निर्माण गरेको थियो । उक्त भवनको केही भाग भाडा दिएको निगमले सुर्खेतरोडमा रहेको सटरबाट राम्रै आम्दानी गरिरहेको छ । उक्त भवनमै निगमको क्षेत्रीय कार्यालयसमेत रहेको छ । क्षेत्रीय प्रमुख मानबहादुर चौधरी बाँकेमा रहेको जग्गा र भवन संरक्षण गरिएको बताउँछन् ।

त्यसबाहेक जग्गामा अन्य काम भएको छैन । यीलगायत देशभर रहेको निगमको जग्गा र भवनको मूल्य उच्च रहेकाले त्यसलाई आयआर्जनमा लगाउन नेपाल वायु सेवा निगम संरचनागत एवं व्यवस्थाकीय अध्ययन तथा सिफारिस समितिको प्रतिवेदन–२०८० ले सुझाव दिएको छ ।

प्रतिवेदन अनुसार देशभर निगमको २३ ठाउँमा जग्गा र भवन रहेको छ । जसमध्ये बर्दियाको जग्गाको निगमसँग स्वामित्वको कुनै पनि कागजात छैन । त्यो सम्पत्तिको कुनै पनि मूल्य नरहेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

बाँकेको सोनपुरमा रहेको जग्गाको कागजात दोहोरो स्वामित्व (मोही) रहेको छ । सोही अनुसार बजारको मूल्यको ५० प्रतिशत मूल्यांकनमा अभिलेखमा राखिएको छ ।

निगमको काठमाडौंकै केन्द्र मानिने न्युरोड गेटनजिक निगमको १४ रोपनी ७ आनाभन्दा बढी जग्गा र भवन छ । सोही ठाउँमा निगमको मुख्यालय समेत रहेको छ । त्रिभुवन विमानस्थलनजिकै सिनामंगलमा करिब ३४ रोपनी १४ आना क्षेत्रफल जमिन रहेको छ । निगमको विभिन्न जिल्लाहरूमा बहुमूल्य पर्ने जग्गा र भवन छ ।

अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी र चारवटा आन्तरिक उडान गर्ने चिनियाँ जहाज खरिद गर्दाको ऋण बढेर झन्डै आधा खर्ब पुगेको हो । अहिले निगमसँग कुल सम्पत्तिभन्दा दायित्व बढी रहेको अध्ययनले देखाइसकेको छ ।

निगमसँग काठमाडौं, मोरङ, बाँके, मुस्ताङ, कास्की, दाङ, रूपन्देही, सुर्खेत, गोरखा, संखुवासभा, कन्चनपुर, कैलाली, पर्सा, जुम्ला, खोटाङ, हुम्ला र बैतडीमा बहुमूल्य जग्गाजमिन र भवन रहेको छ । निगमको सबैभन्दा धेरै जग्गा बाँकेमा रहेको देखिएको छ । बाँकेका तीन ठाउँमा ९ बिघाभन्दा बढी जग्गा जमिन रहेको छ, जुन उपयोगमा छैन ।

प्रकाशित मिति : २०८० मंसिर ३ गते आइतबार