भूकम्पले ६ सय २६ विद्यालयमा भवनमा क्षति



बाँके ।

भूकम्पबाट ६ सय २६ वटा विद्यालय भवनमा क्षति पुगेको छ । करिब ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएको जनाइएको छ । जाजरकोटमा १ सय ७३ र रुकुम पश्चिममा ३५ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटमा पूर्ण र आंशिक गरी ५ सय ८१ वटा र रूकुम पश्चिममा पनि पूर्ण र आंशिक गरी ४५ वटा विद्यालय भूकम्पका कारण क्षतिग्रस्त भएका छन् । मन्त्रालयका अधिकृत बलवीर सुनारले जाजरकोटमा २ सय ८ वटा पूर्ण र ४ सय १८ वटा आंशिक तथा रूकुम पश्चिममा ३५ वटा पूर्ण र १० वटा आंशिक रूपमा विद्यालयमा क्षति पुगेको बताए ।

भूकम्पका कारण जाजरकोटमा २२ हजार ७ सय ५९ जना र रूकुम पश्चिममा १७ हजार ३ सय ५१ गरी कुल ४० हजार १ सय १० जना विद्यार्थी प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकृत सुनारका अनुसार २ सय ६९ वटा शौचालय पूर्ण र १ सय ९० वटा शौचालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

विद्यालयका सोलार सिस्टम, पुस्तकालयमा पनि क्षति भएको छ । भूकम्पबाट क्षति पुगेपछि ती जिल्लाका ४० हजार बढी विद्यार्थीलाई विद्यार्थी किट वितरण गर्ने, ४ सय ५० वटा अस्थायी शौचालय तयार गर्ने, १० हजार सेट पाठ्यपुस्तक उपलब्ध गराउने, ६ सय बालविकास किट उपलव्ध गराउने, ३ सय ५० विद्यालयलाई विद्यालय किट उपलव्ध गराउने, क्षतिग्रस्त ठाउँमा ६ सय वटा अस्थायी सिकाइ केन्द्र निर्माण गर्नु आवश्यक रहेको उनले जानकारी दिए ।

४५ वटा स्वास्थ्य संस्थामा क्षति 

भूकम्पले जाजरकोट र रूकुम पश्चिमका ४५ वटा स्वास्थ्य संस्थाका भवनमा क्षति पु¥याएको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि अस्थायी टहरा बनाएर सेवा प्रवाह भइरहेको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा ६ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रूकुम पश्चिममा २ वटा पूर्ण र २२ वटा आंशिक गरी २४ वटा र सल्यानमा ३ वटा पूर्ण क्षतिसहित कुल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको हो ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकी भूकम्पले क्षति पु¥याएको छ । स्वास्थ्य संस्थाको क्षति अवस्था अनुगमन गर्ने काम भइरहेकाले यो संख्या केही बढ्ने जनाइएको छ ।

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि सेवा प्रवाहमा समस्या भएको छ । भवन क्षति भएकोमा अस्थायी रूपमा बाहिर त्रिपाल राखेर स्वास्थ्य सेवा दिन सुरु गरिएको निर्देशक खड्काले जानकारी दिए ।

भूकम्पपछि चिसो मौसम बढ्दै गएकाले बालबालिका, गर्भवती र ज्येष्ठ नागरिक बढी प्रभावित हुने, पानीबाट लाग्न सक्ने रोगको प्रकोप, मानसिक समस्या बढ्न सक्ने सम्भावना रहेको उनले बताए ।

यस्तै भूकम्पका कारण बढ्दो मनोसामाजिक समस्यालाई समाधान गर्न सामाजिक विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिममा गरी ३३ जना मनोविमर्शकर्ता परिचालन गरेको छ । मन्त्रालयको सामाजिक विकास शाखाका अनुसार जाजरकोटमा २१ जना र रुकुम पश्चिममा १३ जना मनोविमर्शकर्ता परिचालन गरिएको हो ।

शाखाका यशोधा शर्माले ५० वटा बाल शुलभ केन्द्र स्थापना लक्ष्यमा अहिलेसम्म १३ वटा बाल सुलभ केन्द्र निर्माण गरिएको जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर ३ गते आइतबार