12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

बाँके, बर्दियामा बढ्दै छ ‘डग लभर्स’को संख्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक २६, २०८०  

सनत सापकोटा । कोहलपुर ।

आज कुकुर तिहार । कुकुरको विषेश पूजाआजा गर्ने दिन । आज मानिसहरूले कुकुरको विशेष पूजा गरेर मिठोमिठो खान दिन्छन् । हिन्दू धर्ममा कुकुरको निकै महत्व छ । कुकुरलाई यमराजको दूत मानिन्छ । त्यसैले प्रत्येक वर्ष कुकुरको पूजा गरिन्छ । कुकुर देखेर सबै प्रकारका दुष्ट आत्माहरू टाढा भाग्छन् भन्ने विश्वास राखिन्छ ।

त्यसो त हिजोआज कुकुरलाई व्यवस्थित ढङ्गले पाल्न थालिएको छ । परिवारकै सदस्यको रूपमा मानिसले कुकुर पाल्ने गरेका छन् । गाउँघरदेखि सहर बजारसम्म कुकुर पाल्नेहरू भेटिन्छन् । कुकुरबारेका अनेकौँ किस्सा र मानिसहरूका अनुभव सुन्न पाइन्छ ।

यसमध्ये सबैभन्दा बढी प्रचलित छ जापानी कुकुर हाचिकोको कथा । यो कुकुरको मालिकप्रतिको वफादारीको अब्बल कथा हो । कुकुर अत्यन्तै वफादार र स्वामीभक्त प्राणी हो । कुकुरले कैयौँ किलोमिटर टाढासम्मको गन्ध सुँघ्न सक्छ । त्यसैले कुकुरलाई एक रहस्यमय प्राणी मानिएको छ ।

चन्द्रमामा पुग्ने पहिलो कुकुर लाइकाका बारेमा त हामी सबैले सुनेकै छौँ । सन् १९५७ मा रसियाको यही कुकुर पहिलोपटक चन्द्रमामा पुगेको थियो । करिब १२ हजार वर्ष अघिदेखि मानिसले कुकुर पाल्दै आएको अनुमान गरिन्छ । त्यसयता कुकुर पाल्ने प्रचलन बढ्दै गएको छ । कुकुर पाल्नाका अनेक कारण पाइन्छन् ।

कुकुरले हरेक किसिमका खतरा पहिले नै अन्दाज लगाउन सक्छ । प्राचीन र मध्यकालमा जंगली जनावर, लुटेरा र भूतादिबाट सुरक्षित हुन कुकुर पाल्ने गरेको पाइन्छ । कुकुरले कुनै पनि खतराको पूर्वसूचना दिन सक्छ भनिन्छ ।

त्यसैले त सुरक्षा प्रयोजनका लागि विभिन्न संस्थाले पनि कुकुर पाल्ने गरेका छन् । नेपाल प्रहरी, नेपाली सेनालगायतले सुरक्षा प्रयोजनका लागि कुकुरको सहयोग लिने गरेका छन् । नेपाल प्रहरीको केनाइन कार्यालय नै छ जसमा विभिन्न उन्नत जातका करिब डेढ सय जति कुकुर छन् । कोहलपुरमा पनि कर्णाली प्रदेशअन्तर्गत केनाइन शाखा छ । जसमा ६ वटा उन्नत जातका कुकुरलाई तालिम दिइँदै आएको छ ।

कुकुरका अनकौँ गुण छन् । यो एक वफादार प्राणी हो । यसले मानिसका कुरा चाँडो बुझ्न सक्छ । विशेषगरी सुरक्षा प्रयोजनका लागि मानिसले कुकुर पाल्ने गरेको पाइन्छ । तर हिजोआज अन्य प्रयोजनका लागि पनि कुकुर पाल्ने चलन बढेको छ । मानिसले खेल्न, एक्लोपना दूर गर्न पनि कुकुर पाल्ने गरेका छन् ।

आफ्नो आवश्यकता र रुचिअनुसार मानिसले कुकुर पाल्ने गरेको यसका अनुभवी तथा जानकारहरू बताउँछन् । अहिले कोहलपुरमा पनि कुकुर पाल्नेहरूको कमी छैन । विदेशबाट मगाएर उन्नत जातका कुकुरहरू समेत पाल्न थालिएका छन् ।

धौलागिरि ट्रेडर्स एन्ड सप्लायर्स कोहलपुरका सञ्चालक यमनाथ पौडेलले कुकुर पाल्ने आफ्नो सोखकै कारण नारायणघाटदेखि मगाएर जर्मन सेफर्ड जातको कुकुर पालेका थिए । उनले त्यसलाई परिवारकै सदस्यलाई जस्तो व्यवहार गर्थे । उनले त्यसलाई तालिम पनि दिएका थिए । कुकुर धेरै कुरामा तालिमप्राप्त, आज्ञाकारी र वफादार थियो । कोहलपुर बजार क्षेत्रमा त्यो कुकुरको निकै चर्चा पनि हुन्थ्यो ।

‘साँझ परेपछि नचिनेको कसैलाई घरवरपर आउन दिँदैनथ्यो । आफैँ मासु पसलमा गएर आफूलाई चाहिने मासु लिएर आउँथ्यो,’ पौडेलले भने, ‘मलाई कसैले छोयो, धक्यायो भने पनि कुकुर उसलाई आक्रमण गर्न पुग्थ्यो ।’ तर उनको यस्तो कुकुर एक दिन अचानक म¥यो । ‘त्यसले मलाई साह्रै पीडा दियो,’ उनले भने, ‘त्यसपछि मैले कुकुर पाल्ने विचार नै त्यागिदिएँ । अब त्यस्तो तालिमप्राप्त र बुझकी कुकुर कहाँ पाइएला
र !’

विश्वमा ३ सय ५० भन्दा बढी जातका कुकुर रहेको विश्वास गरिन्छ । अहिले नेपालमै पनि विभिन्न जातिका कुकुर पाइन्छन् । कुकुरप्रतिको मानिसको रुचि बढ्दै जान थालेपछि व्यावसायिक रूपमै ठाउँठाउँमा केनल क्लबहरू पनि खुल्न थालेका छन् । कुकुरहरूलाई काम, आकार, स्वभाव, गुण, आनिबानी आदिका आधारमा ८–९ वर्गमा विभाजित गरिएको छ । ‘हन्टिङ, टोय, हाउन्स, गार्ड, स्पोटिङलगायत कुकुरका गु्रप हुन्छन्,’ कोहलपुर–११ एनटिभी रोडस्थित वागेश्वरी केनल क्लबका सञ्चालक जीवलाल चौधरी भन्छन्, ‘तिनीहरूका स्वभाव, गुण र आकार छुट्टाछुट्टै हुन्छन् ।’ ठूला आकारका कुकुरलाई प्रायः सुरक्षा प्रयोजनका लागि पाल्ने गरिएको र सानालाई एक्लोपना भगाउनका लागि पाल्ने गरिएको उनले बताए ।

कोहलपुर–११ का लक्ष्मण थारूले सुरक्षा प्रयोजनकै लागि लेबोराइटर जातको कुकुर पालेका छन् । कुकुर पालेदेखि उनलाई घरको सुरक्षा भएको महसुस भएको छ । उनले आफ्नो कुकुरको नाम राखेका छन्, म्याक्स । ‘म्याक्स दिनभरि बच्चाहरूसँग खेलेर बस्छ,’ उनले भने, ‘तर जब रात पर्छ सुरक्षाका लागि चनाखो हुनेगर्छ, भुक्न थाल्छ । यसले गर्दा घरमा सुरक्षाको अनुभूति भएको छ ।’

उनले म्याक्सलाई घरमै सामान्य तालिम गराएका छन् । तालिमपछि म्याक्स इमानदार र स्वामीभक्त भएको छ । ‘सुरुसुरुमा बदमासी गथ्र्यो, कपडा र जुत्ता खूब च्यात्यो,’ लक्ष्मणले भने, ‘अहिले त ज्ञानी भएको छ ।’ अहिले यो परिवारकै एउटा सदस्यजस्तो भइसकेको उनले बताए । लक्ष्मणले २१ महिनाअघि १८ हजारमा यसलाई किनेका थिए ।

 

नेपालमा सानो कदको जापानिज स्पिङ निकै रुचाइने गरेको जीवलाल बताउँछन् । ‘जसलाई स्थानीय भाषामा बेलाइती भनिन्छ, तर त्यो बेलाइती होइन, अलि फरक छ,’ उनले भने, ‘पप्पीसँग खेल्न, डुल्न रुचाउने मानिस यो जातको कुकुर पाल्छन् ।’

कोहलपुर–११ साझा चोकमा साझा सौर्मा स्टेसन सञ्चालन गर्दै आएका रविजंग शाह पनि कुकुरका सौखिन हुन् । उनले लामो सयमदेखि बेलाइती जातकै कुकुर पाल्दै आएका छन् । ‘पहिला ठूलो जातको कुकुर पालेको थिएँ,’ उनले भने, ‘तर पाल्न गाह्रो भएपछि सानो जातको ल्याएको हुँ ।’ उनलाई एक जना साथीले लखनऊबाट बेलाइतीको क्रस फिमेल कुकुर पठाइदिएको थियो ।

‘३ वर्षजति पालेपछि त्यो अचानक म¥यो,’ शाहले भने, ‘त्यसैका दुई बच्चा यतिबेला मसँग छन् ।’ दुईवटा कुकुरलाई उनले छुट्टाछुट्टै दुई घरमा पाल्दै आएका छन् । उनले एउटाको नाम माइकल र अर्कोको नाम ज्याक्सन राखेका छन् । आफूसँग रहेको ज्याक्सनले आफूलाई निकै पछ्याउने गरेको उनले बताए ।

‘मसँग डुल्न पायो भने यो निकै खुसी हुन्छ,’ उनले ज्याक्सनतिर देखाउँदै भने, ‘मोटरसाइकलपछाडि बसेर मसँग कहाँ कहाँ पुग्छ, नेपालगन्जसम्म पनि सँगै जान्छ ।’

अहिलेको मानिस घरभित्र पनि एक्लो हुँदै गएका छन् । ठूलाठूला घर बनाएका छन् तर बस्ने मानिस छैनन् । भएका पनि प्राय विदेशमा छन्, वा कामकाजमा व्यस्त छन् । ‘घरमा बस्नेले एक्लो महसुस नहोस् भनेर पनि कुकुर पाल्ने गरिएको छ,’ जीवलाल भन्छन्, ‘उनीहरूले पप्पीलाई खेल्ने, गफ गर्ने साथीको रूपमा लिएका छन् ।’

कोहलपुरकै रूपेश थापा एक बिहान कुकुरलाई चौरमा डुलाउँदै गरेका भेटिए । उनी त नम्बरी ‘डग लभर्स’ रहेछन् । उनको साथमा थियो एउटा फुच्चे जापानिज स्पिङ जातको कुकुर । यो उनलाई एक जना साथीले महेन्द्रनगरबाट पठाइदिएको रहेछ । उनले यसको नामकरण गरिदिएका छन्, लुसी । लुसी निकै चञ्चले र आक्रामक रहेछ । ‘यो यिनीहरूको सिजन भएर पनि हो कि निकै अशान्त बन्ने गरेको छ,’ उनले भने, ‘नत्र पहिला यति अशान्त थिएन ।’ उनले पनि लुसीले आफूलाई निकै पछ्याउने गरेको बताए ।

यो कुकुर घरमा ल्याउनुअघि उनी भुस्याहा कुकुरलाई खाना र औषधि गर्दै आफ्नो कुकुरप्रतिको सोख पुरा गर्दारहेछन् । ‘कति भुस्याहा कुकुर त मलाई पछ्याउँथे,’ उनले भने, ‘मैले उनीहरूलाई खाना र औषधी गरिदिन्थेँ ।’

तालिमप्राप्त कुकुरहरूले मानवीय व्यवहार प्रदर्शन गर्ने गरेको उनी बताउँछन् । ‘कुकुर खुसी भएको वा रिसाएको अलग्गै थाहा हुन्छ,’ रूपेश भन्छन्, ‘यिनीहरू मान्छेले जस्तै व्यवहार गर्दछन् ।’

बाँसगढी नगरपालिका–६ का प्रदीप पोखरेलले करिब दुई वर्षअघि कतैबाट सानो स्थानीय जातको पप्पी घरमा लिएर आएका थिए । उनले त्यसको नाम जोजो राखे । त्यो बढ्दै जानेक्रममा परिवारमा रत्तियो । अहिले त्यो परिवारको एक अभिन्न हिस्सा भएको छ । ‘यो अचम्मको छ । कसैले यसलाई गाली ग¥यो भने आँखाबाट आँसु निकालेरै रुन्छ,’ प्रदीप भन्छन्, ‘कुरा गर्न नसके पनि हाम्रा सबै कुरा यसले बुझ्छ ।’

मानिससँग सबैभन्दा बढी हेलमेल भएको र सबैभन्दा छिटो सिक्न सक्ने प्राणी कुकुर नै भएको नेपाल प्रहरी कर्णाली प्रदेशअन्तर्गतको केनाइन शाखा कोहलपुरका प्रमुख प्रहरी नायब निरीक्षक (सई) विष्णु पौडेलले बताए । ‘उन्नत जातका कुकुरले चाँडो सिक्न सक्छन्,’ पौडेल भन्छन्, ‘उनीहरूको सिकाइका आधारमा कुनलाई कस्तो तालिम दिने भन्ने हामी निक्र्यौल गर्छौं ।’ तालिम दिएर तिनीहरूलाई अपराध अनुसन्धान, लागूऔषध पहिचान, उद्धार, विस्फोटक पदार्थ पहिचान जस्ता कुरामा प्रयोग गरिने उनले बताए ।

कुकुर पाल्नुलाई महँगो सोखका रूपमा हेर्ने गरिन्छ । ‘कुकुर पाल्नुभन्दा बरु घरमा एउटा खसी पाल्नु नि !’ कुकुरप्रति खासै लगाव नभएकाहरू यसो पनि भन्ने गर्छन् । तर कुकुरप्रेमीहरू यो कुरा मान्न तयार छैनन् । उनीहरूका अनुसार घरमा कुकुर पाल्नुको मजा नै बेग्लै छ । ‘कुकुरजस्तो आज्ञाकारी र कुरा बुझ्ने जनावर अर्को छैन,’ आफ्नो पप्पीतिर देखाउँदै शाह भन्छन्, ‘यसले मेरो मोटरसाइकलको आवाज पनि टाढैबाट चिन्छ । मैले जति हप्काए, पिटे पनि एकैछिनमा बिर्सन्छ ।’

कुकुरले मानिसको मनोदशा सजिलै बुझ्न सक्छ जस्तो उनलाई लाग्छ । आफ्नो कुकुरले आफूकहाँ आउने ग्राहकलाई केही नगर्ने तर बाटोमा हिँड्ने फरक भेषभूषा र भावभंगीका मानिसमाथि भुक्ने गरेको उनले बताए ।

कुकुर पाल्नका लागि आफूले खासै खर्च गर्नु नपरेको उनी बताउँछन् । ‘यसका लागि छुट्टै त्यस्तो खर्च छैन,’ उनले भने, ‘नुहाइदिनका लागि एउटा स्याम्पु किन्छु । खाना त यसले घरमै बनाएको खान्छ ।’ रूपेश पनि शाहको भनाइसँग सहमत छन् । ‘खर्च त खास धेरै होइन,’ उनी पनि भन्छन्, ‘तर ककुरको रौँ झरेर जताततै फोहोर चाहिँ हुन्छ । सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।’

व्यवसायी जीवलाल पनि कुकुर पाल्नु महँगो सोख हो भन्ने मान्छेको गलत बुझाइ भएको बताउँछन् । ‘पेट लभर्सहरूका लागि यो कुनै महँगो सोख होइन,’ उनी भन्छन्, ‘३–४ लाखको मोटरसाइकल चढ्नेले ४–५ हजारको पप्पी पाल्न नसक्ने भन्ने कुरा हुँदैन, दुई तीन कप चिया कम गरेर पनि कुकुरको दैनिकको खर्च जोहो गर्न सकिन्छ ।’ उनले कुकुर पाल्नुका धेरै फाइदा रहेको बताए । ‘एउटा त यसले घरको सुरक्षाको काम गर्छ,’ उनले भने, ‘अर्को मानिसलाई एक्लोपनाबाट टाढा राख्छ ।’
लक्ष्मण भने दिनको सय रूपैयाँजति कुकुरका लागि खर्च गर्ने गरेको बताउँछन् । ‘कुकुर पाल्दा हुने सुरक्षा र आनन्दका अगाडि यो केही पनि होइन,’ उनी भन्छन् ।

जीवलालका अनुसार उन्नत जातका कुकुरलाई नेपालमा एक/डेढ लाख रुपैयाँसम्म पर्छ । ‘कुकुरको यति नै मूल्य पर्छ भन्न सकिन्न,’ उनले भने, ‘बाहिरबाट त्यसलाई ल्याउँदा र त्यसमा गरिएको अन्य लगानीका आधारमा कुकुरको मूल्य निर्धारण हुन्छ ।’ अहिले कोहलपुरआसपासका क्षेत्रमा पनि उन्नत जातका कुकुर पाल्नेहरूको संख्या बढ्दै गएको उनको अनुभव छ । ७/८ सय जना ‘डग वर्नस’हरूले आफूबाट नियमित सेवा लिइरहेको उनले बताए ।

नेपालमा पहिलो पल्ट सन् १९७३ मा नेपाल केनल क्लब खुलेको थियो । त्यसअघि पनि नेपालमा परम्परागत रूपमा विभिन्न स्थानीय जातका कुकुर पालिने गरेका थिए । यसको प्रमुख प्रयोजन थियो, सुरक्षा । तर केनल क्लब खुलेपछि त्यसले उन्नत जातका कुकुर आयात गर्ने, तिनीहरूलाई तालिम दिने, मानिसहरूलाई कुकुरका बारेमा विविध जानकारी दिने काम गर्दै आएको छ । विभिन्न आकारप्रकार र गुणका कुकुर पाइन थालेपछि मानिसहरू आ–आफ्ना रुचि र आवश्यकताअनुसारका कुकुर पाल्न थालेका छन् ।

प्रकाशित मितिः आइतवार, कार्तिक २६, २०८०     8:05:18 AM  |