शिवु खनाल । दाङ ।
लमही नगरपालिका–८ उचानिम्बु निवासी जनक बुढामगरको जग्गा कुनै समय बाँझो थियो तर अहिले सो जग्गामा हरियाली छाएको छ । सबैतिर कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती छन् ।
उनको जग्गामा कागती अवलोकन गर्नेहरूको उत्तिकै भीड पनि हुने गरेको छ । उनले आफ्नै सात कठ्ठा जग्गामा गरेको कागती खेती उदाहरणीय बनेको छ । अहिले उनी कागतीखेतीबाट परिचित छन् । धेरै युवा विदेश पलायन भइरहेका बेला नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेका छन् व्यवासयी मगरले ।
मगरले कागतीखेती सुरु गरेको तीन वर्ष भयो । खेती सुरु गरेको तीन वर्षदेखि आम्दानी लिन सुरु गरेका उनले पहिलो लटमा एक कुन्टल कागती बिक्री गरेको बताए । ‘एक लाख लगानीबाट सुरु गरेको कागती व्यवसायबाट तीन वर्षपछि आम्दानी लिन सुरु गरेको छु,’ मगरले भने, ‘कागती बिक्री गरेर वार्षिक ५ देखि १० लाखसम्म आम्दानी गर्ने लक्ष्य छ ।’ कागतीको बजार माग पनि उच्च रहेकाले समयमै लगानी उठाउन सहज हुने उनको विश्वास छ । एक लाख लगानीबाट सुरु गरेको कागतीखेती थप बढाउने योजना उनको छ ।
मेहेनत थोरै गरेर पनि आम्दानी धेरै गर्न सकिने भएकाले कागतीखेतीको यस क्षेत्रमा राम्रो सम्भाव्यता देखिएको छ । ‘कागतीको राम्रो सम्भावना देखेर आफ्नै सात कठ्ठा जग्गामा व्यावसायिक रूपमा कागतीखेती थालेको हुँ,’ उनले भने, ‘बर्सेनि कागतीका बिरुवा थप्दै जाने योजनामा छु ।’
उनले बाह्रै महिना फल्ने सुन कागतीको खेती गरेका छन् । कागती किन्नका लागि स्थानीय व्यापारीहरू घरमै आउने गरेको उनको भनाइ छ । बगानमै प्रतिकेजी एक सय रूपैयाँका दरले कागती बिक्री हुँदै आएको उनले जानकारी दिए ।
‘कागती खेतीमा कुनै समस्या छैन । राम्रोसँग गोडमेल, समयमै मल, पानी गरेर स्याहार गर्न सके प्रतिबोटमा ६ हजार दानासम्म फलाउन सकिने रहेछ,’ उनले आफ्नो अनुभव सुनाए ।
लमही नगरपालिका–९ हर्दवा निवासी अमर कवर (नवीन)ले पनि वर्षौंदेखि व्यावसायिक रूपमा कागती खेती गर्दै आएका छन् । १७ कठ्ठा जग्गामा कागती खेती गर्दै आएका नवीनले पन्ध्र वर्षदेखि यो कामलाई निरन्तरता दिएका छन् । ‘कागती बजारमा निकै माग छ, अहिले बजारको मागअनुसार पु¥याउन भ्याइनभ्याई छ,’ उनले भने, ‘बढी मात्रामा चुक (अमिलो) उत्पादन, अमिलो अचारलगायत विभिन्न परिकार बनाउनका लागि कागतीको माग उच्च हुने गरेको छ ।’
उनले सरकारले दाङमा व्यावसायिक रूपमा कागतीखेती विस्तार गर्नुपर्ने बताए । यसले व्यावसायिक रूपमा कागतीखेती गरिरहेका किसानलाई थप प्रोत्साहन हुने उनको भनाइ छ ।
अहिले कागती फलाउने र बेच्ने कार्य मात्रै भएको भन्दै कागती प्रशोधन गर्ने र बजारीकरण गर्ने तयारी थालिएको उनले जानकारी दिए । आफूहरूले बिरुवा पनि उत्पादन गरिरहेको भन्दै आउँदो वर्ष करिब २० हजार बिरुवा बेच्ने योजना बनाएको बताए । एउटा बिरुवाको फुटकरमा ५० रूपैयाँमा बिक्री गर्ने गरिएको छ ।
त्यस्तै, व्यावसायिक कागतीखेती गरिरहेका मगरले बदिया भाले पालनबाट समेत मनग्य आम्दानी लिन सफल भएका छन् । कागतीखेती गर्दै आएको सात कठ्ठा जग्गामा तारबार गरेर उनले बदिया भाले पनि पाल्दै आएका छन् । उनले बदिया भाले र लोकल कुखुरासमेत पालन गर्दै आएका छन् ।
उनको खोरमा लोकल माउ कुखुरा १९ वटा छन् । ‘कोही अण्डा पार्दै छन्, कोही बच्चा कोरल्दै छन् त कोही बच्चा हुर्काउँदै छन्,’ उनले भने, ‘तिनै माउबाट उत्पादन भएका भालेहरूलाई बदिया बनाएर बिक्री गर्दै आएको छु ।’
उनले भालेलाई बदिया आफैँले बनाउँदै आएका छन् । ‘अहिलेसम्म ३० वटा बदिया भाले कुतुवा भाउमा बिक्री गरेको छु,’ उनले भने, ‘कागती खेतीबाट बचेको समय बदिया भाले र लोकल कुखुरा पालनका लागि सदुपयोग गर्दा मात्रै आम्दानी भएको छ ।’
प्रतिक्रिया दिनुहोस्