युवराज शाही।
हामी फुटबल प्रतियोगिताका लागि ३ दिनअघि जाजरकोट आएका थियौं । म फुटबल प्रशिक्षक र केही रेफ्री साथीहरु यहाँको होटल रिद्धिमा बसेका थियौं ।
हिजो साँझको खेल सकिएपछि हामी खाना खाएर सुत्न गयौं । म एउटा कोठामा एक्लै सुतेँ र अरु ३ जना साथीहरु अर्को कोठामा कुराकानी गरेर बसिरहनुभएको थियो ।
भूकम्प आउँछ भन्ने कुनै कल्पना नै थिएन । राति निद्रामै साथीहरु कराएको सुनेँ । उहाँहरुले ढोका ढकढक्याउँदै चिच्याएर मलाई बोलाउनुभयो । भूकम्प आयो, भूकम्प आयो भनिरहनुभएको थियो ।
म बाहिर निस्कन खोजेँ, तर भूकम्पले घर हल्लाउँदा डिस्ब्यालेन्स भएर ढोका बन्द भएको थियो । चार जना मिलेर ढोका खोलेर बल्लबल्ल बाहिरियौं ।
बाहिर निस्कनेबित्तिकै हामी बसेको भन्दा तल्लो तला खस्यो, अर्को तलाको त गारो पनि ढल्यो । ३/४ मिनेट नपुग्दै होटल रहेको सबै घर भत्कियो । एक जनाको खुट्टामा सामान्य चोट लाग्नेबाहेक अन्य क्षति भएन ।
त्यसपछि हामी यहाँ बस्नु ठीक छैन भनेर खुला ठाउँ खोज्दै गयौं । त्यहाँ नजिकै बचाउ बचाउ भन्ने आवाज सुन्यौं ।
अध्याँरोमा केही देखिएको थिएन । हामीले सोध्यौं, कति जना हुनुहुन्छ ? एक जना मात्र छु भन्ने आवाज आएपछि हामी मोवाइल बालेर गयौं । एक जनाले मोवाइल देखाउने र अरुले हातले नै ढुंगा पन्छाउने गरेर घाइतेलाई उद्धार गर्यौं, स्ट्रेचरमा राखेर अस्पताल पठायौं ।
त्यसपछि पनि हामी बजारको अन्य ठाउँतिर पनि उद्धारमा हिँड्यौं । हामीले एउटा फरुवा र बेल्चामात्र भेट्टाएका थियौं । करिब ६/७ जनाको उद्धार गर्यौं । जसमध्ये २/३ जना गम्भीर अवस्थामा हुनुहुन्थ्यो ।
जाजरकोटको धेरै संरचना पहिलो कम्पनले नै ध्वस्त पारेको थियो । रातको समय र पहाडी भूगोलका कारण पनि सहज ढंगले उद्धार हुन सकेन । उद्धार सकेपछि ३/४ बजे हामी एउटा चौरमा भेला भयौं । त्रिपाल ओछ्याएर त्यहीँ बस्यौं ।
#साभारः अनलाइनखबर
प्रतिक्रिया दिनुहोस्