आफ्ना भन्नु पनि आफूले कमाउँदासम्म मात्रै रहेछन् !



गणेश रावत । कोहलपुर ।

चाारैतिर सवारी साधनको बाक्लो आवातजावत । दसैँ मनाएर सहर आउने जाने मानिसहरूको भीडभाड छ । सिरानमा कोहलपुर नगरपालिका र बीचमा चौराहा पर्छ । चारैतिर खाली चौर र सडक छ । त्यही चौराहाछेउमा एउटा सानो घुम्टी छ । काठले घेरेको सानो घुम्टीमाथि टिन छाइएको छ । टिन खिया लागेर रङ्गहीन भएको छ । ६९ वर्षीय कृष्णबहादुर खड्काको संसार भन्नु नै यही हो । उनको घर, धन सम्पत्ति जे भने पनि यही घुम्टी हो ।

उनी २०५९ सालदेखि त्यही सानो घुम्टीमा बस्दै आएका छन् । शरीरिक रूपमा अपाङ्गता भएका खड्का सहाराविहीन छन् । उनीसँग एउटा ह्विल चियर छ । यताउता जानुप¥यो भने उनी त्यसैको सहारा लिन्छन् । ‘मेरो सहारा र साथी भनेकै यही ह्विल चियर हो,’ उनी भन्छन् ।

२०३८ साल अघिसम्म शारीरिकरूपमा उनी सकुशल थिए । २०३८ सालको त्यो कालो दिन सम्झिँदा पनि उनको आङ सिरिङ्ग हुन्छ । त्यो कहालीलाग्दो दुर्घटनाले उनलाई सपाङ्गबाट सदाका लागि अपाङ्ग बनाइदियो । उनी आफन्त भेट्न सुर्खेत घरदेखि दाङ जाने क्रममा अमिलियामा ट्र्याक्टर दुर्घटनामा परे । त्यस क्रममा उनका दुईवटै खुट्टा र काँधको हड्डी भाँचियो । ‘त्यसपछि त मेरो जीवन नै अँध्यारो भयो,’ उनले मलिन हुँदै भने ।

केही समय उपचारका लागि उनले अस्पतालमा बिताए । गम्भीर दुर्घटनाबाट उनको ज्यान त जोगियो तर उनलाई सदाका लागि अपाङ्गता लिएर बाँच्नुपर्ने भयो । उनका दुवै खुट्टा नचल्ने भएका छन् । ‘स्वास्थ्यमा सुधार आएपछि घर त फर्कें,’ उनले ती दिन सम्झिँदै भने, ‘तर, अपाङ्ग भएर ।’
घरमा श्रीमती थिइन् । सानै उमेरमा उनको बिहे भएको थियो । त्यही समयमा उनकी श्रीमती गर्भवती थिइन् । उनलाई पनि आरामको खाँचो थियो । ‘हामी दुवै जना काम गर्न सक्ने अवस्थामा थिएनौँ,’ उनले भने, ‘घरमा काम गर्न समस्या भयो ।’

उनी कुनै काम गर्न सक्ने अवस्थामा थिएनन्् । घरमै बस्ने र खाने मात्रै गर्थे । शौचालय जान र भित्र–बाहिर गर्न पनि परिवारको सहारा लिनुपथ्र्याे । ‘परिवारले पनि सधैँभरि यसरी कहाँ सहारा दिँदा रहेछन र !’ उनले आफ्ना अनुभव सुनाए, ‘२ वर्ष नपुग्दै घरपरिवारले हेरचाह गर्न छाडे । अरूको कुरा त परै जाओस् श्रीमतीबाट समेत अपहेलित भएर बस्नुप¥यो ।’ सधैँ श्रीमती र परिवारको बोझ भएर बस्नु र अपहेलित जीवन बाँच्नुभन्दा उनले घर छोड्ने निर्णय गरे । र, एक दिन घर छोडेर उनी ढकेरी आए । ढकेरीबाट २०५९ सालमा कोहलपुर आएका उनी बाँकी जीवन कोहलपुरमा बिताउने सुरमा छन् ।

घर छोडेर हिँडेका उनी केही समय ढकेरीमा आएर आफन्तकोमा बसे । आफन्तकोमा पनि कति बस्नु भन्ने लागेपछि उनले आफन्तलाई सानोे घुम्टी बनाइदिन भने । घुम्टी तयार भएपछि केही समय ढकेरीमै घुम्टीमा व्यापार गरे । २०५९ सालदेखि भने उनी यही घुम्टी लिएर कोहलपुर आए । उनको आश्रय भने पनि व्यवसाय भने पनि यही घुम्टीबाटै भएको छ । उनी यही घुम्टीमा एक्लै बस्दै आएका छन् । एक्लै बस्नुपरे पनि उनी अहिले आफू सन्तुष्ट रहेको बताउँछन् । भन्छन्– ‘जे जस्तो भए पनि अपहेलना सहनबाट त मुक्त भएको छु ।’

श्रीमतीले वास्ता नगरेपछि घर छाडेँ…

जब उनी स्वस्थ थिए । केही गरेर आफू र परिवारको पेट पाल्दै आएका थिए । त्यतिखेर सबैले उनलाई माया पनि गर्थे र नजिक थिए । तर जब उनी दुर्घटनामा परी केही गर्न नसक्ने भए । सबैले उनलाई हेला गर्न थाले । ‘दुर्घटनापछि सबैले मलाई हेर्ने नजर फरक भयो,’ खड्काले भने, ‘आफ्नै जीवनसाथीले पनि वास्ता गर्न छाडिन् । आखिर दुर्घटनामा परेर अपाङ्ग हुनुमा मेरो के दोष थियो र !’

उनी दुर्घटनामा पर्दा उनका दुई सन्तान जन्मिसकेका थिए भने एउटा गर्भमै थियो । उनको कुनै रोजगारी थिएन । तर पनि उनी हिउँदको समयमा कालापहाड काम गर्न जान्थे र वर्षायाममा गाउँमै खेतीपाती गर्थे । जेनतेन परिवार पालेका थिए । सबैले माया साथ दिएका थिए ।

‘कुन पापीको आँखा लाग्यो खोइ ?’ उनले सुस्केरा हाल्दै भने, ‘दुर्घटनामा परेर ज्यान त बाँच्यो तर जीवन भने मरेतुल्य बन्यो । सबैले अब यसले के गर्न सक्छ र ? खाने मात्रै काम गर्छ भन्दै नराम्रो दृष्टिले हेर्न थाले ।’ उनको परिवार कोही पनि अहिले उनको सम्पर्कमा छैनन् । उनले पनि परिवारको माया मारिसकेका छन् । भन्छन्– ‘मेरो घर भन्नु नै यही घुम्टी र सहारा भन्नु नै यही ह्विल चियर हो ।’

२०५९ सालमा उनी कोहलपुर आउँदा चौराहामा जताजतै टहरा र घुम्टीहरू थिए । यस्तो ठूलो बजार विकास भएको थिएन । पछि विस्तारै विकास हुँदै गयो । मानिसहरूको धेरै चहलपहल हुन थाल्यो । पछि नगरपालिकाले घुम्टी सबै उठायो । अहिले यहाँ उनको मात्र एक्लो घुम्टी
छ ।

कोहलपुर आएपछि उनलाई दिनभर त्यसै बस्नुभन्दा केही व्यापार गर्ने इच्छा जाग्यो । पछि सिद्रा माछा बुटुवलदेखि मगाएर बेच्न सुरु गरे । त्यसैबाट आएको पैसा र अपाङ्ग भत्ताले जीविकोपार्जन गर्दै आए । ‘दिनभर बस्नुभन्दा व्यापारबाट थोरै भए पनि नाफा आउँथ्यो,’ उनले भने, ‘खानाको जोहो गर्न केही सहज भएको थियो ।’

२०७६ सालमा फैलिएको कोरोना महामारीले उनको त्यो रोजीरोटी पनि खोसिदियो । कोरोना कालमा लगडाउन भयो । मानिहरूको आवतजावत ठप्प भयो । माछा बेच्न पनि बन्द भयो । त्यो समयमा दिनभर घुम्टीभित्रै बसेर कष्टकर जीवन बिताएको खड्का बताउँछन् । आम्दानीको कुनै स्रोत नभएपछि उनलाई खान लाउन धौ–धौ भयो । त्यसपछि उनले अर्को सजिलो व्यवसाय रोजे ।

मेघाश्री बेचेर दैनिकी चलाउँदै

खड्का यतिबेला ह्विल चियरमा मेघाश्री ‐गुट्का)बेचेर दैनिकी चलाइरहेका छन् । यसबाट साँझ–बिहान छाक टार्न धौ–धौ भएको उनी बताउँछन् । ‘दिनभर घुम्टीभित्र पनि कति बस्नु दिक्क लाग्छ । कुरा सुनिदिने र दुःख बुझिदिने कोही छैनन्,’ उनले भने, ‘आफन्तहरू पनि सबै पराइ बने । त्यसैले प िदिन कटाउन र केही पैसा जोहो गर्न मेघाश्री बेच्न जान्छु ।’

मेघाश्री बेचेर केही भए पनि उनलाई राहत मिलेको छ । नत्र उनको चुलो बल्ने अवस्था छैन । ‘सायद म यस्तो नभएको भए आज मसँग श्रीमती छोराछोरी सबै सँगै हुन्थे,’ उनी कल्पना गर्छन्, ‘यसरी एक्लै सहाराविहीन हुनुपर्ने थिएन । मेघाश्री बेच्र्दै हिँड्नुपर्ने थिएन ।’

एक्लो जीवन त्यसमाथि पनि अपाङ्गता ! उनलाई बाँच्न सजिलो छैन । ‘अघिपछि त केही थिएन यसरी नै भए पनि बिताउँथेँ,’ उनी दुःखी हुँदै भन्छन्, ‘बिरामी हुँदा पानी दिने मान्छे पनि हुँदैन ।’ बुढ्यौली शरीरले काम गर्न सक्दैन । ‘पानी लिन आउजाउ गर्न पनि कठिन छ,’ आँखा भरी आँसु झार्दै उनले भने, ‘अपाङ्गमैत्री शौचालय नहुँदा दिसा पिसाब गर्न जान गाह्रो हुने गरेको छ ।’ उनी नयाँ चौराहाबाट सकीनसकी पानी लिन पुरानो बसपार्क पुग्छन् ।

मेरा लागि के गर्मी के जाडो !

अब बिस्तारै जाडो याम सुरु हुँदै छ । साँझ–बिहान जाडोको महसुस हुन थालेको छ । मानिसहरू बाक्लो लत्ताकपडाको जोहो गर्ने सुरसारमा छन् । तर, खड्का भन्छन्,– ‘मेरा लागि के गर्मी के जाडो । आउँछ जान्छ । लत्ता कपडा किन्न पैसा कहाँ पाउनु !’

आफ्ना दुःखमा मल्हम लगाउने अहिलेसम्म कोही नभेटिएको उनले दुखेसो पोखे ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १७ गते शुक्रबार