बाँके ।
भारत सरकारले प्याजको निर्यातमा थप अंकुश लगाएको छ । आन्तरिक बजारमा प्याजको मूल्यमा उछाल आएपछि भारत सरकारले निर्यात निरुत्साहित गर्नका लागि न्यूनतम निर्यात मूल्य निर्धारण गरेको छ ।
भारतीय व्यापार निर्देशनालयले सूचना जारी गर्दै निर्यात हुने प्याजको न्यूनतम मूल्य निर्धारण गरेको हो । सूचना अनुसार निर्यात हुने प्याजको मूल्य प्रतिटन ८ सय अमेरिकी डलर रहेको छ । यो मूल्य सन् २०२३ को डिसेम्बरसम्म लागू हुने सूचनामा उल्लेख गरिएको छ ।
प्याजको अफसिजन भएकाले यही बेला भारतीय बजारमा अभाव भएर मूल्य बढ्नसक्ने भएकाले भारतले निर्यात निरुत्साहित गरिरहेको छ ।
न्यूनतम निर्यात मूल्य निर्धारण भएपछि निर्यात हुने प्याज थप महँगो हुनेछ ।
निर्यातका लागि महँगो हुँदा आन्तरिक बजारमा आपूर्ति बढ्ने र मूल्य सन्तुलन हुने विश्वासमा भारत सरकारले मूल्य निर्धारण गरेको हो । यसअघि निर्यात हुँदा आयातकर्ता र निर्यातकर्ताको सहमतिमा मूल्य निर्धारण हुँदै आएको थियो ।
न्यूनतम मूल्य निर्धारणपछि नेपाली बजारमा पनि प्याजको मूल्य आकाशिने भएको छ । यो मूल्य निर्धारणपछि भारतबाटै प्रतिकिलो १ सय ५ रुपैयाँभन्दा बढीमा आउनेछ । त्यसमा लाग्ने मूल्यअभिवृद्धि कर तथा अन्य व्यापारिक लागतले मूल्य आकाशिने भएको हो ।
भारतले आन्तरिक उत्पादनमा वृद्धि नभएपछि प्याजको निर्यातलाई निरुत्साहित गर्दै आएको छ । यसअघि निर्यातमा ४० प्रतिशत कर लगाइएको थियो । यसरी कर लगाउँदा पनि मूल्यवृद्धि नियन्त्रण नभएपछि भारतले न्यूनतम मूल्य निर्धारण गरेको हो ।
भारतको नयाँ दिल्लीमा प्याजको मूल्य किलोको ६७ भारुसम्म पुगेको छ । यो नेपाली बजारको तुलनामा पनि महँगो हो । पछिल्लो समय मूल्यमा उछाल आएपछि बफर स्टकबाट निकालिएको छ भने थप खरिद पनि गरिएको छ । भारत सरकारको यो निर्णयबाट नेपाली बजारमा प्याजको मूल्यमा थप दबाब पर्ने देखिएको छ ।
नेपालले आफूलाई चाहिने प्याजको १० प्रतिशत मात्र उत्पादन गर्ने अनुमान रहेको छ । नेपालसँग प्याज उत्पादन, स्टक तथा मागको तथ्यांक नभएकाले यसको यकिन तथ्यांक भने छैन ।