क्यान्सर भनेको जीवनको अन्त्य होइन, यो एउटा नयाँ जीवनको सुरुवात हो । क्यान्सर निको भएर धेरैले सामान्य जीवन बिताइरहेका छन् । उनीहरूले सामान्य जीवन बिताउने मात्र नभई पूर्ण आयु बाँच्न सक्छन् । साथै बाल्यकालमा क्यान्सर भएका र उपचार गराएकाहरू पनि सामान्य अवस्थामा फर्किएका छन् । क्यान्सर लाग्यो भन्दैमा आत्तिइहाल्नु हुँदैन । आवश्यक स्वास्थ्य परीक्षण, स्वस्थ दिनचर्या, उपयुक्त खानपान र सक्रिय जीवनशैलीले क्यान्सरबाट जोगाउन सक्छ ।
डा. रोशन प्रजापति
मेडिकल अन्कोलोजिस्ट
क्यान्सर लाग्नासाथ ‘जीवन सकियो, निको नहुने रोग हो यो, यसले मृत्युको मुखमा धकल्ने गर्छ’ भन्ने आम बुझाइ छ । जसकारण क्यान्सर भएपछि बिरामी हतोत्साही हुन्छन्, डराउँछन् । साँच्चै क्यान्सर लागेपछि निको हुँदैन ? क्यान्सर घातक रोग त अवश्य पनि हो । तर कस्तो क्यान्सर ? कुन अंगको ? कुन चरणको ? धेरै कुरा यसमा निर्भर गर्छ ।
क्यान्सर दुई प्रकारका हुन्छन्, हेमाटोलोजीकल र सोलिड ट्युमर (शरीरको कुनै पनि अंगको हुने क्यान्सर) । यी दुवै खालको क्यान्सर पूर्ण रूपमा निको हुन्छन् । तर क्यान्सरको चरणमा भर पर्छ । क्यान्सरलाई एकदेखि चार चरणसम्म हुन्छन् । पहिलोदेखि तेस्रो चरणसम्म पूर्णरूपमा निको हुन्छ भने चौथो चरणमा पुगेपछि भने निको बनाउन सकिँदैन ।
यदि पहिलोदेखि तेस्रो चरणसम्म फोक्सोको क्यान्सर, ब्रेस्ट क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पेट तथा आन्द्राको क्यान्सर पत्ता लगाउन सकेमा राम्ररी पूर्णरूपमा निको बनाउन सकिन्छ ।
सुरुवाती वा पहिलो चरणमा आउनुअघि पनि एउटा चरण हुन्छ, त्यसबेला पत्ता लगाइयो भने शतप्रतिशत निको हुन्छ । पहिलो चरणमै पत्ता लागेमा क्यान्सर पूर्णरूपमा निको हुन सक्छ । खासगरी स्तन र पाठेघरको क्यान्सरलाई पूर्णरूपमा निको पार्न सकिन्छ ।
नेपालमा महिलाहरूमा पाठेघरको क्यान्सर बढ्दो छ । यो पनि सुरुवाती चरणमै पत्ता लागेमा पूर्णरूपमा निको पार्न सकिन्छ । यसैगरी पेट र आन्द्राको क्यान्सर पहिलो चरणमै पत्ता लागेको अवस्थामा पूर्ण निको हुने सम्भावना बढी हुन्छ । घाँटीको क्यान्सर पनि यस्तै हो । सुरुवाती चरणमा पत्ता लगाउन सकियो र सही उपचार गरियो भने पूर्ण निको हुन्छ ।
कस्तो अवस्थाको क्यान्सर जटिल मानिन्छ ?
क्यान्सरको चौथो चरणको अवस्थालाई जटिल मानिन्छ । यो चरणको क्यान्सर अन्य अंगमा पनि फैलिसकेको हुन्छ । जसले गर्दा शल्यक्रिया गरेर पनि केही पूर्णरूपमा निको पार्न सकिँदैन ।
यसबेला बिरामीलाई निको पार्न भन्दा पनि सहज बनाउन उपचार गरिन्छ । कस्तो प्रकृतिको क्यान्सर र कुन रूपमा फैलिएको छ भन्ने पनि हुन्छ । त्यसैले पहिलो चरणअघि नै सम्भावित क्यान्सरबारे पत्ता लगाउन सकियो भने क्यान्सरको जोखिमबाट जोगिन सकिन्छ ।
क्यान्सरको उपचार
रेडियो थेरापी, किमोथेरापी, इम्युनो थेरापी, टार्गेट थेरापी, शल्यक्रिया क्यान्सर उपचारका विधि हुन् । पहिला एउटै सर्जनले सबै क्यान्सरको शल्यक्रिया गरिन्थ्यो भने अहिले क्यान्सरको प्रकारअनुसार छुट्टाछुट्टै सर्जन छन् । अहिले नेपालमै धेरैजसो उपचार हुने भएकाले क्यान्सरका बिरामी विदेश जानुपर्ने अवस्था छैन ।
क्यान्सर जीवनको अन्त्य होइन, नयाँ सुरुवात पनि
क्यान्सर भनेको जीवनको अन्त्य होइन, यो एउटा नयाँ जीवनको सुरुवात हो । क्यान्सर निको भएर धेरैले सामान्य जीवन बिताइरहेका छन् । उनीहरूले सामान्य जीवन बिताउने मात्र नभई पूर्ण आयु बाँच्न सक्छन् ।
साथै बाल्यकालमा क्यान्सर भएका र उपचार गराएकाहरू पनि सामान्य अवस्थामा फर्किएका छन् । क्यान्सर लाग्यो भन्दैमा आत्तिइहाल्नु हुँदैन । आवश्यक स्वास्थ्य परीक्षण, स्वस्थ दिनचर्या, उपयुक्त खानपान र सक्रिय जीवनशैलीले क्यान्सरबाट जोगाउन सक्छ ।
क्यान्सरबाट बच्न के गर्ने ?
क्यान्सर हुन नदिन सबैभन्दा पहिले त आफ्नो आनीबानीलाई व्यवस्थित बनाउनुपर्छ । जंकफुड र कोल्ड ड्रिंक सकेसम्म नखाने, धुम्रपान, मद्यपान नगर्ने, नियमित व्यायाम गर्ने, सन्तुलित खानपान र शरीरमा केही परिवर्तन देखिएमा जाँच गराइहाल्ने गर्नुपर्छ ।
पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर धेरै महिलामा देखिइरहेकाले केही समस्या नभए पनि वर्षको एकचोटि महिलाले पाठेघर र स्तनको परीक्षण गराउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्