बाल्यकालको सम्झनामा नै बित्दो रहेछ प्रदेशीको दशैँ



अनुपम अनुराग – यो धर्तीको सबै फोहोरलाई पखालेर आकाशले बादललाई बिदाइ गर्दै छ ! ऋतुले गड्याङगुडुङ गर्न छोडेकाले सूर्यको किरण निडर बिहानीमा लामा पाइला हान्दै छ! वनको हरियालीमा भमराले गीत गुनगुनाउन थाले का छन्!शारदीय रातका तारा र जूनले आफ्नो राज्यको बाधा फुकुवा भएको महसुस गरेर होला! घर आँगनमा बिस्तारै फक्रँदो फूलको यौवन पोखिन थालेका छन् । बारीमा लपरम्मा धानका बाला झुलेका छन् ! वर्षायामको समाप्तिसँगै किसान हर्षित भयका छन् ।
पर्खाइको एउटा सुखान्त संसार त्यहाँ साह्रै आशावादी भएका छन् ।वर्षौँसम्म फोन र भिडियोकलमा बोलेर मन बुझाउनु परेका अधिकांश स्वदेशी र विदेशी परदेशी भएका छोराछोरी, आमाबाबा, दिदीबहिनी या अन्य आफन्तसँगको भेट हुने आशा साकार हुँदैछ! एक–आपसमा पारस्पिरिक सम्बन्ध र एकताको भूमिका खेल्दैछ ।
सद्भावको सङ्गम, सामाजिक एकता र समृद्धि अनि शुभकामनाका गुच्छाले सजिएका भाव लहरी जाग्छन्।स्वदेशमै टाढा रहेका आफन्त वा विदेशमा भएका आफ्ना मान्छे सबैलाई एकै ठाउँ बनाउने कार्यमा लम्कँदै छ त्यसैले त जन्म भूमिप्रति को सम्झना बार बार आईरहन्छ ।
गाउघरमा दसैंको माहोल छाएको होला सवै जना बर्ष भरीका सबै दुख कष्ट भुलेर दसैंको तयारी गर्दै होलान् ! घर रंगरोगन तथा लिपपोत गरेर गाउघर नै उज्यालो भएको होला ! गाउँ घर भन्दा बाहिर बस्नेहरु दसैं कै लागी गाउँ फर्किएका होलान् ! उच्च शिक्षा लिन शहर पसेका साथीभाइ घर फर्किने सुर कस्दै होलान् र विदेशबाट दसैं मनाउन लाहुरेहरु घर पुगिसकेका होलान्, पल्टन गएका लाहुरेहरु घर फर्किने बिदा को चाँचो गर्दै होलान् ती सबैको भेटघाट पनि भयो होला ! ससाना बालबच्चाहरु नयाँ कपडा किन्दिनु भन्दै बा लाई अत्याउँदै कपडा लगाउने दिन गन्दै होलान् कोही नयाँ कपडा देखाउन ओल्लोघर र पल्लोघर गर्दै होलान् ! बा हरुले खसीको जोहो गर्दै होलान् ! आमालाइ चुलोचौको मेलापात आफ्नै चटारो होला !
दसैं भन्नासाथ मनमा यी र यस्तै यस्तै कुरा बारबार आइरहेका छन्। अझ भनौ दशैँ ले त्यो बालापनको सम्झना ताजा स्फूर्ति गराउँदो रहेछ पल्लाघरे साइँलो माथिल्लो घरको सन्तोष नाइकाघर नरेश, विर वहादुर, टोप बहादुर, तल्लघर को टंक दाई गैरघर भरत,चेतन बैध्याघर को मदन सवै मिली खाल टाकुरा र बस्नेपाटी हामी कैयौं चोटी दशैं आयो खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, धत्त पापी छुट्टै बसौंला” भनेर खेलिरहन्थ्यौँ गाउँ–गाउँमा डाँडापाखा सँग रमाउनेहरू दौँतरीसँग नयाँ कपडामा सजिएर कसको लुगा राम्रो छ तुलना गर्दै झगडा नी गरिन्थ्यो । बालकालको दशैं अत्यन्तै रमाइलो थियो। दशैंको सेल खान पाउँदा पनि ठूलै उपलब्धि हात पारे झैं लाग्थ्यो त्येसैले होला टीकाको दिन गनेर औंला भाचिन्थ्यो। दशैं आउँदा भित्र भित्रै मन आनन्दित हुन्थ्यो।
अँ साँच्चै कम्ता रमाइला थिएनन् ती दिनहरु! हप्ता दिन् अगाडिनै सबै साथीभाइ मिलेर (बाबियो ) काट्न जङ्गलमा राती राति जान्थ्यौं! अझै याद छ ढाडँ , कैन राती राति बावियो चोर्न जाँदा बाटैमा काक्रा चोरेर खाएको !
दशैंमा भूइँ छोड्नुपर्छ भन्ने मान्यताले पिङ हाल्ने चलन अझैं छ हाम्रो गाउँघरमा! गाउँको मध्यविन्दुमा पिङ हालेर प्रत्येक बेलुकी गाउँका तन्नेरी युवायुवतीहरु नाचगान गरेर रमाइलो गर्ने चलन रहेको छ आजकलको भाषामा भन्ने हो भने डेटिङ स्थल नै पिङ हो। पिङ बनाउँदाको कथा पनि खुब रमाइलो छ। वनबाट पिङको खाँवा बोक्न गाउँघरका सबै तन्नेरी प्रौढ लावालस्कर लाग्नुपथ्यो। पिङको खामा बोक्दा काँधको छाला समेत जान्थ्यो।
पिङ तयार भएपछि गाउँका दिदीबहिनीले सेलरोटी रक्सी र अचार बनाएर खुवाउने चलन छ। छिमेकी गाउँघरबाट पिङ खेल्न आउने युवायुवतीहरुलाई सम्मान सत्कार गरेर पिङ खेलाउने गरिन्छ। पिङमा गाउँवस्तीका भाखाहरुलाई गाएर भरपूर मनोरञ्जन गरिन्थ्यो।
हाम्रो गाउँघरमा दशैं आउनु भन्दा अगाडि घर लिपपोत गर्ने चलन छ! घर सिगार्न रातो माटो ,कमेरो –सेतो माटो) ले घर सिँगार गरिन्छ! रातो माटो खोज्न ममी दिदीबहिनीहरु विनायक बैक जानु हुन्थ्यो , सोली, बोरा ( कट्टा) , चाल्नु र दिनको खाजा बोकेर दिनभरि लगायर बिनायक को माटो घर लिएर आउनुहुन्थ्यो।कतिपयको त माटो खन्दा पुरिएर अकालमै मृत्यु पनि हुन्थ्यो ! माटो खन्न जाँदा फलानो ठाउँकी आइमाई पुरिए भन्ने खवर कहीँकतै सुनिन्थ्यो ।
सेतो माटो कमेरो लिन् अंकल बाबा दाईहरु बग्ने, रप अछाम जानु पर्थ्यो ! त्यहाँ नी माटो निकाल्दा निकाल्दै कति त पुरिएर ज्यान समेत गुमाउनु पर्थ्यो! ज्यानको बाजी राखेर माटो बोकेर दशैंको बेला घर पोत्ने चलन थियो ! यसरी बोकेर ल्याएको माटोले घर छ्याप्ने –लिप्ने गरिन्थ्यो। घरलाई सुन्दर बनाउन रातो माटोले लिपेको भित्तामा सेतो माटो र कालो माटोको पेटी बनाइन्छ। झयाल ढोकाको वरिपरि गन्धे फूल कमेरोमा चोपेर फूल बनाउने चलन पनि छ ।आहिले त चुना लगाएर घर सिँगार गर्छन।
दशैंका अघिल्लो दिन रामनवमी को दिन पञ्चवली दिने चलन पनि छ। तीन गाउँ का मान्छे मेला भई ’राँगो हान्ने मेला ’ भन्ने पुसाकोट मा मेला लाग्छ ।पञ्चे बाजा बजाएर राँगो सहित कोटमा गएर भाकल पूजा गर्न ,पञ्चवली लाने गरिन्छ । कोटमा मौलामा राँगो काटेर दशैंको धुमधाम स्वागत गरिन्छ ! राँगो को विधिपूर्वक पूजआजा गरी बलि दिने चलन छ ! बलीको अर्थ आफुभित्र रहेका नकारात्मक विचार वा खराब सोचलाई अन्त्य गर्नु हो। दुर्भावनालाई नवदुर्गाको चरणमा अर्पेर सद्बुद्धि माग्दै पशुको बली दिने गरिन्छ।ठूला ठूला राँगोहरु एकै पटकमा च्वाट्ट छिनालेर मार हान्नेले शिर पाउ लाउँथे।यसरी मार हान्नेको पुरुषार्थ झल्कन्थ्यो। पञ्चवली भनेको राँगो, बोका होइन। काम, क्रोध, लोभ, मोह, अहंकार आफ्नो शरीरबाट त्याग्नु बलि हो भनिन्छ।अर्को वर्ष भरी भेट नभएका साथीजन आफन्त सङ्ग भेटघाट हुने धेय ले पनि सबै त्यहाँ जाने रमाइलो गर्ने गर्ने जात्रा हो जस्तो लाग्छ मलाई । जे होस् पुराना दिन सम्झँदा एकदमै रमाइलो लाग्छ। मलाई दशैं औधि रमाइलो लाग्छ ।
सोह्र संस्कार सकेको भोली पल्टै घटस्थापना (प्रतिपदा) का दिनदेखि जमरा राखेर देवीका नौ रूपको पूजा अर्चना तथा घरघरमा स्तोत्र पाठ गर्दै दशैँको सुरुवात गर्दै सोही दिन देखि शुरु हुने दशैंमा हजुरबा पुरानो तरबार एउटा कुनामा राखेर दुर्गा पुज्नु हुन्थ्यो। घटस्थापना को दिन पनि अरु दिन जस्तै हजुरबा ले विहान देखि रेडियो बाट बज्ने भजन सुन्नु हुन्थ्यो तर( नौ राता) भन्दै आफू पनि संस्कृत भाषामा भजन जस्तै ठूलो स्वरमा गाउनु हुन्थ्यो बिहान बिहान हजुरबाले पूजा गरेको सम्झना छ।हजूरबाले पूजा गर्दा के भन्नु हुन्थ्यो कुनै अर्थ बुझ्दैन थेँ। चण्डी पाठ, रुद्री पाठ, जप, पूजामा मन्त्र ध्वनिको सुरम्य आवाज र रौनक छरपस्ट गाउँभरि सुनिन्थ्यो! अनि दिउँसो विविध पूजा गरेर जमरा को लागि तयार गर्नुहुन्थ्यो । दुर्गा पुज्ने अर्थ थाहा थिएन त्यतिबेला ! दुर्गा देवी देउता हुन् भन्ने पनि थाहा थिएन !
हजुरबा ले दशैमा दशैंको टीका लगाउँदै यो मन्त्र भन्नू हुन्थ्यो अनि आशीर्वाद दिनुहुन्थ्यो।
आयुद्रोण सुते श्रीयम् दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यम् नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
मन्त्र पढे पश्चात द्रोणका छोरा अश्वत्थामाको जस्तो आयु होस्, भगवान् रामको जस्तो शत्रुहरू नास होऊन् ,दुर्योधनको जस्तो मान होस्,राजा दशरथको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, सूर्यपुत्र कर्णजस्तै दानी बनेस्, नहुष राजाको जस्तो ऐश्वर्य बढोस्, गति हावाको जस्तो होस्, बलरामको जस्तो बल होस्, कुन्तीपुत्र युधिष्ठिरजस्तै सत्यवादी बनेस्, विदुरको जस्तो ज्ञानको निपुणता होस् र नारायण भगवानको जस्तै कीर्ति बढोस् भन्दै टिका लगाइदिनु हुन्थ्यो ।
मैले हजुरबा संग एउटा प्रश्न सोधेको थिएँ,यो दशैँ सधैँ किन् हुँदैन एकदिन मात्र हुन्छ ( मनाउँछन्) ? हजुरबुबा ले यसरी जवाफ दिनु भयो ! दशैंलाई बडा दशैं, विजया दशमीसँगै दशहारा पनि भन्छन्। यो परापूर्वकालदेखि मनाउँदै आइएको नेपालीहरुको महान पर्व हो ।घटस्थापनादेखिको दशौं ,टिकाको दिन मुख्य दिन मानिन्छ ! यो खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको चाड हो ।
दशैंको ठूलो महत्व खासमा यो आशिवार्द लिने पर्व हो । जसका अगाडि शिर झुकाइन्छ त्यो शत्रु नै किन् नहोस त्यतिबेला उसको मनमा नराम्रो सोच आउँदैन । उसले आशीर्वाद दिन्छ । वर्षमा एकै दिन सही अहं, घमण्ड, इष्र्या फ्याँक्ने दिन हो दशैं।
जन्म दिने बाबु आमालाई अघिपछि वेवास्ता गर्नेहरु पनि दशमीका दिन टीका थाप्न उनीहरूका सामु झुक्छन् । पैसा मात्र ठुलो हो पैसा भए कोही चाहिँदैन भन्ने भ्रम धनका भरमा चम्केकाहरूलाई पनि दशैंले आफ्नो धरातलमा ल्याइदिन्छ।
हिन्दू परम्पराअनुसार परापूर्व कालमा शुम्भ, निशुम्भ, रक्तबीज, महिषासुरजस्ता दैत्यहरूको ज्यादतिले मानिस र देवताहरूमा ठूलो कष्ट प¥यो। सङ्कट समाधान गर्नका लागि ऋषि, देवगणहरूले प्रार्थना गरेपछि दुर्गादेवीले राक्षसी शक्तिलाई बध गरिदिइन्। सत्यले पुनर्बहाली पाएपछिको विजय उत्सवको रूपमा दशैँमा दुर्गादेवीको पूजा आराधना गर्ने गरिन्छ।
अर्को तर्फ नारी शक्ति र शसक्तिकरणको प्रतिकका रुपमा पनि यो पर्व केन्द्रित छ । दशैंमा नवदुर्गा (हिन्दु धर्म की शक्तिस्वरुपा देवी दुर्गा) को नौ वटा रूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री विशेष पुजा तथा आराधाना गरिन्छ । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पूजा गर्ने गरिन्छ । दशौँ दिन विजयादशमीमा भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशिर्वाद थापेर मनाइन्छ । टाढा–टाढाबाट आउने पाउनाहरूले पूर्णिमा सम्मै पनि टीका लगाएर आशिर्वाद लिने–दिने प्रचलन छ ।

त्यस्तै त्रेतायुगमा रामचन्द्र भगवानले आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापना पश्चात् शक्तिस्वरूपीणी दुर्गादेवीको आराधना गरी उनैको कृपाले दशमीका दिन रावणको बध गरेका थिए। यही विजय उत्सवको स्मरणमा अर्थात् सत्यले विजय प्राप्त गरेको सु अवसरको दिनलाई स्मरण गर्दै दशैं मनाउन थालिएको हो। आश्विन महिनाको शुक्लपक्ष श्रवण नक्षत्रले युक्त नवरात्रिको दशौँ दिन दशमीलाई ‘विजयादशमी’ भनिन्छ। यसदिन दुर्गादेवीलाई विधिविधानसहित पूजा अर्चना, आरती, पुष्पाञ्जली गरेर विसर्जन गरे पश्चात् उनैको प्रसाद स्वरूप जमरा र टीका वितरण तथा ग्रहण गर्ने गरिन्छ । मान्यजन, ठूलाबडाद्वारा आपूmभन्दा सानालाई आशीर्वचन दिइन्छ ।
त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले दशैँ दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई वडादशै एवम् विजयदशमीको नामले पूकारिन थालिएको हो ।
दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ । विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा, दुवै रुपमा यो शक्ति–पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवम् उल्लास तथा विजयको पर्व हो । हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव–पर्व सुरु भएको हो । महान खुशीको पर्व हो ।
दशैंको समयमा एफएम रेडियो बाट धेरै बज्ने यी गीत हरु आज टिक टक मा सुन्दा झनै बालापनको याद आयो! बालापनमा यी गीतको अर्थ बुझेपो तर गाउँभरीका सबैको घर घरमा रेडियो हुन्थ्यो, सबैले घरमा ठूलो ठूलो स्वरमा यी गीत गुञ्जिए का हुन्थे यी गीतका धुन् सुन्दा नी आनन्द लाग्थ्यो ! यिनै गीत आज प्रदेशबाट टिक टक मा सुन्दा आँशु नै झर्यो!
उदित नारायण तथा दिपा नारायण झाको स्वर मा रहेको “दशैँ आयो “ कहिल्यै पुरानो नहुने दशैं गीत मध्ये एक होला यो त्यस्तै
उदित नारायण झाकै स्वरमा रहेको “फुलपाती भाकेर “
दीपक कोइरालाको स्वर मा रहेको “बर्षमा दिनको यो वडा दशैं “
योगेशश्वर अमात्यको स्वरमा रहेको निम्न वर्गीय परिवारको पीडालाई वर्णन गरिएको “दशैं हो कि दशा“
कुल पोखरेल स्वरमा रहेको “यसपाली दशैंमा ठूलो दाइ आउने रे“।
कृष्णभक्त राई तथा लक्ष्मी न्यौपानेको स्वरमा रहेको “नमुछे आमा दहीमा टिका “
यी गीत सुनेर प्राय सबैको आँखा रसाउँछ होला मेरो पनि हजुरको पनि ! प्रदेशीलाई विकसित मुलुकको सुन्दर शहरहरु भन्दा गाउको तस्बिर देख्दा मन आनन्दित हुने रहेछ । धर्तीको स्वर्ग जस्तो लाग्दो रहेछ आफू जन्मको गाउँ, आफ्नोे संस्कार । गाउँको कुना कन्दरा , पाखा पखेरा, कलकल बग्ने पानी अनि चिसो पानी आउने त्यो धारो, घास मलका भारी बोक्दा थकाइ लाग्दा थकाइ मार्ने चौतारी, अनि त्यो क ख सिकेको स्कुल, आफन्तजन इष्टमित्र, छर छिमेकी, बारीका फोटा, खेतका फाँट आहा यी सबै सम्झदा त अहिले नै पखेटा हुँदा हुन त त्यो घरदेश फर्किन मन लाग्छ ।
गाँउ घरमा जम्मा भएका सवै साथीले सोच्दै होलान,ल फलानाको छोरो कमाउनि भो,के सम्झिन्थ्यो । पैसा को पछाडि लागेपछि अब हामिलाई के सम्झन्थ्यो र भन्दा होलान। आफु नमरि स्बर्ग देखिदैन भन्छन उनी हरुलाइ के थाहा होला र ,परदेशको हालत,यहाको परिपाटि । हो उनि हरुको सोचाइ पनि म गलत नी ठान्दैन ! ठिक हो ,तर गाउँ परिबार आफ्नाको सम्झना त किन हुदैनर सम्झना मनमै खुम्चाएर राखनु पर्दो रैछ यहाँ,माया ममतालाइ भूल्नु पर्दो रैछ यहाँ काम नगरि सुखै नहुनि ,भो आज स्वास्थ्यलाइ ठिक छैन भोलि गरमला काम भन्न नपाइनि, जति दुःख भएपनि मरिमेट्नै पर्नि उफ ?
बिरामि पर्दा तातो पानि पनि तताएर दिनि मान्छे सम्म हुदैन यहाँ सबै आफ्नो काम मा व्यस्त हुन्छन सके पनि न सके पनि आफ्नोे लागि आफै सकि नसकि आफुले नै गर्न पर्छ । आज तलाइ सन्चो छैन आराम गर म खाना बनाइ दिन्छु भन्ने पनि कोही हुन्न ! कलेज जानै पर्छ, काम गर्नै पर्छ, खाना बनाउनै पर्छ, अनि एकछिन आराम गर्नै पर्यो , त्या तिमीहरू सुतेको बेला यहाँ उज्यालो हुन्छ तिमि उठेको बेला मेरो कलेज हुन्छ यस्तै यस्तै समय ले नी अलि फरक पार्दो रहेछ ! मन भरी समझाना हुँदा पनि यहाँको विवस्था भनौ या बाध्यता चाहेर पनि नहुँदो रहेछ।
हरपल गाँउ र परिबार को यादले मन छटपटाइरहदा कति खेर जाम जस्तो हुनि यो मन,सधै सधै यो उडेर गाउकै सपना मा बिलिन हुन्छ। बाआमा कस्तो हुनुहुन्छ होला? काका काकि को के खबर छ होला ? पल्लाघरे दाइभाइ,उपल्लो घरकि ठुला बुवा ठूली आमा ,बहिनिहरु,कस्ता होलान के गर्दै होला ? फलानो के गर्दै होला फलानि के गर्दै होलि ? गाँउमा नया के हुदै छ होला ? यस्तै यस्तै कुराहरु सम्झदै हरेक रात व्यतित हुन्छन्।

मन किन हो किन एकोहोरिरहन्छ । जे भएपनि काम त गर्नै पर्ने । काम नगरि खान कहाँ पाइन्छर यहाँ त परदेश हो कसैले थुक दे भने पनि नदिने ठाउँमा काम नगरी बस्न कहाँ पाइन्छ र ।जे पर्दा पनि लदिन पर्छ यहाँ ।। उफ कहिले काहि त मनमा गाँठो परेर आउछ यहाको चलन देख्दा, धेरै चोटि रोएको पनि थिए बाबुआमाको यादमा तर रोएको पनि सुनिदिने कस्ले आँखाको आँशु आँखैमा सुकाउनु पर्ने। ममी भनेर बोलाउन मन लाग्दा बोलाउन पाइएन यहाँ।

जस्तै भएपनि परिबारको काखमा रामाउन कसलाइ मन छैनर,यो दुनिया स्बार्थि भनौ कि के भनौ, जे गरे पनि राम्रो हुदैनहुने।बाध्यता त मजबुरिले गर्दा बिरानो मुलुकतिर पाइला नचालि नहुने, उहि पैसा को कारण सबैथोक त्यागि पराइ घर सिघार्न पर्ने,किन हो किन यो दुनियाले पैसालाइ नै ठुलो देखेको होला सोच्छु तर के गर्ने जता जाउ त्यहि उइ पैसा यो बिना त केहि गर्छु भन्दा पनि नसकिने कस्तो जमना होला यो सोच्दा सोच्दै मान्छेलाइ पागल बनाइदिन्छ ।

जहाँ जन्मेर हुक्र्यो, मानिसको पहिचान , मानिसको रचनाको स्वरुप, व्यक्तित्वको प्रारुप , पहिलो पटक स्पर्श गरेको ठाउँ ,खेलेको ठाउँ,सँग मानिसको पारस्परिक सम्बन्ध हुँदोरहेछ। त्यो ठाउँले त्यही मानिस लाई चिन्दो रहेछ, मानिस त्यो ठाउँलाई चिनाउँछ । नाम मानिसको पृथक चिनारी बनाउने माध्यम हो । भाषा हो, मानिसलाई जगत्सित जोड्ने सूत्र । भाषामा खास ठाउँको प्रकृतिको रुपरङ्ग, ध्वनि र गतिको छाप हुन्छ ।

ठाउँसँग नाम र भाषाको अभिन्न नाता हुन्छ । नाम र भाषामा संस्कृतिका विशिष्टाताहरू जेलिएर आउँछन् । जहाँ जन्म्यो, मानिस त्यहीँको हावामा सास फेर्छ, त्यहीँको पानी खान्छ । त्यहीँको धूलोमा बामे सर्छ, त्यहीको धूलोमा टुकुटुकु हिँड्छ । त्यहीँका इन्द्रेनी र पुतली हेरेर आनन्दित हुन्छ । त्यहीँको चट्याङले तर्सिन्छ, वर्षाले भिज्छ ।

 

त्यहीँको जाडोमा थुरथुर काम्छ, गर्मीमा तर्तरी पसिना काड्छ । त्यहीँ श्रम गर्छ, उत्पादन गर्छ, सिर्जना गर्छ । त्यहीँ आमाको मायालु बोलीमा लोली गाउँछ, मायापिर्ती लाउँछ, सन्तान जन्माउँछ । मानिस त्यहीँको मौसममा अभ्यस्त हुन्छ, त्यहीँको वातावरणको अभिन्न अङ्ग बन्न पुग्दो रहेछ ।

ऊ मानसिक अन्तद्र्वन्द्वले आक्रान्त जीवन जिउँदो रहेछ । खुट्टा जपानमा छन्, मन छ नेपालमा । मैंले देखेको, सुनेको, गरेको, जानेको, चिनेको र भोगेको जे जे हो, त्यो सवै नेपालमा छ । परिचित चौतारी र देउराली नेपालमा छन् । आफन्त र कुलकुटुम्ब नेपालमा छन् । चाडपर्व र जात्रामेला नेपालमा छन् । घाट र चिहानघारी नेपालमा छन् । मायापिर्तीका कथा र किस्सा नेपालमा छन् । जानेको भाषा र हिँडेको भूगोलका गोरेटा नेपालमा छन् । यसको अर्थ हो, मेरो सर्वस्व नेपालमा छ । यहाँ त मेरो के छ र ? केवल मेरा खुट्टा छन् मेरो चित्तमा अन्तहीन अन्तद्र्वन्द्वको कष्टकर आँधी उठेको छ ।

यह आंगन याद आएगा; तेरा रस्ता याद आएगा.मैं ठहरी परदेसी मेहमान. ओह प्यारी मां, मुझे अपना घर याद आएगा. हिन्दी गीत हुनत यो एकजना छोरी पराईघर जाँदा को पीडा हो तर एक जना छोरा लाई परदेश जाँदा कस्तो अनुभूति हुन्छ होला ! तपाई हामी आफ्नो घर छाडेर अरुको घरमा दुई चार दिन बस्दा आतिन्छौँ तर परदेशीहरु पैसाकै लागि घरपरिवार स्वदेशमै छाडी बर्षौ विदेशी भूमिमा एक्लै संघर्ष गर्दैछन् । देश सानो ठूलो होला ! पैसा कमाइ धेरै थोरै होला तर परदेशीहरु को पीडा एउटै हो । पैसाले घरको आभास दिदैन, पैसाले आमाको माया दिदैन, पैसाले बाको जस्तो सहारा दिदैन । पैसाकै कारणले बेचिन बाध्य छौँ हामी परदेशी ।

निन्द्रा , पैसा र यादरुले सताउने ठाउँलाई विदेश भनिने रहेछ । प्रदेशीहरुको श्रमिक जिबन स्वतन्त्र हुँदैन । स्वतन्त्रता नभएको जिबन पिजडा भित्रको पन्छी जस्तै हुन्छ । परदेशमा श्रमको संमान हुन्छ त्यही अनुसारको पारिश्रमिक हुन्छ तर सुनको पिजडा हुँदैमा पिजडा भित्रको पन्छी खुसी हुँदैन । परदेशी जीवन एक खालको पिजडा हो र परदेशी जिबन पखेटा काटिएको पन्छी जस्तै हो । घरीघरी मन उडेर घरदेश पुग्छ तन भने परदेशमै संघर्षरत हुन्छ । सायद मनको पनि पखेटा काट्न मिल्दो हो भने मनको ब्यथा आँखा का परेलामा आउने थिएनन् होला ।

प्रदेशीहरुको दैनिकी लगभग उस्तै जस्तो हुन्छ भारी बोक्न पालिएको गधाको जस्तो । घाटीमा काम र जिम्मेवारको घण्टी झुन्डाएर घाम झुल्के देखि घाम नअस्ताउद सम्म बर्खामासाको जोत्ने गोरुले जस्तो दाहीरहनुपर्ने । भारी बोक्नकै लागि पालेको गधाको जस्तो जिन्दगी । बढ्दो बेरोजगारी, महँगी र जिम्मेवारीले थाप्लोमा थिचेपछी खुसी किन्नै को लागि खुसी धितो राख्नुपर्ने गरिब देशमा जन्मलिनु पनि दुष्कर्म रहेछ । यस्तो जिन्दगी जिउने रहर कसैलाई हुदैन सबै परदेशीहरु को आआफ्नो बाध्यता र परिस्थिति छन् ।

घर परिवारको सुखको लागी एक मुठी खुसी किन्न आफ्ना इच्छा आकांक्षाहरुको हत्या गर्दै कहिल्यै नआउने भोलिको लागि सुन्दर सपनाहरूको माला उनेर कल्पनामा रमाउनु पर्ने । रहर मनमा कति हुन्छन् कति तर ती मनका रहर मनैमा राख्ने रहर कुन प्रदेशीहरुलाई हुन्छ र ?
जसरी एकाबिहानै चारो खोज्न निक्लेको चरी साझ परेपछि गुडमा फर्किन्छ त्यसै प्रदेशीहरु पनि उज्ज्वल भविस्यका सपनाको मालाहरु उनेर चरीले चारो खोजे झैँ प्रदेशीहरु उज्जवल भविस्य चारोको जोहो गर्दै हुन्छ प्रदेशमा । भोलिको उज्ज्वल दिन किन्नको लागि आजको दिनमा पसिनाको व्यापार गर्दै गर्दा घर गाउमा दसैं र तिहार आउँदा मनमा अतितमा भएको दसैंले भने केही हर्षका सिरेटोले छुने रैछ । कता कता मन खुसी हुन्छ अनि मनकी चरी उढेर घरको त्यो आगनीमा पुग्छ, अनि अतितका दिन सम्झिदै कल्पना मै दसैं मनाएको पत्तै नहुँदोरहेछ। र अर्को पटकको दसैंमा घर जाने सपनाको माला उन्दै दसैं सकिन्छ ।
अन्त्यमा बडादसैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना ! युवाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गर्न लागि सबै राजनीतिक शक्तिमा प्रेरणा मिलोस् ।

 

प्रकाशित मिति : २०८० कात्तिक ६ गते सोमबार