बाँकेको सुरक्षा व्यवस्था कडाः ढुक्क भएर चाडबाड मनाउन प्रशासनको आग्रह



बाँके ।

नेपालीहरूका महान् चाडबाड दसैँ, तिहार, नेपाल संवत् तथा छठलाई ध्यान राखेर बाँके जिल्लाको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको मुख्य रणनितिक पक्षहरू सार्वजनिक गर्दै ढुक्क भएर चाडबाडमा सामेल हुन समेत बाँकेबासीलाई आग्रह गरेको छ ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा समेत ल्याइसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । योजनाअनुसार जिल्लाका ३१ क्षेत्रलाई संवेदनशिल क्षेत्रको रूपमा पहिचान गरेर सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको छ ।

जिल्लाभर नै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । सादा पोशाकमा प्रहरीका साथै सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू समेत परिचालन भएका छन् ।

धार्मिक स्थल र धार्मिक गतिविधी हुने क्षेत्रको लागि समेत २४सैं घण्टा प्रहरीको निगरानी हुनेगरी सुरक्षाको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

कोहलपुर र नेपालगन्जमा समेत नेपाल प्रहरी सशस्त्र प्रहरीले कतै थप मद्दतका लागि जानुपरेमा जगेडा जनशक्ति तैनाथ गरेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका मात्रै १५ सय बढी जनशक्ति चाडपर्व लक्षित बिशेष सुरक्षा योजनाको लागि खटिएको डिएसपी डाँगीले जानकारी दिए ।

आसन्न चाडपर्वलाई लक्षित गरेर कार्यान्वयनमा ल्याईसकिएको ‘चाडपर्व विशेष सुरक्षा योजना , २०८० बाँके’ का केही पक्षहरू ।

नेपाल प्रहरी र शसस्त्र प्रहरिको १/१ वटा कमान्ड पोस्ट स्थापना भैसकेको ।

संवेदनशिल क्षेत्रको रूपमा पहिचान गरिएको ३१ स्थानमा नेपाल प्रहरीको पिकेट रहने, त्यसै गरि राजमार्गको सुरक्षा र सम्भावित उद्वारलाई फोकस गरेर शसस्त्र प्रहरीको थप २८ वटा पिकेट स्थापना गरि सुरक्षा प्रदान गरिने ।

नेपाल प्रहरीको १६ वटा मोबाईल टोलिद्वारा २४ घन्टा नै गस्ती गरिने ।

२ जना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिने ।

आकस्मिक उद्वार र मद्वतको लागि १० वटा क्विक रेस्पोन्स टिम स्ट्यान्ड बाई रहने ।

 सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिने ।

कोहलपुर र नेपालगन्जमा जगेडा जनशक्ति तैनाथ रहने ।

जमुनाह नाका, नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन भैसकेको छ ।

डबल चालक, चालक रिफ्रेस सेन्टर जस्ता पक्षमा अनुगमन गरिने ।

नियमित ट्राफिक चेकिङ जारी रहने ।

आर्थिक कारोबार हुने मुख्य ४ स्थानमा सशस्त्र प्रहरीद्वारा नियमित गस्ती गरिने ।

मेला/पर्व हुने मुख्य सिधनियाघाट, मानखोला, रामलिला मैदानको सुरक्षा ब्यवस्थामा शसस्त्र प्रहरीको गस्ती परिचालित हुने ।

नगर क्षेत्र भित्रका विभिन्न धार्मिक स्थलहरूको सशस्त्र प्रहरी बलद्वारा सघन गस्ती गरिने ।

मुख्य औद्योगिक तथा व्यापारिक केन्द्रमा शसस्त्र प्रहरी बलद्वारा विशेष सुरक्षा निगरानी राखिने ।

आतिषबाजी लगायतका अवैध विस्फोटक पदार्थको कारोबार नियन्त्रणमा शसस्त्रका ११ टोलि परिचालित हुने ।

नागरिकहरुलाई सुरक्षाको अनुभूति दिलाउने कार्यमा नेपाल प्रहरीका १ हजार १३ जना र सशस्त्रतर्फ ४ सय ९५ जना गरी कुल १ सय ५०८ सुरक्षाकर्मी प्रत्यक्ष घेरामा रहि जिम्मेवारीमा खटिनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक ५ गते आइतबार