अनुभूति: दसैँको दक्षिणा



सनत सापकोटा ।

अघिपछि खासै वास्ता हुँदैनथ्यो । तर वर्षमा एक दिनभने मलाई आफू छोरा भएर जन्मिएकोमा साह्रै नरमाइलो लाग्थ्यो । त्यो दिन हुन्थ्यो, दसैँको टीकाको दिन । त्यो दिन मलाई छोरो जनाउने आफ्नो अंगप्रति नै घृणा जागेर आउँथ्यो । ‘यही अंग भएर त म छोरो भएको हुँ नि !’ भन्ने लाग्थ्यो । आफ्नो तुन्तुरो काटेर मिल्काइदिउँ जस्तो रिस उठ्थ्यो ।

हजुरआमा, बाआमा र अंकलअन्टी मलाई र भाइलाई टीका लगाउँदै भन्नुहुन्थ्यो– ‘छोरी भएको भए दक्षिना पाउँथ्यौ, छोरा भएर जन्मियौ । क्यार्छौ त !’ साइँला अंकल अझ हामीलाई जिस्काउँदै भन्नुहुन्थ्यो– दक्षिणा लिनी हो भने त छोरी बन्नपर्च, सक्चौ छोरी बन्न ?!’

हो, त्यतिबेलै मलाई साह्रै नमज्जा लाग्थ्यो । ‘म पनि छोरी भएर जन्मिन पाएको भए…’ मनमा आउँथ्यो । बहिनीहरूप्रति अलिकति इष्र्या पनि जाग्थ्यो ।

हामी दाजुभाइ ङिच्च पथ्र्यौं । हाम्रो अँध्यारो अनुहार देखेर होला आमा भन्नुहुन्थ्यो– ‘तिमीहरूले मामाघरमा पाउँछौ नि त दक्षिना, योभन्दा डबल ।’
बहिनीहरूलाई भने टीका लगाएपछि हजुरआमा, बाआमा र अंकलअन्टी सबैले दक्षिणा दिन्थे । उनीहरू घरमा पनि दक्षिणा पाउँथे, मावलीमा पनि । उनीहरू दसैँमा थुप्रै दक्षिणा जम्मा गर्थे । तर हामीलाई भने घरमा कहिल्यै दक्षिणा दिइएन ।

त्यसैले होला बाल्यकालमा हामीलाई घरको टीकाको त्यति महत्व भएन जति मामाघरको टीकाको हुन्थ्यो । सायद यही अभाव पूर्ति गर्न हामी घरको टीका चाँडो–चाँडो भ्याएर मामाघर जाने हतारमा हुन्थ्यौँ । मामाघरमा भने छिमेकी घरमा समेत हामीलाई टीका लगाएर धेरथोर दक्षिणा मिल्थ्यो ।

हामीलाई दक्षिणासँग मतलब थियो । टीका लगाएर कसैले दक्षिणा दिएन भने हामी मनमनमा उसलाई सराप्थ्यौँ । दक्षिणा नदिने घर वा थोरै दक्षिणा दिने घरमा हामी पस्न मन गर्दैनथ्यौँ । सानो भएकाले आफूले दिनुपर्नेलाई पनि दक्षिणा दिनुपर्ने बाध्यता भने हामीलाई हुँदैनथ्यो ।
यो करिब २०४५ सालअघिको कुरा हो, जब म सानै थिएँ । कान्छा अंकल पनि मभन्दा केही वर्षले मात्र जेठो हुनुहुन्थ्यो ।

मेरो जस्तै अवस्था घरमा कान्छा अंकलको पनि थियो । त्यसैले हाम्रो पीडा मिल्थ्यो, मन मिल्थ्यो र मतो पनि मिल्थ्यो । दसैँमा हाम्रो छुट्टै योजना बन्थ्यो । घरमा टीकाटालो सिध्दिएकै हुँदैनथ्यो । तर हामी भने हतारहतार घरका मान्यजनसँग टीका लगाएर फुत्किहाल्थ्यौँ, मामाघरका लागि । बाआमालाई कुर्न थाल्यो भने हाम्रो योजना चौपट हुनसक्थ्यो ।

दशमीको दिन एक दिन मात्र हाम्रो टीका हुन्थ्यो । त्यसैले त्यो दिनजस्तो हतार हामीलाई कहिल्यै हुँदैनथ्यो । पुग्नुपर्ने ठाउँमा पुगिएन भने त्यहाँ मिल्ने दक्षिणा त गयो ! हाम्रै गाउँमा पनि पश्चिमी समाजका मानिसहरू पूर्णिमासम्म निधारभरि राता टीका र कानभरि जमरा लगाएर हिँड्थे । तर हाम्रो पूर्वेली समाजमा भने टीका एक दिनमात्र हुन्थ्यो । यो देखेर हामीलाई रिस उठ्थ्यो । पाँच दिनसम्म टीका लगाउन पाउनु नि ! पुग्नुपर्ने ठाउँमा ढुक्कले पुग्न त पाइन्थ्यो !

घरका ठूला मान्छेलाई टीका थाप्न आउने आफन्तलाई कुर्नुपर्ने हुन्थ्यो । हामीलाई भने त्यस्तो बाध्यता थिएन । हामी भने आ–आफ्ना मामाघरतिर हिँडिसकेका हुन्थ्यौँ । टीकाको दिन खाने कुरामा पनि त्यति लोभ हुँदैनथ्यो जति दक्षिणाको हुन्थ्यो ।

दसैँको दिन कान्छा अंकल र मेरो गन्तव्य एउटै हुन्थ्यो । बा अर्थात अंकलहरूको मावली तिल्कानामा थियो । मेरो मावली तमौलीपुरमा । दुवै ठाउँ भारतीय सीमाक्षेत्र नजिक एकआपसमा करिब ५–७ किलोमिटरको दूरीमा छन् ।

बाका मावली मेरा बूढा मावली भए । त्यहाँ मलाई पनि दक्षिणा मिल्ने नै भयो । फेरि अंकलका लागि मेरो मावली दाइको ससुराली थियो, त्यहाँ अंकलले पनि ज्वाइँको थान्कोमा दक्षिणा पाउने नै हुनुभयोे । त्यसैले हाम्रा लागि दुवै ठाउँ आकर्षक थिए । फेरि ती दुवै ठाउँमा पाइने दक्षिणा पनि आकर्षकै हुन्थे । त्यसैले टीका भएसम्म ती दुवै ठाउँ हामी छुटाउँदैनथ्यौँ ।

हामीले टीका थाप्नुपूर्व नै यस वर्षको दक्षिणाको हिसाबकिताब गरिसकेका हुन्थ्यौँ । हाम्रो त्यो हिसाब ठ्याक्कै नमिले पनि करिबकरिब मिल्न आउँथ्यो । अंकल अलि ठूलो भएकाले १०–२० रूपैयाँ उहाँको बढी हुन्थ्यो । हामी एउटा टार्जेट लिएर टीका थाप्ने धपेडीमा हुन्थ्यौँ ।

हामी कहिले राजापुर, तिल्काना, पहाडीपुर, रानीपुर हुँदै तमौलीपुर पुग्थ्यौँ । त्यो दिनको बास तमौलीपुरमा हुन्थ्यो । कहिले तमौलीपुर, रानीपुर, पहाडीपुर हुँदै राजापुर (तिल्काना राजापुर) पुग्थ्यौँ । त्यो रातको बास भने राजापुरबाट फर्किएर तिल्काना हुन्थ्यो । राजापुरमा हामी रात बिताउन त्यति मन गर्दैनथ्यौँ (खै कुन मनोविज्ञानले काम गरेको थियो, कुन्नि) ।

अंकलको जोड आफ्नो मावलीमा बास बस्ने गरी रुट मिलाउने हुन्थ्यो भने मेरो जोड आफ्नो मावलीमा बास बस्ने गरी । त्यसैले बास बस्ने कुरामा रोटेसन मिलाएका थियौँ । कुनै वर्ष अंकलको कुरा लागू हुन्थ्यो, कुनै वर्ष मेरो कुरा । हामी बाटोमा पर्ने दक्षिणा आउने एकै घर पनि नछोडी पस्थ्यौँ ।

जे होस् कोही नछुटुन् कोही नदोहोरिऊन् भन्ने मान्यतामा हामी प्रतिबद्ध थियौँ । दोहोरिए फरक पर्दैनथ्यो तर छुट्नचाहिँ भएन । मेरा मावली मात्र नभएर मावली पर्ने सबै घर र अंकलका मावली मात्र नभएर मावली पर्ने सबै घर छुट्दैनथे चाहे रातको १२ किन नबजोस् । कुरो दक्षिणाको थियो नि त !

सायद २०४४/०४५ सालतिरको कुरा हुनुपर्छ । हामी घरको टीका भ्याएर मावली जान भनेर हिँड्यौँ । अंकल–भतिजको पैदल मार्च सुरु भयो । यसपालि हाम्रो रुट थियो– माछाडढ टु तमौलीपुर । तमौलीपुर टु तिल्काना–राजापुर–तिल्काना । यदि अबेर भयो र कसै नभ्याइने भयो भने हामी राजापुरलाई हापिदिन्थ्यौँ । यद्यपि राजापुर हापेकोमा हामीलाई भोलिपल्ट पछुतो हुन्थ्यो । तर नभ्याएपछि गर्ने के त !

अंकल र म तमौलीपुर जान भनेर हिँड्यौँ । बाटोमा हाम्रो ट्रान्जिट कहीँ थिएन । बाटोमा हाम्रा गफ प्रायः दक्षिणाकै विषयलाई लिएर हुन्थे । आफ्नै मावलीहरूमा पनि हामीले दक्षिणा बढी आउने र कम आउने घर छुट्याएका थियौँ । बाका साइँला मामा अर्थात ब्रह्मानन्द सर र कान्छा मामा अर्थात सदानन्द सर दक्षिणाका कारण हाम्रा सबभन्दा आकर्षणका केन्द्र थिए । त्यसैगरी मेरो मावलीमा कान्छा मामा अर्थात रुद्र सरको घर आकर्षक थियो । त्यहाँ मिल्ने दक्षिणा प्रत्येक वर्ष थपिएर आउँथ्यो, घट्दैनथ्यो । दसैँमा यी घर ज्यान गए छुट्दैनथे ।

हामीले मेरो मामाघरमा टीका थाप्यौँ । पाउनुपर्ने दक्षिणा सुरक्षित तरिकाले खल्तीमा राख्यौँ । माइजूले प्रसाद दिनुभयो । प्रसाद खाएपछि हामीले हतारो देखायौँ । हाम्रो हतारो बुझेपछि माइला मामाले भन्नुभयो– ‘हैन यतिबेला अब काँ जानी हो ? यतै बसे हुन्न ?’

‘तिल्काना मामाकाँ जान परेन !’ अंकलले भन्नुभयो । तमौलीपुरमै साँझ पर्न आँटेको थियो । दसैँको दिन भएकाले साँझ के रातै परे पनि समस्या थिएन । आधा रातिसम्म पनि दसैँमा टीका लगाउनेको बाटोमा ओहोरदोहोर भइराख्थ्यो ।

हामी जाने नै भएपछि मामाले भन्नुभयो– ‘जानी नै हो भने ढिलो नगर्नोस् त नि !’

हामी त्यहाँबाट हिँड्यौँ । खोलो तरेर रानीपुर पुग्यौँ । रानीपुर तमौलीपुरतिर माइती, मावली, ससुराली हुनेहरू टीका थाप्न हिँडिरहेका थिए । बाटाका प्रत्येक घरमा आफन्त टीका थापिरहेका देखिन्थे । हाम्रा जस्तै ती पनि पक्कै कसैका मावली– ससुराली घर थिए ।

हामी पहाडीपुर पुग्यौँ । त्यहाँ अंकलहरूका ठूला मामा अर्थात सूर्यानन्द सुबेदीको घर थियो । त्यहाँ टीका थाप्यौँ । हाम्रो ध्यान घरमा धेरै जना हुन् र सबैले टीका लगाएर दक्षिणा दिऊन् भन्ने हुन्थ्यो ।

दक्षिणाबाहेक हामीलाई अरू कुरासँग सरोकार थिएन । खानेकुरामा हाम्रो कत्ति पनि रुचि थिएन । अलिअलि खाँदाखाँदै पनि त्यो दिन पेट घट्नै पाएको हुँदैनथ्यो । कतिपय घरमा त पानी मात्र खाएर पनि हामी हिँड्थ्यौँ ।

एउटा घरमा टीका लगाएर निस्केपछि हामी दक्षिणा कति छ भन्ने कुरा हेरिहाल्थ्यौँ । हामीलाई कुर्ने धैर्य हुँदैनथ्यो । आफूले अनुमान गरेभन्दा बढी छ भने मख्ख पथ्यौँं । कम छ भने खिस्रिक्क ।

पहाडीपुरमा टीका लगाएपछि हामी तिल्कानातिर अगाडि बढ्यौँ । साइँला हजुरबा अर्थात ब्रह्मानन्द सरको घर आउनुअघि एउटा घर थियो ।
‘ओए केटा यो घर पस्नी हो ?’ अंकलले मसँग सोध्नुभयो ।

‘कस्को घर हो र यो ?’ मैले भनेँ ।

‘मकै खोले बूढाको घर हो,’ अंकलले भन्नुभयो, ‘हाम्रा मामाका दाजुभाइ पर्छन् ।’

मलाई त्यो कुरा थाहा थिएन । हामी कहिल्यै त्यो घर टीका लगाउन पनि पसेका थिएनौँ ।

तर यसपालि हाम्रो टार्जेट पूरा नहोला जस्तो थियो ।

‘ए त्यसो भए पसम् न त,’ मैले भनेँ, ‘यो घर पाँच रुपियाँ दिए भने मेरो पनि एक सय पचास रूपैयाँ पुग्छ ।’

मसँग एक सय पैँतालीस रुपियाँ भइसकेका थिए । यस वर्ष मेरो दुई सयको टार्जेट थियो । अंकलको दुई सय पचासको ।

‘तँलाई पाँच रुपियाँ दिए भने मलाई दश रुपियाँ त कसो नदेलान् !’ अंकलले भन्नुभयो, ‘दश रुपियाँ दिए भने मेरो पनि एक सय पचहत्तर पुग्छ ।’
पहिला कहिल्यै टीका नलगाएकाले त्यहाँ कति दक्षिणा मिल्ला भन्नेमा हामी अन्यौलग्रस्त थियौँ । तर बाका मावली भएकाले राम्रै देलान् भन्ने अनुमान चाहिँ थियो ।

खै के कारण हो, यसपटक राजापुर जाने हाम्रो योजना बनेको थिएन । त्यसैले हामीसँग समय प्रशस्त थियो । अब ब्रह्मानन्द सरको एउटा घरमात्र टीका लगाउन बाँकी थियो ।

मकै खोले बूढाको घर बाटोदेखि अलिकति भित्रपट्टि पथ्र्यो । सडकबाट आलीको बाटो दुई मिनेट फाँट हिँड्नुपथ्र्यो । हामी उनको घरतिर सोझियौँ ।

झमक्क साँझ परिसकेको थियो । तर पनि सडकमा मान्छेको आवतजावत चलिरहेकै थियो । आकासमा टहटह जून लागिरहेका थिए ।
‘ओए केटा साँच्चै भन् त यो घर हामीलाई दक्षिना कति देलान् ?’ कान्छा अंकलले मसँग भन्नुभयो । ‘अब मलाई के था ? तपाईंको मामाघर हो के रे !’ मैले भनेँ, ‘तपैँलाई १० रुपियाँ र मलाई पाँच रुपियाँ त कसो नदेलान् !

बरु आउनोस् बढी दक्षिणा मिलोस् भनेर भगवान्सँग प्रार्थना गरौँ ।’ प्रार्थना गर्नलाई त्यहाँ वरिपरि न कुनै मन्दिर थियो न मूर्ति । मैले झट्ट जून सम्झेँ । हामी बेलाबेला जूनलाई जूनमामा भनेर नमस्कार गथ्र्यौं ।

मैले जूनतिर फर्केर नमस्कार गर्दै भनेँ– ‘हे भगवान् यो घरमा हामीलाई सबभन्दा बढी दक्षिणा मिलोस् ।’ अंकले पनि मेरै सिको गर्नुभयो ।
हामी अगाडि बढ्यौँ । आँगनमा सुनसान थियो । ढोका भने खुलै थियो ।

ढाकोतिर चिहाउँदै अंकलले भन्नुभयो– ‘घरमा को हुनुहुन्छ ?’

एकछिनसम्म केही चालचुल भएन । अंकल फेरि अलि चर्को स्वरमा चिच्याउनुभयो ।

घरकी बूढीमाउ बत्ती लिएर बाहिर निस्किन्– ‘को हो ?’

‘नमस्कार…, हामी हौँ,’ अंकलले भन्नुभयो । अंकलसँगै मैले पनि नमस्कार टक्र्याएँ । ‘ए… आऊ बाबू भित्रै आऊ,’ बूढीमाउले हामीलाई भित्र लगेर बसालिन् ।

बूढा पनि भित्रै रहेछन् । घरमा बूढाबूढीबाहेक अरू कोही थिएन । घरमा बूढाबूढीबाहेक अरू कोही रहेनछन् कि ! मैले मनमनै सोचेँ ।
‘हामी त अब सुत्नी तरखर गर्न लाथेम्,’ बूढीमाउले भनिन् ।

बूढाले टीकाको थाली ल्याएर पहिला अंकललाई टीका लगाइदिए । त्यसपछि मलाई । टीका लगाउन पनि उनले निकैबेर लगाए । मन्त्र पनि भट्याए । एउटा टालोले टीका लगाएको हात पुछेपछि बूढा अर्कोपट्टि फर्किर आस्कोटको खल्तीमा हात घुसारे ।

फेरि हामीतिर फर्किएर ‘यसो चिसो हात’ भन्दै एउटा सिक्का ट्यास्स अंकलको हातमा थमाए । अर्को एउटा मलाई दिए ।
अंकल र म एकअर्काको मुख हेर्दै खिसिक्क हाँस्यौँ ।

त्यहाँबाट नमस्कार गर्दै हामी बाहिरियौँ । अलि वर आएपछि जूनको उज्यालोमा सिक्का हे¥यौँ । अंकललाई एक रुपियाँको सिक्का रहेछ । मलाई भने सुकाको सिक्का ।

कति हाँस्नु ! हामी अलि वर आएर पेट मिचिमिची हाँस्न थाल्यौँ ।

पाँच रुपियाँको आशा गरेको ठाउँमा सुकामा चित्त बुझाउनुपर्दा मलाई कस्तो भयो होला ! बढी दक्षिणाका लागि जूनलाई नमस्कार गर्दै प्रार्थना गरेको पनि काम लागेन ।

सायद त्यो अन्तिम वर्ष थियो, हामीले यसरी टीका लगाएको । त्यसपछिका टीकाका दिनमा भने हामीले त्यसरी धपेडी कहिल्यै गरेनौँ । सायद हामी क्रमशः ठूला पनि हुँदै गएका थियौँ ।

आज ती दिन सम्झिँदा आफैँलाई कताकता लाज लाग्छ । रमाइलो पनि लाग्छ । आखिर त्यस्ता दिन पनि त थिए ।

हिजोआज चाडबाडमा अन्यत्र त छोडौँ आफ्नै मावली–ससुराली पनि जान नपरे हुन्थ्यो जस्तो लाग्छ ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक ६ गते सोमबार