नेपालगन्ज ।
टन्टलापुर घाममा घन्टौँ लाइन लाग्नुपर्ने बाध्यता । नेपाल र भारतका सुरक्षाकर्मीको ठाउँ–ठाउँ चेकजाँच । त्यही पनि नेपाली ग्राहकहरू किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपैडियामा जान छाडेका छैनन् । क्यारिङ होस् चाहे घरायसी किनमेलका नाममा रुपैडियाका जाने ग्राहकका कारण दैनिक लाखौंको राजस्व घाटा हुनुका साथै नेपालगन्ज, कोहलपुरलगायतका बाँके जिल्लाका प्रमुख बजारहरू सुनसान रहने गरेका छन् ।
राज्यलाई राजस्व दिएर, महँगो सटर भाडा लिएर र लाखौँ लगानी गरेर व्यापार गरिरहेका स्वदेशी व्यापारीहरू भने ग्राहक नआएपछि मोबाइल हेरेर र चोकमा जम्मा भएर क्यारेमबोर्ड खेलेर दिन कटाइरहेका छन् । एक त आर्थिक मन्दीका कारण अत्यावश्यकबाहेकका सामान किन्ने ग्राहकको संख्यामा कमी आएको छ । त्यसमा पनि ग्राहक रुपैडिया दौडिएपछि कतिपय पसलमा त दिनमा एउटै ग्राहक पनि नआउने गरेको तीतो अनुभव व्यापारीहरू सुनाउँछन् ।
बडादसैंँ सुरु भइसकेको छ । अरू बेला व्यापार नभएपछि चाडपर्वका बेला कारोबार हुने आशामा हुन्छन् व्यापारी । तर अहिले चाडपर्वका बेला पनि व्यापार बढ्न नसकेको उनीहरू सुनाउँछन् । थोक कपडाको ठूलो पसल नन्कुराम होलीरामका सञ्चालक एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्य भन्छन्, ‘बजारमा सन्नाटा छ । व्यापारीको मुहारमा मुस्कान आउन सकेको छैन ।’ पर्वका लागि विगतमा थामी नसक्नु भीड हुने गरेको भए पनि अहिले त्यस्तो अवस्था नरहेको वैश्यले बताए ।
सस्तोको लोभमा कैयौँ ग्राहक दैनिक रुपैडिया जान्छन् । तस्करी गर्नेहरू त्यसैमा मिसिन्छन् । मूल्यमा नेपालगन्ज र रुपैडियामा ठूलो अन्तर भने हुँदैन । रिक्सा भाडा, नेपाल र भारतीय सुरक्षाकर्मीको चेकजाँचको टन्टा हेर्ने हो भने नेपालगन्ज र कोहलपुरमै सामान किन्नु धेरै राम्रो भएको सुनाउँछिन्, नेपालगन्ज–१२ की बर्षा पोखरेल । उनी भन्छिन्,– ‘चर्को घाममा जमुनाहा र रुपैडियामा घण्टौँ लाइन लागेर त्यहाँ जानुभन्दा नेपालगन्जमै सामान किन्नु ठीक ।’
नेपालगन्ज उद्योग वाणिज्य संघले केही दिनअघि नाकामा गएर स्वदेशमै किनमेल गर्न भन्दै प्रचारात्मक अभियान सुरु गरेको थियो । तर त्यसले खासै ग्राहकलाई छेक्न सकेन । अहिले पनि नाकामा भीड उस्तै छ । नेपालगन्ज भन्सारका कर्मचारी र सुरक्षाकर्मीले कडाइ गरे पनि रोक्न सक्ने अवस्था छैन । झन् लामो लाइनका कारण नाका अस्तव्यस्त बनेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिम रानाभाट पनि रुपैडियामा नेपाली ग्राहकहरू गएका कारण नेपालगन्ज, कोहलपुरलगायतका स्वदेशी बजार सुनसान देखिएको बताउँछन् । ‘स्वदेशमै किनमेलको वातावारण निर्माण नगर्दासम्म यस्तै हुन्छ । तर हामीले सधैँ यस्तो हुन दिनुहुँदैन । सरकारले स्पष्ट नीति बनाएर केही न केही गर्नैपर्छ,’ उनले मिसन टुडेसँग भने ।
बाँकेकै जस्तो हालत छ बर्दियाका व्यापारीहरूको पनि । विशेषगरी भारतीय सीमाक्षेत्र नजिकका नेपाली बजारहरू यतिबेला सुनसान छन् । बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका प्र्रमुख बजारहरू बाँसगढी, मैनापोखर शितलाबजारलगायतमा दसैँ सुरु भइसक्दा पनि आशातीत व्यापार हुन नसकेको व्यापारीहरूको गुनासो छ ।
नेपाली ग्राहकहरू चाडबाडका लागि अत्यावश्यक सामान खरिद गर्न लौकाही, बलैगाउँजस्ता सीमा क्षेत्रका भारतीय बजारतिर जाने गरेका छन् । ‘मानिसले अहिले अति आवश्यक सामानबाहेक किनमेल नै गर्न छोडे,’ बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीनाथ बराल भन्छन्– ‘तीन चार जना मिलेर एउटा अटो बुक गर्छन् र किनमेलका लागि बलैगाउँ वा लौकाही जान्छन् । उनीहरूका लागि घुमफिर जस्तो पनि हुने, किनमेल पनि हुने ।’
सीमाक्षेत्रका नेपालीहरू घरायसी किनमेलका लागि भारतीय बजारतिर ओइरिन थालेपछि व्यापारीहरूले यसमा पनि भन्सार कर लगाउनुपर्ने आवाज उठाउन थालेका छन् । ‘एकातिर सरकारको राजस्व घाटा भइरहेको छ, अर्कातिर नेपाली व्यापारीलाई मार परिरहेको छ,’ राम फेन्सी बाँसगढीका रामबहादुर बुढाथोकी भन्छन्, ‘घरायसी प्रयोजनका किनमेलमा पनि केही मात्रामा भए पनि सरकारले कर लगाउनुपर्छ ।’