बाँके ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशको बझाङमा भूकम्पले पु¥याएको क्षति अवलोकन गरेका छन् । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट बझाङ गएका प्रधानमन्त्री प्रचण्डले सदरमुकाम चैनपुरमा भूकम्पले पु¥याएको क्षति अवलोकन गरेका थिए ।
उनले त्यहाँका स्थानीय जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग भूकम्पबाट भएको क्षति र तत्काल राहतका लागि भएका कामहरूको जानकारी लिएका हुन् ।
प्रधानमन्त्रीसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, विपद् व्यवस्थापन प्राधिकरका प्रमुख अनिल पोखरेल पनि गएका थिए । भूकम्पपीडितको अवस्था र तत्काल आवश्यक राहतका लागि सम्बन्धित निकायलाई निर्देशन दिई प्रधानमन्त्री प्रचण्डसहितको टोली शुक्रबार नै काठमाडौं फर्किएको थियो ।
गत मंगलबार दिउँसो २ः४० बजे तालकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता चैनपुर र तालकोट केन्द्रबिन्दु भई दर्जनौं पराकम्प गएका छन् । भूकम्पबाट बझाङमा ६० घरसहित १ सय ३५ संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ ।
केदारस्यूँमा १, बित्थडचिरमा २ तथा बुङ्गल नगरपालिकामा ४ घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको छ । भूकम्पपछि आएको पहिरोमा परी जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
यस्तै, सरकारले भूकम्पबाट घर पूर्णरूपमा क्षति भएका भूकम्पपीडितलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ राहत दिने भएको छ । भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री प्रचण्डले राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम घोषणा गरेका हुन् ।
भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्डबमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च दिने भएको छ ।
राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन गरिनेछ भने थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताइएको छ । भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ ।
यस्तै, भूकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु भएकाको परिवारलाई तत्काल २ लाख सहयोग दिने भएको छ ।
भूकम्पले भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरूको दीर्घकालीन पुनर्निर्माण र पुनस्र्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई यसअघि गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा गरिएको पुनर्निर्माणजस्तै स्थानीय सामग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निर्माणको काम अगाडि बढाइने प्रतिबद्धता जनाइएको छ ।