कमेन्ट र भिडियोले बिथोलेको सद्भाव



दुवै धर्म र धर्मगुरुका विरुद्ध सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट लेख्ने र टिकटकमा भिडियो बनाएर हाल्नेहरूमाथि प्रशासनले समयमै कारबाही गर्न नसक्दा नेपालगन्जमा अहिलेको परिस्थिति सिर्जना भएको हो । केही दिनयता सामाजिक सञ्जाल र टिकटकमा भइरहेको मनमुटाव मंगलबार सडकमा नै आमनेसामने भएको थियो । फेसबुकको कमेन्ट र टिकटकको भिडियोले दुई धार्मिक समुदायबीच रहेको वर्षांैदेखिको सद्भावमा तनाव ल्याइदिएको छ ।


कृष्ण ओली । बाँके ।

सामाजिक सद्भाव भड्किनेगरी सामाजिक सञ्जाल फेसबुकमा गरिएको कमेन्ट र टिकटकमा हालेको भिडियोेलाई लिएर नेपालगन्जमा दुई धार्मिक समुदायबीच तनाव सिर्जना भएको छ । फेसबुक स्टाटसमा गरिएको कमेन्टबाट सुरु भएको विवाद टिकटकमा हालिएको भिडियो हुँदै मंगलबार मध्याह्न दुई समुदायबीच तनावमा परिणत भएको थियो ।

नेपालगन्जमा वर्षौदेखि मिलेर बसेका दुई धार्मिक समुदायबी कमेन्ट र भिडियोले केही दिनमै विवादमात्रै होइन, तनावै उत्पन्न गरायो । स्थानीय प्रशासन यसबारेमा सुरुदेखि नै जानकार रहे पनि फेसबुक कमेन्ट र टिकटकको भिडियोले पछि पार्ने प्रभावलाई मतलब गरेन ।

प्रशासनले त्यसलाई नजरअन्दाज गर्दा नेपालगन्जमा सदियौंदेखिको धार्मिक सद्भाव र आपसी भाइचारामा विगत केही दिनको प्रदर्शनले आघात पारिदिएको छ । कारण जेसुकै भए पनि नेपालगन्जमा सद्भावको कामना गरिरहेका सबै धार्मिक समुदायहरूको मनमा फेरि मंगलबारदेखि भय देखिएको छ । यहाँका सर्वसाधारणहरू त्रासमा छन् ।

सामाजिक सद्भाव कायम गर्ने तमाम प्रयत्नहरू गरिए पनि सफल भने हुन सकेको छैन । मंगलबार बिहानै नेपालगन्जमा सरोकारवालाहरू, धार्मिक गुरुहरू, सामाजिक अगुवालगायतले सद्भाव ¥याली निकालेका थिए । त्यसको केही घण्टामै आइतबार एक धार्मिक समुदायले निकालेको ¥यालीलाई काउन्टर दिने भनेर अर्को धार्मिक समुदायले निकालेको ¥यालीमा फरक परिस्थिति बनेको थियो ।

बागेश्वरी मन्दिर पूर्वको पार्कबाट सुरु भएको ¥याली न्युरोड, सेतु विक चोक, धम्बोझी चोक हुँदै बीपी चोकसम्म पुग्दा एकदमै शान्त थियो । बीपी चोकबाट इदगाह रोड हुँदै ¥याली त्रिभुवन चोक जाँदै गर्दा एकाएक तनाव उत्पन्न भयो । बिहानै धार्मिक गुरुहरूको उपस्थितिमा निकालेको सद्भाव ¥यालीलाई चुनौती दिँदै दुई धार्मिक समुदायहरू एकअर्काविरुद्ध आक्रमण उत्रिएका थिए ।

नगरका अन्य भागमा समेत तनाव सिर्जना भएर परिस्थितिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिन नसकेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले कफर््यु आदेश जारी गरे । कफर््यु जारी भए पनि नगरका केही स्थानहरूमा दुई समुदायबीच झडप भइरहेको
थियो । तनावलाई नियन्त्रणमा लिन खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई साथ लिन सडकमा नेपाली सेना परिचालन गरिएपछि सुरक्षाकर्मीले परिस्थितिलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।

कफर््युको उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएकालाई तितरबितर पार्न सुरक्षाकर्मीहरूले लाठीचार्ज, अश्रुग्यांस र हवाई फायरसमेत गर्नुपरेको थियो । मंगलबार कफर््युपछि परिस्थितिलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएपछि बुधबार रातिसम्मै नेपालगन्ज सुनसान रहेको थियो ।
मंगलबार साँझदेखि प्रदर्शनलगायतका अन्य गतिविधि नेपालगन्जमा नभएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

‘नेपालगन्जको परिस्थिति कफर््यु जारी भएपछि हाम्रो नियन्त्रणमा छ । कहीँकतै केही भएको छैन,’ उनले भने, ‘कफर््युको कार्यान्वयन गर्न र कुनै अप्रिय घटना घट्न नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ सुरक्षाकर्मीहरूले अत्यावश्यक कामबाहेक कसैलाई घर बाहिर निस्कन दिएका छैनन् । सडकमा समेत सुरक्षाकर्मीहरूले चेकजाँच कडा पारेका छन् ।

मंगलबार तनाव उत्पन्न भएपछि प्रहरी प्रशासनले संयमित भएर नियन्त्रणको प्रयास गरेको थियो । तर यो परिस्थिति आउनुपूर्व नै प्रशासनले सामाजिक सद्भाव भड्काउने कारक तत्वका खोजी गरेर कानुनी कारबाही गर्नुपर्नेमा त्यसो नगरेको सर्वसाधारण आरोप लगाउँछन् । सामाजिक सञ्जालमा सद्भाव भड्किने गरी दिएका अभिव्यक्तिलाई निगरानी नगरेको र थाहा पाउँदा पनि त्यसलाई नजरअन्दाज गरेको धेरैको बुझाइ छ ।

नेपालगन्जलाई पुरानै लयमा फर्काउन नेपालगन्जबासी स्वंय अग्रसर भई सद्भाव र एकताका लागि अंकमाल गर्नुपर्ने अवस्था आएको छ । प्रशासनले पनि दुवै समुदायलाई कानुनी राज्यको प्रत्याभूति दिलाउनुपर्ने दुवै समुदायका अगुवाहरू बताउँछन् ।

सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमता अपनाउन आह्वान 

जिल्ला प्रशासन कार्यालय, बाँकेले सामाजिक सञ्जालमार्फत् सामाजिक सद्भाव भड्किने क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
फेसबुक र टिकटकबाट सुरु भएको आरोप–प्रत्यारोपले उग्ररूप लिँदै जाँदा नेपालगन्जमा दुई धार्मिक समुदायबीच झडप भएपछि प्रशासनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई संयमता अपनाउन आह्वान गरेको हो ।

बुधबार कार्यालयका प्रशासकीय अधिकृत विष्णु साहनीले प्रेस विज्ञप्तिमार्फत शान्ति सुव्यवस्था कायम गर्न धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न÷नगराउन अनुरोध गरेका हुन् । नेपालगन्जको सामाजिक सद्भाव बिथोल्न स्थानीय सामाजिक सञ्जाल प्रयोगकर्ता मात्रै नभएर अन्यत्रका पनि सक्रिय भएको पाइएको छ ।

आफूलाई भारतको हिन्दू राष्ट्रवादी संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को सदस्य भएको बताउने पंकज दासले प्रविधिको प्रयोग गरी बनाएको नक्कली अडियो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले १२ वर्ष पुरानो अडियोलाई नेपालगन्जको भन्दै सार्वजनिक गरेको पाइएको हो ।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहीबार