दाङ ।
दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको हो । जिल्लाबाट आव २०७८/७९ मा २ लाख ४१ हजार ७ सय ४२ किलो बिक्री भएको थियो ।
आव २०७९/८० मा १ लाख ५ हजार ९ सय ६ किलो मात्रै टिमुर बिक्री भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार गत वर्ष करिब १ लाख ५५ हजार ८ सय ३६ किलो टिमुर कम बिक्री भएको छ ।
सहायक वन अधिकृत चौधरीका अनुसार आव २०७८/७९ मा राष्ट्रिय वनबाट २९ हजार ५ सय ५० किलो र निजी वनबाट २ लाख १२ हजार १ सय ९२ किलो टिमुर जिल्लाबाहिर बिक्रीका लागि लगिएको थियो । बिक्री गरी ३ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन भएको सहायक वन अधिकृत चौधरीले बताए ।
आव २०७९/८० मा राष्ट्रिय वनबाट १३ हजार किलो र निजी वनबाट ७२ हजार ९ सय ६ किलो बिक्री हुँदा १ लाख ४५ हजार रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको छ । आव २०७८/७९ मा राष्ट्रिय वनबाट ४४ हजार १ सय किलो तेजपात, ३ हजार किलो अमला, ४३ हजार १० किलो रिठा, १ हजार ५ सय किलो बर्रो, २ हजार ५ सय केजी लहरे गुर्जो, १ हजार किलो ब्राहमी, २ हजार किलो चुत्रोको बोक्रा बिक्री भएको छ भने निजी वनबाट आव २०७९/८० मा बर्रो ५ सय किलो, लहरे गुर्जो २ हजार किलो, धाइरोको फूल, बेलचना, पुदिना र भृङ्ग्राज ५/५ सय किलो, दुधे–लहरा १ हजार ५ सय किलो, ब्राहमी १ हजार किलो, चुत्रोको बोक्रा ७ हजार ७ सय किलो, दालचिनी ३ हजार किलो, टटेलोको बोक्रा ४ हजार किलो तथा कालीकाठको दाना १४ हजार किलो बिक्री भएको छ ।
निजी वनबाट आव २०७८/७९ मा २७ हजार ४ सय किलो दालचिनीका बोक्रा, काउलो बोक्रा २९ हजार किलो, मालागेँडी ५५ हजार २ सय किलो, रतिगेडी, चुत्रो र कालीकाठ १ हजार किलो, पाखनवेद १ हजार ६ सय किलो, अमलावेद ६ सय ५० किलो निर्यात भएको थियो भने आव २०७९/८० मा दालचिनीको बोक्रा ७ हजार १ सय ४५ किलो, मालागेँडी १३ हजार ५ सय, काउलो बोक्रा ४३ हजार ९ सय ९५ किलो, अमला फल १ हजार किलो, तिगेडी ५ हजार र कालीकाठ ८० हजार ८० किलो जडीबुटी बिक्री भएको सहायक वन अधिकृत चौधरीले जानकारी दिए ।
गत वर्ष जिल्लामा टिमुर कम उत्पादन हुँदा बिक्रीमा पनि कमी आएको सहायक वन अधिकृत चौधरीले बताए । हिउँदमा पानी नपर्दा टिमुर उत्पादनमा कमी आएको हुनसक्ने भन्दै सहायक वन अधिकृत चौधरीले भने, ‘जिल्लाबाट बिक्री भएको टिमुरको परिमाणलाई हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा गत आवमा करिब दोब्बर कम मात्रामा टिमुर बिक्री भएको छ ।’
टिमुर उत्पादनका लागि दाङलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । टिमुर पकेट क्षेत्रअन्तर्गत जिल्लाको बङ्गलाचुली गाउँपालिकासहित घोराही र तुलसीपुर उपमहानगरपालिकाको पहाडी क्षेत्रमा टिमुर खेती हुने गरेको छ । राष्ट्रिय वन क्षेत्रबाट उत्पादित टिमुरबाट राजस्व लिने गरिन्छ भने निजी वनबाट उत्पादन भएको टिमुरको राजस्व लिने नगरिएको सहायक वन अधिकृत चौधरीले बताए ।
प्रतिक्रिया दिनुहोस्