बाँकेमा बढ्दै तस्करीः मुख्य नाकामा कडाइ, सहायक नाकाबाट तस्करी



चोरीपैठारी नियन्त्रण गर्न चौलिका चोकदेखि जमुनाहसम्म भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको चार ठाउँमा चेकिङ हुन्छ । तर पनि किनमेलका लागि रुपैडिया जानेलाई त्यसको कुनै पर्वाह हुँदैन । अर्कोतर्फ सबै निकाय मुख्य नाकामै केन्द्रित हुँदा अन्य नाकाबाट तस्करीका सामान नेपालगन्ज भित्रिन्छन् । त्यसरी भित्रिएको सामान नेपालगन्जका गोदामहरूमा ‘स्टक’ गरेर यही र अन्य जिल्लामा बिक्रीका लागि पठाइने गरिन्छ ।

नेपालगन्ज ।

चोरीपैठारी नियन्त्रण गर्न चौलिका चोकदेखि जमुनाहसम्म भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको चार ठाउँमा चेकिङ हुन्छ । मुख्य नाकामा यसरी कडाइ गरे पनि अवैध सामान भित्रिन छाडेको छैन । मुख्य नाका होइन अन्य नाकाबाट प्रशस्तै सामान भित्रिने गरेको छ । त्यसरी भित्रिएको सामान नेपालगन्जका गोदामहरूमा ‘स्टक’ गरेर यही र अन्य जिल्लामा बिक्रीका लागि पठाइने गरिएको छ ।

चोरीपैठारी नियन्त्रणको अख्तियारी पाएका सरकारी निकायको लापरबाही र तस्करलाई प्रोत्साहन गर्ने कार्यमा संलग्न व्यवसायी यसमा मुख्य दोषी छन् । व्यापारीहरूले चोरीपैठारी र नेपालगन्जको व्यवसाय नचल्नुमा किनमेलका लागि रुपैडिया जाने सेवाग्राहीलाई मात्रै दोष देखाउँछन् तर चोरीतस्करी गरेर भित्रिएको सामान स्वयम् व्यवसायीकै पसल र गोदाममा भेटिएको बिर्सिन्छन् ।

जानकारहरू भन्छन्– सर्वसाधारण किनमेलका लागि सीमापार जाँदा भएको राजस्व घाटा देखिने कुरा हो । त्यसबाहेक क्यारिङमार्फत विभिन्न नाकाबाट भित्रिने करोडौँको सामानले निम्त्याएको राजस्व घाटाको हिसाब भनिसाध्य छैन । त्यसलाई सरकारी निकाय वा व्यवसायी कस्ले प्रोत्साहन गरिरहेको छ ? नेपालगन्ज उद्योग वाणिज्य संघले सीमापार बजारले गर्दा स्वदेशी व्यापार सुकेको भन्दै त्यसलाई नियन्त्रण गर्ने उपायलाई आफ्नो मुद्दा बनाउँदै आएको छ ।

तर बजार अनुगमन र छापा मार्दा तस्करीका सामान स्वयम् व्यापारीका पसल र गोदाममा भेटिने गरेका छन् । स्वदेशी बजार सुकेको भन्दै सर्वसाधारणलाई सीमापार नजाउ भन्ने व्यवसायीकै पसलदेखि गोदामसम्म तस्करीका सामान बग्रेल्ती भेटिने कुरा कुनै नौलो विषय होइन । तर यिनै विषयलाई नजरअन्दाज गरेर सस्तोको लोभमा सीमापार जाने सर्वसाधारणलाई मात्रै दोषी देखाएर आफू चोख्खिने कार्य गर्न नहुने धेरैको भनाइ छ ।

नेपालगन्ज–१२ मा बसोबास गर्ने दिलसरा पुन भन्छिन्, ‘सीमापारबाट अवैध सामानका नाममा किनमेल गर्ने सर्वसाधारणभन्दा खतरनाक कुरा त तस्करीमार्फत भित्रिने लाखौंको सामान स्टक गरेर बेच्ने हुन् । उनीहरूलाई रोक्ने को ?’ तर किनमेलका नाममा पनि दैनिक लाखौंको राजस्व घाटा भइरहेकाले उनीहरूको नियमन हुनुपर्ने उनी बताउँछिन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन टोलीले गर्ने हरेक बजार अनुगमनमा अवैधरूपमा भित्रिएका सामान फेला पर्छन् । त्यसरी फेला परेका सामान समितिले नष्ट गर्दै व्यवसायीलाई जरिवाना गर्दै आएको छ । यसरी पसल–पसलमा भेटिने अवैध सामान भन्सार नाकाको कमजोर सुरक्षा व्यवस्था छलेर बजारमा भित्रिएका हुन् ।

अवैध सामान भित्रिने मूल स्रोत भन्सार नाका फितलो तर बजार अनुगमन कडाइ भइरहेको छ । नेपालगन्जको चौलिका चोकदेखि जमुनाहसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीका आधा दर्जन चेकपोष्ट छन् तर त्यसलाई समेत छलेर नेपालगन्जमा अवैध सामान भित्रिन्छ ।

नाकाको फितलो सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै भित्रिएको सामान बजार पुगिसकेपछि बजार अनुगमन समितिले बरामद गर्ने गरेको छ । नाकाबाटै भित्रिनै नदिने गरी कडाइ गर्न कस्ले रोक्छ ? मुख्य नाका मात्रै होइन सहायक नाकामा समेत सुरक्षाकर्मी उपस्थिति हुने ठाउँबाट समेत तस्करी भइरहेको छ ।

यता जिल्ला बजार अनुगमन समितिले पसल–पसलमा छापा मार्दा चिसो पेय पदार्थ र सुर्तीजन्य पदार्थ फेला पारेर नष्ट गदै आएको छ । यसरी अवैधरूपमा भित्रिने सामान व्यवसायीहरूले नै खरिद गरी बिक्री गर्दै आएका छन् । उनीहरूकै कारण तस्करी मौलाएको छ । तर नेपालगन्ज उद्योग वाणिज्य संघले त्यस्तो कार्य गर्ने व्यवसायीलाई संरक्षण नगर्ने प्रष्ट भन्दै आएको छ ।

उनीहरूले आफ्नो छाता संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघमार्फत बजार, व्यवसाय पर्वका बीच पनि उत्साहप्रद हुन नसेकको भन्दै उपभोक्ता सरासर सीमापार जाने र तस्करहरूले निर्वाध सामान विभिन्न जिल्ला पु¥याउने अवस्था रोक्न सम्बद्धहरूसँग माग गरेका हुन् ।

पछिल्लो आर्थिक संकट र तस्करी मौलाएपछि नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेन । गत आर्थिक वर्षमा २९ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ लक्ष्य लिएको भन्सार कार्यालयले झन्डै ११ अर्ब नोक्सान व्यहोर्दै १८ अर्ब १९ करोड राजस्व संकलन भयो । यो वर्ष मात्र होइन, बर्सेनि भन्सार कार्यालयले राजस्व गुमाउँदै आएको छ ।

यसरी दैनिक भन्सार छली चोरी पैठारी गरेर सामान आयात हुँदा यसको प्रत्यक्ष असर राजस्व सङ्कलनमा परेको छ । बर्सेनि राजस्व गिरावट हुनुको प्रमुख कारण नै यही भएको कतिपयको भनाइ छ ।

नाकामै राखियो हेल्प डेक्स

बजारको अवस्था चिन्ताजनक भएपछि तस्करी रोक्न माग गरेको उद्योग वाणिज्य संघले दसँैंको किनमेल स्वदेशमै गर्न सचेतना अभियान सुरु गरेको छ । सोमबार जमुनाह नाकामा त हेल्प डेक्स नै सञ्चालन गरेको संघका अध्यक्ष टंक बहादुर धामीले जानकारी दिए ।

सीमावर्ती भारतीय रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकलाई लक्षित गरी नेपालगन्जमा उपभोक्ता सचेतना र अवैध आयात रोकथामलगायतका अभियान सञ्चालनको काम भएको अध्यक्ष धामीले बताए । उनका अनुसार नेपालीका चाडपर्वमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउन सीमा क्षेत्रमा हेल्प डेक्स राखिएको छ ।

नेपालगन्जमै गुणस्तरीय तथा सस्तो पाइने सामग्रीसमेत भारतीय बजारमा खरिद गर्न पुग्ने उपभोक्ताको धारणामा परिवर्तन ल्याउने गरी सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

दसैंँको किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगन्जका व्यापारी चिन्तित छन् । बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यानलगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् ।

सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको बाक्लो उपस्थितिले नेपालगन्जका व्यापारीलाई वर्षौंदेखि पिरोल्दै आएको छ । सरकारी निकायको उदाससिनताका कारण नेपालगन्जमा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमले बताए ।

नाकामै व्यवसायीको आकस्मिक बैठक

सय रुपैयाँभन्दा माथिको सामान ल्याउँदा भन्सार तिर्नुपर्नेलगायत भन्सार क्षेत्र सुधारका लागि नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको आकस्मिक बैठक जमुनाह भन्सार नाकामै बसेको छ ।

जमुनाह भन्सार नाकामा संघले सोमबार आयोजना गरेको ‘भन्सारमा सहजीकरण तथा सचेतना कार्यक्रम’का क्रममा बाँकेका उद्योगी व्यवसायीले एक घण्टा भन्सार क्षेत्रको अवलोकन भ्रमण गर्दा देखिएका कमीकमजोरी सुधार्न संघले कार्यसमितिको आकस्मिक बैठक डाकेको प्रवक्ता डम्बरबहादुर चन्दले जानकारी दिए ।

प्रवक्ता चन्दका अनुसार संघको बैठकले सीमावर्ती रुपैडियामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जस्तै जमुनाहा नाकामा पनि भारत प्रवेश गर्दा र भारतबाट नेपाल आउँदा सबै यात्रीहरूलाई अनिवार्य रूपमा परिचयपत्रका चेकजाँच गर्ने व्यवस्था लागू गर्नुपर्ने, भारतबाट किनमेल गरेर आएका यात्रीको सामान राम्ररी चेकजाँच गरी जमुनाहा नाकाको यात्रु शाखाबाटै राजस्व संकलन गर्ने कार्यलाई प्रभावकारी बनाउनुपर्ने माग गरेको छ ।

त्यसैगरी, जमुनाहा मूल नाकामा जस्तै सीमा नाकाकोे मुस्किलले एक किलोमिटरको दूरीमा आधा दर्जनभन्दा बढी तस्करी गर्ने नाकाहरू रहेको उल्लेख गर्दै ती सबै स्थानमा तत्काल ब्यारियल नै राखेर सशस्त्र प्रहरी बलको अस्थायी पोस्ट राख्नुपर्ने र सिसिटिभी जडान गरेर कडा निगरानी गर्नुपर्ने संघको माग छ ।

जमुनाहा नाकामा २०७५–०७६ सालदेखि यात्रु शाखामा राखेको स्क्यानर मेसिन बिग्रिएर थन्किएको अवस्थामा छ ।

सबै सामानको स्क्यान गरेर मात्र पठाउन स्क्यानर मेसिन राख्नुपर्ने पनि माग गरिएको छ । त्यसैगरी खुला सीमा नाकाका कारण अवैध आयात निर्यात भइरहेको भन्दै सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका बाँकेका साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँयाबघौडामा छोटी भन्सार सञ्चालन गर्न पनि सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष टंकबहादुर धामीले जमुनाहा नाकामा देखिएका समस्याहरू तत्काल समाधान गर्न बैठकको निर्णयलाई नेपालगन्ज भन्सारका अधिकृत पदमराज पन्तमार्फत भन्सार विभागका महानिर्देशकलाई पाँचबुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए । उनले भने, ‘भन्सार क्षेत्रको सुधारका लागि हामी यहाँ भौतिक पूर्वाधार निर्माणदेखि नीतिगत र कानुनी रूपमा सुधारका लागि प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर समस्या समाधानका लागि पहल गर्नेछौं ।’

संघको भन्सार सहजीकरण तथा सचेतना कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके, नेपालगन्ज भन्सार एजेन्ट संघलगायत विभिन्न वस्तुगत संघसंस्थाको ठूलो सहभागिता रहेको थियो । कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले भन्सार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गरेका थिए ।

सीमापारि किनमेलमा जानेको लगत संकलन

नेपालगन्ज उद्योग वाणिज्य संघले सोमबार मध्याह्न १२ बजेदेखि दिउँसो १ बजेसम्म भन्सार सहजीकरण तथा सचेतना कार्यक्रमअन्तर्गत भारत जानेहरूको अभिलेख राखेको थियो । संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीका अनुसार एक घण्टाको अवधिमा १ हजार ५ सय ७२ पुरुष र १ हजार १ सय २२ महिला गरी २ हजार ६ सय ९४ जना भारत प्रवेश गरेका थिए ।

त्योभन्दा धेरै संख्यामा भारतबाट नेपाल आएका थिए । संघले भारतबाट आउने २ सय ७३ जनालाई ‘भारतीय सीमावर्ती बजारमा किनमेल सर्वेक्षण–२०८०’ प्रश्नावली भर्न लगाएको थियो । भारतबाट किनमेल गर्न आउने अधिकांशले चिनी, चामल, पिठो, मैदा, सुटका कपडा, तरकारी, मसलाजन्य खाद्यवस्तुलगायतका दुई दर्जनभन्दा बढी आइटमका सामान खरिद गरेको पाइएको थियो ।

एक जनाले कम्तीमा ३ सय ४० रुपैयाँको पाँच किलो चिनीदेखि ५ हजार रुपैयाँभन्दा बढीको सामान खरिद गरेको सर्वेक्षणका क्रममा जानकारी दिएका थिए । एउटै व्यक्तिले ठूलो परिणाममा चिनी र चालम ओसारेको पाइएको थियो ।

संंघले कार्यक्रम सञ्चालन गर्दैगर्दा सोमबार दिउँसो २ बजेसम्म भन्सार कर्मचारीले एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउने ३ सय १४ जनालाई राजस्व तिर्न लगाएको थियो ।

जसबाट यो अवधिमा मात्र १ लाख ६४ हजार रुपैयाँको राजस्व संकलन भएको थियो । जुन अघिल्ला दिनमा हुने राजस्व संकलनभन्दा निकै धेरै हो । जबकि अघिल्लो दिन अर्थात १४ असोजमा दिनभर ५ सय ८६ जनाले राजस्व तिरेका थिए । जसबाट तीन लाख १ हजार ५ सय ६७ रुपैयाँको राजस्व संकलन भएको थियो ।

संघको कार्यक्रमले जमुनाहा नाकादेखि रुपैडियासम्म लर्को लागेको थियो । जसलाई नेपालगन्ज भन्सारमा संघले फिल्म देखाएको भनेर टिप्पणी गरेका थिए । सय रुपैयाँमाथिको सामानको भन्सार तिर्नुपर्दा र नेपाल र भारतका सीमा नाकामा लामो समय चेकिङको रमिताले सास्ती हुँदा कतिपयले अब भारतीय बजारमा किनमेल गर्न नजाने बताएका थिए ।

प्रकाशित मिति : २०८० असोज १६ गते मंगलबार