गणेश रावत । कोहलपुर (बाँके) ।
जुम्ला चन्दननाथ नगरपालिका –८ का हरिचन्द्र विष्ट स्याउ व्यापारी हुन् । उनले विगत लामो समयदेखि कोहलपुरमा स्याउको व्यापार गर्दै आएका छन् । सानै उमेरदेखि भारतको कालापहाड धाउने विष्टले अहिले आफ्नै ठाउँमा स्याउ व्यापार गरी मनग्य आम्दानी गर्न थालेका छन् । चर्काे कोहलपुरको गर्मीमा उपभोक्तालाई जुम्लाको अर्गानिक स्याउको स्वाद चखाइरहेका छन् ।
कोहलपुर हरियाली मार्ग पुरानो बसपार्कनजिकै सटर भाडामा लिई विष्ट स्याउ बिक्री गरिरहेका भेटिन्छन् । उनले विगत १३ वर्षदेखि जुम्लाको स्याउ कोहलपुरमा ल्याएर बेच्न थालेका हुन् । ‘१३ वर्षदेखि स्याउ व्यापार गरिरहेको छु,’ उनले भने, ‘किसानहरूको बगैंचामा गई ६० रुपैयाँ केजी हालेर ल्याए स्याउ कोहलपुरमा १ सय १० रुपैयाँमा बिक्री भइरहेको छ ।’
आर्थिक अवस्था कमजोर भएका कारण उनी पहिला कालापहाड काम गर्न जान्थे । बिरानो ठाउँमा ढुंगा, बालुवा बोक्ने काम गर्थे । ‘कालापहाडमा काम गर्न जाँदा साह्रै दुःख पाइयो,’ विष्टले सुनाए, ‘अहिले जे जस्तो भए पनि हिजोका जस्ता दुःख छैनन् ।’
स्याउको व्यापार राम्रै भइरहेको उनको अनुभव छ । अर्गानिक स्याउ भनेपछि उपभोक्ताको पनि आकर्षण बढिरहेको उनले सुनाए । ‘स्याउ राम्रो छ,’ उनले भने, ‘तर स्याउको काटुन राम्रो नहुँदा स्याउ कुहिएको छ ।’ जुम्ला–कोहलपुर सडकखण्ड राम्रो नहुँदा धेरै स्याउ काटुनमै कुहिएर खेरा जाने गरेको उनले बताए । ‘एक त स्याउको कार्टुन राम्रो छैन,’ उनले भने, ‘अर्कातिर बाटो पनि त्यस्तै छ । जसका कारण धेरै स्याउ कुहिने समस्या छ ।’
आफू भर्खरै एक ट्रक स्याउ ल्याएको बताए । पहिला ल्याएको दुई ट्रक स्याउ उनले बिक्री गरिसकेका छन् । यो पनि चाँडै सिध्दिने उनको आशा छ । उनको आम्दानीको मुख्य स्रोत भनेकै यही स्याउ व्यापार हो । यसैबाट उनले परिवार पाल्दै आएका छन् ।
त्यस्तै, मुगु छायानाथ रारा–२ का धनसिंङ तिरुवा पनि स्याउ व्यापारी हुन् । २२ बर्से लक्का जवान तिरुवा पनि कोहलपुर हरियाली मार्गमै सटर भाडामा लिएर स्याउको व्यापार गरिरहेका छन् । कक्षा १२ सम्म अध्ययन गरेका उनले स्याउ व्यापार गर्न थालेको दुई वर्ष भयो । पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण काम गर्दै पढ्दै गर्नुपरेको उनले दुखेसो पोखे ।
‘आफ्नो पढाइलाई निरन्तरता दिन विगतमा मैले होटलमा भाडा माझ्ने काम समेत गरेँ,’ उनले भने, ‘अहिले स्याउ व्यापार गर्न थालेको छु ।’ अहिले आम्दानी पनि राम्रो भइरहेको उनको भनाइ छ । अब बिएडमा भर्ना हुने योजना रहेकोसमेत तिरुवाले बताए । मुगुको स्याउ अहिले कोहलपुरका विभिन्न कुनामा पु¥याउने काम तिरुवाले गरिरहेका छन् ।
तर बाटोको असुविधा र यातायातको साधनको असहजताका कारण मुगुको स्याउ यहाँ ल्याइपु¥उनु त्यति सहज भने छैन । उनले केही दिनअघि मात्रै एक ट्रक स्याउ कोहलपुर भित्र्याएका थिए । अहिले त्यही स्याउ बेचिरहेका छन् ।
खुलामा १ सय २० रुपैयाँ र होलेसलमा ९० रुपैयाँ किलो स्याउ बिक्री भइरहेको उनले बताए । मुगुमा स्याउ उत्पादन राम्रो भए पनि त्यसले बजार नपाउँदा कुहिने गरेको उनको कथन छ ।
विष्ट र तिरुवा जस्तै अहिले जुम्ला र मुगुको स्याउ कोहलपुरमा बेच्ने व्यापारी धेरै छन् । उनीहरूको व्यापारले एकातिर स्याउको बजारीकरणमा सहजता पुगेको छ भने अर्कातिर धेरैले रोजगारी पाएका छन् ।
स्याउको व्यापारले आफ्नो घरखर्च मजासँग चलेको विष्ट बताउँछन् । स्याउकै व्यापारबाट उनको परिवारको जीवन धानिएको छ । त्यस्तै, यही व्यापारले तिरुवालाई पनि आफ्नो अध्ययन अगाडि बढाउन हौसला मिलेको छ ।
प्रतिक्रिया दिनुहोस्