बाँसगढी (बर्दिया) ।
चाडबाडको मौसम सुरु भइसक्यो । तर बजार शून्य छ । बजारमा मान्छेको चहलपहल छैन । सिजनका हिसाबले यतिबेला व्यापारीहरू व्यापारमा व्यस्त हुनुपर्ने समय हो । अर्थात कृषकलाई मंसिरको माचो भएझैँ व्यापारीको व्यस्तता हुनुपर्ने समय हो यो । तर बाँसगढीका अधिकांश व्यापारी भने यतिबेला मोबाइल हेरेर समय बिताउने गरेका छन् ।
‘व्यापारस्यापार छैन,’ मोबाइलमा व्यस्त भेटिएका बाँसगढीका व्यापारी युगपति पौडेल भन्छन्, ‘मोबाइल हेरेर भए पनि समय बिताउनुपरेको छ ।’ व्यापारका नाममा दिनभरि पसल रुँगेर बस्नु मात्र भएको उनको भनाइ छ । ‘कहिले त बोहनी हुन पनि गाह्रो भइसक्यो,’ उनले भने ।
बजारभरि प्रायःसबैको यही अवस्था रहेको उनले बताए । हुन त समग्र मुलुक नै यतिबेला आर्थिक मन्दीको चपेटामा छ ।
ठूलाठूला सहरका ठूला व्यापारी पनि अहिले व्यापार घटेकोमा निराश छन् । बाँसगढीजस्तो सानो स्थानीय बजारलाई त्यसको प्रभाव नपर्ने कुरै भएन । ‘मुस्किलले १५/२० हजारको व्यापार गर्दा पनि खुसी हुनुपर्ने अवस्था छ,’ बाँसगढीका हार्डवेयर व्यवसायी पुष्प बराल भन्छन्, ‘लकडाउनका बेला पनि व्यापारमा यस्तो दूरावस्था थिएन । भित्रभित्रै राम्रै व्यापार भएको थियो ।’ बराल बाँसगढी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा यहाँका पुराना व्यवसायी हुन् । २०५१ सालदेखि उनी बाँसगढीमै व्यापार गरेर बसिरहेका छन् । भन्छन्– ‘व्यापार सुरु गरेदेखिकै सबभन्दा खराब अवस्था यतिबेला झेल्नुपरिरहेको छ ।’
कुनै बेला उनी दैनिक लाखभन्दा बढी खुद्रा व्यापारमात्र गर्थे । तर यतिबेला भने केही हजारमै चित्त बुझाउनुपरेको उनको भनाइ छ । यहाँको व्यापारमा करिब ५० प्रतिशतभन्दा बढीले गिरावट आएको उनको अनुमान छ ।
त्यस्तै, रामबहादुर बुढाथोकी पनि यहाँका पुराना व्यापारी हुन् । पिता धनबहादुर बुढाथोकीले सुरु गरेको कपडा व्यापारलाई उनले निरन्तरता दिइरहेका छन् । उनको अनुभवमा पहिलेको तुलनामा अहिले २५ प्रतिशत पनि व्यापार छैन ।
अधिकांश उपभोक्ता सीमापारिका बजारहरूमा जाने गरेका कारण यहाँको व्यापारमा गिरावट आएको उनको बुझाइ छ । सीमापारिबाट ल्याइने घरायासी प्रयोजनका सामानमा पनि केही मात्रामा भए पनि भन्सार लगाउनुपर्ने उनले बताए । ‘यसले सीमापारिबाट हुने अवैध व्यापारमा केही नियन्त्रण हुन्छ,’ उनले भने, ‘राज्यको पनि आम्दानी बढ्छ ।’
दैनिक लाखौँको व्यापार गर्ने यहाँका व्यापारीको त यो अवस्था छ भने साना व्यापारीहरू अवस्था के होला ! सहजै अनुमान गर्न सकिन्छ । बाँसगढीमा सटर खाली हुनेक्रम बढेको छ । बाँसगढीकै अर्का किराना व्यापारी तिलक पाण्डे अहिलेको व्यापारमा भारी गिरावट आएको बताउँछन् । यहाँको व्यापारमा ६० प्रतिशतभन्दा बढीले गिरावट आएको उनले दाबी गरे ।
‘वैशाख महिनाभन्दा अघि मेरो मासिक १० लाखभन्दा बढीको व्यापार हुन्थ्यो,’ उनले ६ महिनाअघिको आफ्नो व्यापार र अहिलेको व्यापारको तुलना गर्दै भने, ‘गत महिना मुस्किलले ४ लाखको व्यापार भयो ।’ उनको भनाइले पनि ६ महिनायता ६० प्रतिशतले व्यापारमा गिरावट आएको देखिन्छ ।
बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीनाथ बरालको पनि यसमा स्वीकारोक्ति छ । ‘अलि ठूला व्यापारीले त जसोतसो धानिरहेको देखिएको छ,’ अध्यक्ष बरालले भने, ‘साना व्यापारी त विस्थापित हुने अवस्थामा छन् ।’ कतिपय व्यापारीले त सटर बन्द गरिसकेको उनले बताए । भित्रभित्र यहाँका ठूला व्यापारीहरू पनि टाट पल्टिने अवस्थामा पुगेको उनले सुनाए ।
सीमाक्षेत्र नजिकको बजार भएकाले सीमामा हुने व्यापारिक गतिविधिले यो बजार प्रभावित बन्ने गरेको छ । ‘एक त यतिबेला समग्र मुलुककै व्यापार व्यवसायमा गिरावट आएको छ,’ अध्यक्ष बरालले भने, ‘सीमा क्षेत्रबाट हुने अवैध तस्करीले यहाँका व्यापारीले थप मार खेप्नुपरेको छ ।’
सीमा क्षेत्रबाट हुने अवैध तस्करीलाई रोक्ने हो भने पनि केही मात्रामा यहाँका व्यापारीलाई राहत हुने उनले बताए । ‘वाणिज्य संघका तर्फबाट हामीले कतिपटक सम्बन्धित निकायमा कुरा पनि राख्यौँ तर पनि खै किन हो हाम्रो मागको सुनुवाइ नै हुन सकेको छैन ।’ विगतमा केही समय भए पनि नाकामा कडाइ गर्दा यहाँका व्यापारीलाई केही राहत मिलेको उनको अनुभव छ ।
खुला सिमानाका कारण घरायसी प्रयोजनका लागि भन्दै नेपाली सीमापारि गएर बजार गर्ने चलन बढेको छ । यही खुलापनको कतिपय ‘पोके’ व्यापारीले फाइदा लिइरहेका छन् । जसका कारण वैधानिक रूपमा राज्यलाई कर तिरेर व्यापार गरिरहेका व्यापारी मर्कामा परेको गुनासो बढिरहेको छ ।
व्यापारीबाट यस्तो गुनासो बढिरहँदा बर्दिया प्रशासनले करिब दुई महिनाअघि सीमा क्षेत्रमा केही कडाइ गरेको थियो । तर केही समयपछि नै पुनः नाका खुला गरिएको व्यापारी बताउँछन् । जसका कारण लौकाही, बलैगाउँ, रुपैडिहामा जस्ता बाँके र बर्दियाका सीमाक्षेत्रका भारतीय बजारहरूमा नेपालीहरूको घुइँचो लाग्ने गरेको छ ।
केही नेताहरूले सस्तो लोकप्रियताका लागि सीमा नियन्त्रण गर्ने कुरामा आपत्ति जनाइरहेकाले पनि व्यापारीका गुनासा सुनुवाइ हुन नसकेको अध्यक्ष बरालकोे बुझाइ छ । ‘केही कथित ठूला नेता नै सीमाबाट हुने तस्करीलाई प्रश्रय दिइरहेका छन्,’ उनले भने, ‘जसका कारण प्र्रशासनले पनि सीमामा कडाइ गर्न सकिरहेको छैन ।’
संघका तर्फबाट आफूहरूले केही प्रयास गरे पनि त्यो पर्याप्त नभएको अध्यक्ष बरालले बताए । ‘हामीले भारतीय डुलुवा व्यापारीलाई स्थानीय बजारमा निधेष ग¥यौँ,’ उनले भने, ‘जसले अवैध रूपमा भारतीय सामान ल्याएर साइकल-मोटरसाइकलमा बेच्ने काम गरिरहेका थिए ।’ यस्ता व्यापारीका कारण राज्य, उपभोक्ता र स्थानीय व्यापारी सबैलाई घाटा भइरहेको उनले दाबी गरे ।
यहाँका पुराना किराना व्यापारी सुनिल अधिकारी पनि अध्यक्ष बरालको भनाइसँग सहमत छन् । देशको आर्थिक मन्दीका कारण सुस्ताएको व्यापार सीमानाकामा भइरहेको तस्करीका कारण झन् चौपट भएको उनको पनि अनुभव छ ।
‘दुई महिनाअघि प्रशासनले सीमानाकामा कडाइ गर्दा सुस्ताएको व्यापारले केही गति लिन थालेको थियो,’ उनले भने ‘तर अहिले फेरि सीमा खुला गरिएको छ । जसले हाम्रो व्यापार ढुटो पारिदिएको छ ।’ उनी बाँससगी उद्योग वाणिज्य संघका सह–कोषाध्यक्ष पनि हुन् । आफूहरूको पटकपटकको आग्रहपछि सिमानामा कडाइ गरिए पनि त्यो दिगो हुन नसकेको उनको गुनासो छ । ‘चाहे त प्रहरी प्रशासनले नाकामा कडाइ गर्न सक्दोरहेछ त !’ उनले भने, ‘कसको दबाब वा प्रभावमा फेरि खुला गरियो थाहा छैन ।’
तर प्रशासन भने नाका खुला भएको कुरा मान्न तयार छैन । प्रशासनले नीतिगत निर्णयमा कुनै परिवर्तन नगरेको बर्दियाका प्रमुख जिल्ला अघिकारी नारायणप्रसाद रिसालले बताए ।
‘नीतिगत रूपमा हाम्रो निर्णय फेरिएको छैन । घरायसी प्रयोजनका लागि तोकिएको रकमबराबरको सामान ल्याउन छुट छ । अन्यथा भए नियमानुसार कारबाही हुन्छ,’ प्रजिअ रिसालले भने । चाडबाड नजिकिएकाले सीमाका भारतीय बजारहरूमा नेपालीहरूको चहलपहल बढेको हुनसक्ने उनले बताए ।
तर व्यवहारमा त्यस्तो नदेखिएको व्यापारीको गुनासो छ । अघोषित रूपमा सीमाक्षेत्र खुलाजस्तै भएको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्