नेपालगन्ज ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बुधबार बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा ‘कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन’ र ‘नेपालगन्ज १३२/३३ केभी सबस्टेसन’को शिलान्यास गरेका छन् ।
दुई वर्षभित्र सक्ने लक्ष्यसहित शिलान्यास गरिएको आयोजनाले ‘लो भोल्टेज’ र जथाभावी विद्युत जाने समस्याले आक्रान्त बाँकेका नागरिकको समस्या समाधान त गर्ने नै छ, नेपालगन्ज–नानपाराको पुरानो प्रसारण लाइन विस्थापित गरी बन्ने नयाँ प्रसारण लाइनमार्फत अन्तरदेशीय विद्युत व्यापारको ढोकासमेत खोल्नेछ ।
प्रसारण लाइनको शिलान्यास गर्दै ऊर्जामन्त्री बस्नेतले समयमै काम सक्न निर्माण कम्पनीलाई स्पष्ट निर्देशन दिएका छन् । ‘यसक्षेत्रका जनता, उद्योगी, व्यवसायी मात्रै होइन अन्तरदेशीय विद्युत व्यापारको समेत ढोका खोल्ने यो आयोजनाको महत्वलाई बुझेर समयमै काम सक्नुहोला,’ ऊर्जामन्त्री बस्नेतले कार्यक्रममा भने, ‘दुई वर्षमा सक्ने भनेको काम चार वर्ष त लागिहाल्छ भन्ने भ्रममा नपर्नुहोला ।’
ऊर्जामन्त्री बस्नेतले अन्तरदेशीय प्रसारण लाइन बन्दासमेत यो सबस्टेसन अत्यावश्यक रहेका कारण समयमै काम सक्नु जरुरी रहेको बताए ।
डेढ अर्ब लागत अनुमान गरिएको उक्त आयोजनाको १३२ केभीको १० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिने आयोजना प्रमुख निरञ्जन गुरुङले बताए । दुई वर्षभित्र निर्माणको काम सक्ने योजना रहेको छ भने उक्त काम सम्पन्न गर्न पावर चाइना सेपको नामक कम्पनीले ठेक्का पाएको छ ।
‘यो काम सम्पन्न भइसकेपछि नेपालगन्जमा जुन खालको विद्युत समस्या छ त्यो समाधान हुन्छ । उद्योगीहरूमा देखापरेको विद्युत समस्या पनि हल हुने गरी यो आयोजना बन्न लागेको हो,’ आयोजना प्रमुख गुरुङले भने । नेपालगन्जमा अहिले ‘लो भोल्टेज’ र जथाभावी विद्युत जाने समस्याले सर्वसाधारण मर्कामा परेका छन् ।
उद्योगहरू पनि यसको मारमा परेका छन् । विशेषगरी औद्योगिक हबका रूपमा विकास भइरहेको गनापुरका उद्योगहरू धेरै प्रभावित छन् । उद्योग, कलकारखाना खुल्ने क्रम बढे पनि विद्युतलगायतका पूर्वाधार नबन्दा सञ्चालनमा कठिनाइ भइरहेको निजी क्षेत्रको तर्फबाट बारम्बार गुनासो आइरहन्छ ।
त्यसलाई सम्बोधन गर्न सुरु हुन लागेको आयोजना समयमै सम्पन्न गर्नुपर्ने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी बताउछन् । उनी भन्छन्, ‘हामीले वर्षौंदेखि उठाउदै आएको माग सुनुवाइ हुन लागेको खबरले म ज्यादै खुसी छु । आशा छ यो काम समयमै सम्पन्न हुनेछ ।’
यो प्रसारण लाइन निर्माण भएपछि भारतको नानपारामा निर्माणाधीन अन्तरदेशीय प्रसारण लाइनमा जोडिने सम्भावना रहेको छ । त्यसो भए नेपालगन्ज र भारतबीच पश्चिममा विद्युत व्यापारको सम्भावना खुला रहनेछ ।
शिलान्यास समारोहमा सहभागी प्रदेश सांसद कृष्णा केसी (नमुना), बादशाह कुर्मी, रत्न खत्रीलगायत स्थानीय जनप्रतिनिधिले हाइटेन्सन तार जडान गर्दा जग्गाधनीलाई मुआब्जा दिनुपर्ने र समयमै काम सक्नुपर्ने आवाज उठाएका थिए ।
प्रतिक्रिया दिनुहोस्