कमल डाँगी । नेपालगन्ज ।
बाँकेमा पर्यटन क्षेत्रलाई लक्षित गरी लगानीको वर्षा भए पनि लगानीकर्ताले प्रतिफल पाउन सकेका छैनन् । यहाँ एकपछि अर्को गरी तारे होटलमा लगानी थपिँदै छ । फनपार्क, होमस्टे, फिल्म हलमा लगानी गर्नेको संख्या दिनप्रतिदिन बढ्दै छ । कति त लहडका भरमा यो क्षेत्रमा लगानी थपिरहेका छन् ।
बजारको सम्भाव्यता अध्ययन नगरी गरिएको लगानी जोखिमपूर्ण बन्ने खतरासमेत देखिएको औँल्याउनेहरूको कमी छैन । सञ्चालनमा रहेका होटलको अवस्था देख्दा पनि त्यसको पुष्टि हुन्छ । त्यही जोखिम कम गर्न बाँकेमा पर्यटकीय गतिविधि बढाउनुपर्नेमा सरोकारवाला अगुवाहरू जोड दिन्छन् । पर्यटकीय गतिविधिमा भने बाँके भर्खर बामे सर्दै गरेको अवस्थामा छ ।
पूर्वाधार बढाउन नसकेको अवस्थामा होटलको लगानी बालुवामा पानी हुन सक्ने खतरा देखिएको जानकारहरू बताउँछन् । पछिल्लो समय बाँकेमा एकपछि अर्को गरी तारे होटलमा लगानी थपिने क्रम बढेको भए पनि प्रतिफल अपेक्षाकृत नहुँदा लगानीकर्ता निराश बन्दै गएका छन् ।
सुरुमा उत्साहका साथ लगानी गरेका लगानीकर्ता बाँकेमा होटलमा लगानी अब ‘इनअफ’ अर्थात पुग्यो भन्ने अवस्थामा आएको बताउँछन् ।
नयाँ थपिँदै छन् भने पुराना धराशायी बन्दै गएको अवस्था छ । जिल्लामा पछिल्लो एक दशकयता मात्र दुईवटा पाँच तारेसहित झन्डै एक दर्जन तारे होटल स्थापना भए । यी होटलमा अर्बौंको लगानी थुप्रिएको छ । सम्भाव्यता अध्ययन नगरी होटलमा केका आधारमा यतिका लगानी भइरहेको छ ? कसैले जवाफ दिन जरुरी ठानेका छैनन् ।
एक समय होटलमा लगानी घोषणा गर्ने उत्साह नै थियो । ग्ल्यामरस बिजनेस भएकाले धेरैले होटलमा लगानी गर्ने त भनिहाले तर पर्यटकको वास्तविक अंक र सञ्चालनमा रहेका होटलको अवस्था बुझ्दै जाँदा सबै झस्किए । लगानी घोषणा गर्दा जुन उत्साह देखिएको थियो, पछिल्ला वर्ष पर्यटक आगमन र पर्यटकीय पूर्वाधार निर्माणमा भएको सुस्तताले लगानीकर्ताको उत्साह निराशामा परिणत भइदियो ।
नेपालमा जुन क्षेत्रमा ‘लहर आउँछ, त्यतै लगानी गर्ने होडबाजी चल्छ । होटल बिजनेसमा पनि वास्तविकता नबुझी लगानी घोषणा गरिँदा धेरै परियोजना अन्योलमा परेको बताउँछन, होटल द गोल्डेन ब्लिजका प्रबन्धक सीताराम यादव । तर पर्यटनको बजार नै नभएको भन्न नमिल्ने बताउँदै उनी थप्छन्,–‘निराश हुने होइन सम्भावनाको खोजी गरेर अघि बढ्ने हो ।’
व्यवसायीका अनुसार पर्यटक बढाएर नभई आइरहेका पर्यटक तानतुन गरी होटल चलाउँछु भन्ने मानसिकताले धेरै होटलमा लगानी गरियो । सरकारी तथा गैरसरकारी कार्यालय अत्यधिक भएका बेला त्यही देखेर धेरैले नेपालगन्जमा होटल खोले । तर दुर्भाग्य प्रदेश संरचना कार्यान्वयन भएपछि जम्मै कार्यालय अन्यत्र सरे ।
होटलमा लगानी थुप्रिएकै बेला निर्माण भएको त्यो परिस्थितिले यहाँ होटल व्यवसायीलाई ठूलै मारमा पारेको थियो । यसको विकल्पमा मानसरोवर तीर्थ पर्यटनले यहाँको होटल व्यवसायलाई उकास्ने अपेक्षा गरिएको थियो । तर त्यो पनि भरपर्दो छैन । एजेन्सीमार्फत नै तीर्थयात्री आउने भएकाले यहाँका होटल व्यवसायीले उधारो रकम नै फिर्ता नपाउने अवस्था छ । त्यो पैसा हजारमा होइन लाखौँमा रहेका कारण होटल व्यवसायीलाई मार परेको छ ।
भ्रमण वर्षले केही उत्साह थपेको थियो । पश्चिमका आउने पर्यटकलाई नेपालगन्जमा बसाउन सकिने आशासहित यहाँका होटल व्यवसायीले तयारी सुरु गरेका थिए । तर भ्रमण वर्ष सुरु हुनु र कोभिडको महामारी सुरु हुनु सँगसँगै भयो ।
परिणाम होटल व्यवसाय उठ्नै नसक्ने गरी धराशायी भएको होटल व्यवसायी संघ बाँकेका पूर्वअध्यक्ष भिमलाल कँडेलले बताए । सुरुदेखि नै कुनै सम्भाव्यता अध्ययन नगरी हचुवाका भरमा होटल खोलिएकोमा झन् अहिले उत्पन्न अनेकन परिस्थितिले यहाँका होटल व्यवसायीलाई लगानी निल्नु न ओकल्नुको अवस्था सिर्जना भएको छ ।
व्यवस्थापनमा चुस्तदुरुस्त रहेका एकाध होटलबाहेक अधिकांश बेचौँ कि राखौँ भन्ने अवस्थामा छन् । तर यस्तो अवस्थामा ग्राहक कहाँ पाउनु ? बेच्न चाहे पनि बिक्री अवस्था छैन । कतिपय होटल त लिजमा समेत दिने काम भइरहेको छ । त्यसो त पहिलेदेखि नै भारतीय चेन होटलको व्यवस्थापनमा यहाँका धेरै होटल सञ्चालनमा छन् ।
तर निराश भइहाल्ने अवस्था पनि नभएको कँडेल बताउँछन् । बजारको खोजी गर्नेहरू भविष्य अन्धकार होइन राम्रै देखिरहेका छन् । अहिले सबै ठाउँको परिस्थिति प्रतिकूल भएकाले बाँकेका होटलको व्यवस्थामा समेत त्यसको मार परेको कँडेल बताउँछन् ।
यसरी उत्साहित हुने लगानीकर्ताहरू बाँकेमा आगामी दिनमा सञ्चालन हुने पूर्वाधार विकासले होटल चल्ने वा नचल्ने कुराको निर्धारण हुने बताउँछन् । नेपालगन्ज दिल्ली उडान र पोखरा उडान जस्ता पर्यटकीय गतिविधि बढ्ने कार्य अगाडि बढाउन सके होटल व्यवसायको भविष्य राम्रै हुने तर्क गर्नेको पनि कमी छैन ।
नेपालगन्ज पोखरा उडान भइरहे पनि दिल्ली हुन सकिरहेको छैन । नेपालगन्जका सांसद धवलशमशेर राणाले बाँकेमा आर्थिक विकासको प्रमुख खम्बामा हस्पिटालिटी क्षेत्रलाई समेत मानेका छन् । क्रस बोर्डर टुरिजमदेखि क्यासिनो सिटीको विकासलगायतले हस्पिटालिटी क्षेत्रलाई निराश नबनाइहाल्ने उनको तर्क रहँदै आएको छ ।
नेपालगन्जलाई ट्रान्जिट पार्ने गरी नेपाल र भारतबीच क्रस बोर्डर टुरिजमलाई व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउन सरोकारवाला निकायका अगुवाहरू आन्तरिक छलफल र दौडधुपमा लागेका छन् । राणा भन्छन्, ‘नेपालगन्जको पर्यटकीय विकासका लागि क्रस बोर्डर टुरिजम अपरिहार्य छ । अब हामी त्यस दिशामा अगाडि बढ्नुपर्छ ।’ राणाले नेपालगन्जले अब भारतीय पर्यटकलाई नजरअन्दाज गर्न नसक्ने पनि बताए ।
उनले भने, ‘जमुनाह नाकाबाट भारतीय नागरिक छिर्नेबित्तिकै फरक तरिकाले हेर्ने नजरमा अब परिवर्तन ल्याउनुपर्छ । सीमावर्ती भारतीय नागरिकहरू पर्यटक बनेर दुनियाँ घुम्न जान्छन्, राम्रो वातावरण बनाउन सक्यौं भने नेपाल पनि घुम्न आउँछन् ।’
नेपालगन्जमा क्रसर बोर्डर टुरिजमका आधार तयार भएका छन् । क्यासिनो खेल्न लखनउबाट मात्र होइन दिल्लीबाट समेत आइरहेका छन् । तिनै नागरिकलाई कर्णाली प्रदेशको हिलस्टेसनदेखि बाँके, बर्दियाको पर्यापर्यटन घुमाउन सकिने प्रशस्त आधार तयार भएको छ । छोटो समयको पर्यटनका लागि नेपालगन्जमा पनपार्कहरू बन्दै छन् त्यसले सीमावर्ती भारतीय नागरिकलाई आकर्षित गर्नेछ ।
लामो समयको टुरिजमका लागि नेपालगन्जबाटै कर्णाली प्रदेशका लागि माउन्टेन फ्लाइट, टे«किङजस्ता योजना बन्दै गरेको मेरो प्लानेट फनपार्कका ओमकार मिश्र बताउँछन् । ‘क्रस बोर्डर टुरिजमका लागि आधार तयार गर्दै जान सक्यौँ भने राम्रो हुन्छ । हामी त्यसका लागि सक्रियतापूर्वक लाग्दै छौँ,’ मिश्रले भने ।
नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले क्रस बोर्डर टुरिजम अहिले पनि रहेको बताउँदै अब त्यसलाई बिस्तार गर्दै लैजानुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्– ‘कैलाश मानसरोवरको त नेपालगन्ज हब नै हो । तर अब यसमा मात्र सीमित नभई थप क्षेत्र बिस्तार गर्नुपर्छ ।’ विभिन्न सेवाप्रदायक कम्पनीहरूले नेपालगन्जलाई ट्रान्जिट बनाई कर्णालीका लागि टुर प्याकेज ल्याएका छन् । त्यसमा भारतीय नागरिकलाई जोड्न सकिने आधार तयार भएको छ ।
प्रतिक्रिया दिनुहोस्