आफ्नै ठाउँमा बिरानो–बिरानो



कोहलपुर ।

दुब्लो काया । रोगले थलिएर सुकेको शरीर । लाग्छ, उनको विगतले उनलाई गिज्याइरहेको छ । शारीरिक सुगठन र आत्मसुरक्षाका लागि जीवनभर गरिएको परिश्रम नै आज उनका लागि विरोधाभाषी भएका छन् । ज्यान सुकेर सुइरो भएको छ, अलि ठूलो बतास चले पनि उडाउलाजस्तो ।

कोहलपुर–११ का प्रेमलाल थारूलाई भेट्दा जोकोहीलाई त्यस्तै लाग्न सक्छ । प्रेम घरको पिँढीमा बसेर आफ्ना पुराना दिन उग्राइरहन्छन् । पुराना दिन सम्झनुबाहेक अब उनीसँग के नै छ र ! रोगले आधा भएको शरीर लिएर उनी सोचमग्न बसिरहेका भेटिन्छन् । ‘यो सुगर भन्ने रोग त ज्याद्रो पो हुँदोरहेछ,’ उनी सुस्केरा हाल्छन्, ‘एक वर्षमै ज्यान सुकेर यस्तो भयो ।’

प्रेमलाई बालापनले छोड्यो । जोसिलो युवा उमेरले छोड्यो । जागिर पनि सकियो । अझ छोराछोरी पनि टाढाटाढा हुँदै गए । उनका चेलाचपाटाहरूले पनि बिर्सिंदै गए । सबैले छोड्दै गए पनि धन्न कान्छी श्रीमतीले भने उनलाई छोडेकी छैनन् । श्रीमतीले समय–समयमा खाना र औधषी पानी पु¥याएकी छन् र त उनलाई बाँच्न सहज भएको छ ।

‘तपाईं खेलकुद परिषद््को कर्मचारी रहँदा खेलकुदको विकासमा पु¥याउनुभएको विशिष्ट योगदानको मूल्यांकन गर्दै यो कदरपत्र प्रदान गरिएको छ,’ राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उनलाई दिएको कदरपत्रमा भनिएको छ, ‘भविष्यमा पनि तपाईंबाट खेलकुद विकासमा अझ बढी अपेक्षासहित तपाईंको सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।’

तर राखेपले अपेक्षा गरेजस्तो उनी रिटायर्ड भएपछि न उनले खेलकुदमा खासै योगदान नै गर्न सके न त उनको स्वास्थ्य नै राम्रो बन्न सक्यो ।
उमेरहदका कारण २२ बर्से जागिरबाट अवकाश पाएपछि उनले आफ्नो गाउँठाउँमा निःशुल्क प्रशिक्षण कक्षा नचलाएका पनि होइनन् । नेपालगन्ज, कोहलपुरलगायतका सहरमा कराँतेको निःशुल्क प्रशिक्षण कक्षा चलाए । ‘तर सोचेजस्तो भएन,’ उनले भने, ‘त्यति आकर्षण देखिएन । पछिल्लो समय स्वास्थ्यले पनि मलाई साथ दिएन ।’

कुनै बेला उनी देश दुनियाँ घुमे । राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चर्चा बटुले । बाइस वर्ष त उनले काठमाडौँमा बिताए । राष्ट्रिय खेलकुद परिषद्मा सितेरियो कराँतेका सहायक प्रशिक्षक बनेर उनले सयौँलाई प्रशिक्षण दिए । कुनै बेला उनको अघिपछि चेलाचपाटाको लस्कर नै लाग्ने गथ्र्यो तर यतिबेला भने नियतिले उनलाई कोहलपुर थारू गाउँको एउटा कुनामा ल्याएर थन्क्याएको छ, एक्लो–एक्लो ।

सितेरियो कराँतेका ब्ल्याक बेल्ट (सिक्स डन, सिहान) उनी यतिबेला गाउँभित्रै उपेक्षित जस्तै भएर मृत्यु कुरिरहेका छन् । २०३२ सालतिरको कुरा हो, जतिबेला उनी धरानको नापी शाखामा भोलिन्टियरको काम गर्थे । त्यतिबेला उनी १६/१७ वर्षका मात्र थिए । एक दिन उनले एउटा चौरमा केही किशोरहरूलाई सेतो रङको एउटै डे«समा लामबद्ध भएर केही ‘व्यायाम’जस्तो गरिरहेको देखे ।

उनीहरू अनौठो पाराले व्यायाम गरिरहेका थिए । यो देखेर उनलाई कौतुहल जाग्यो । नजिकै गएर उनले एक जनालाई सोधे– ‘यिनीहरू के गरिरहेका ?’ ‘कराँते खेलिरहेका,’ ती व्यक्तिले जवाफ दिए । उनलाई यो खेलप्रति जिज्ञासा उब्जियो । उनले यसका बारेमा पहिलोपल्ट देखे, सुनेका थिए ।

केही दिनपछि त्यो टोलीमा उनी पनि सामेल भए । ‘त्यसपछि म आदरणीय गुरु थानेश्वर राईको चेलो भएँ,’ उनले सम्झिए, ‘म पनि कराँतेको प्रशिक्षार्थी बनेँ ।’ प्रेमका अनुसार उतिबेला यो खेल प्रतिबन्धित थियो । बक्सिङ, तेक्वान्डोलगायतका खेलले मान्यता पाए पनि नेपालमा सितेरियो कराँतेले खेलको मान्यता पाएको थिएन । ‘ठाउँठाउँमा लुकीलुकी यसका प्रशिक्षण लिनुपथ्र्यो,’ प्रेमलालले भने, ‘प्रशिक्षण लिनेक्रममा मलाई कतिपटक त पुलिसले पक्राउ पनि ग¥यो ।’

२०४६ सालमा प्रजातन्त्र आएपछि बल्ल यो खेलले पनि राष्ट्रिय खेलको मान्यता पायो । उनले पहिलो नेसनल च्याम्पियन २०३९ सालमा पोखरामा खेले । त्यसपछि उनी खेलका क्रममा कहिले झापा, कहिले वीरगन्ज, कहिले विराटनगर त कहिले नेपालगन्ज गरिरहे । कति खेल उनले आफ्नो पक्षमा पारे, कति खेलमा हार व्यहोर्नुप¥यो । २०४७ सालमा उनले सिंंगापुरबाट ब्ल्याक बेल्ट लिए । ‘त्यतिबेला ब्ल्याक बेल्ट लिन या त भारत जानुपथ्र्यो या सिंगापुर,’ उनले सुनाए, ‘भारतको ब्ल्याक बेल्टको त्यति महत्व थिएन । त्यसैले म सिंगापुर गएँ ।’

ब्ल्याकबेल्ट लिएर फर्केपछि उनी विभिन्न ठाउँमा प्रशिक्षण दिन थाले । ‘कराँते प्रशिक्षणकै लागि म सात वर्ष त बर्दियाको गुलरियामा बसेँ,’ प्रेमलालले भने । त्यसपछि उनी सरकारी प्रशिक्षक भएर काठमाडौँ गए । राखेपअन्तर्गत कराँतेको भोलिन्टियर प्रशिक्षक भएर त्यहाँ उनले केही समय काम गरे । २०५२ सालमा पहिलोपटक राखेपले कराँते प्रशिक्षकका लागि भ्याकेन्सी खोल्यो । उनले त्यसमा दरखास्त दिए । र, उनी सहायक प्रशिक्षकमा चुनिए पनि । अब सरकारी प्रशिक्षकका रूपमा कराँतेका खेलाडीलाई प्रशिक्षण दिन थाले ।

‘मेरो अधिकांश समय त काठमाडौँमै प्रशिक्षण दिएर बित्यो,’ प्रेमले भने, ‘कहिलेकाहीँ प्रशिक्षणका लागि उपत्यका बाहिर पनि जान्थेँ ।’ प्रशिक्षकका अलावा उनले आफू पनि विभिन्न प्रतियोगिताहरूमा सहभागी भएर खेल्न थाले । यसैक्रममा उनले भारत, मकाउ, थाइल्यान्ड, सिंगापुरजस्ता देशमा गएर दक्षिण एसियाली खेलहरूमा प्रतिस्पर्धा गरे ।

‘तर दुर्भाग्य ती कुनै पनि खेलमा म सफल हुन सकिनँ,’ उनले भने । राष्ट्रिय खेलहरूमा मेडल प्राप्त गरे पनि अन्तर्राष्ट्रिय खेलमा मेडल प्राप्त गर्न नसकेकोमा उनले दुःख मनाउ गरे । ‘खै के नमिलेर हो, तयारी पुगेन कि, भाग्यले साथ दिएन,’ उनले भने, ‘दुर्भाग्य नै भन्नुपर्छ, सफलता पाउन सकिएन ।’

प्रशिक्षक भएर उनले थुप्रै खेलाडी र प्रशिक्षक जन्माए । तर उनीहरू कहाँ छन् के कति प्रगति गरिरहेका छन्, प्रेम बेखबर छन् । कहिलेकाहीँ उनी आफ्ना चेलाहरूको सफलताको खबर सुन्छन् र खुसी हुन्छन् पनि । तर त्यो खुसी साट्न भने पाउँदैनन् । अहिले उनका लागि खेल दुनियाँ एकादेशको कथा जस्तो भएको छ । उनका खेलजीवनका साथी संगाती, चेलाचपाटी पनि छुटेका छन् ।

आफ्नै गाउँ वा पालिकाभित्र पनि उनी ‘बिरानो’ जस्ता भएका छन् । यतिबेला उनलाई धेरैले चिन्दैनन् । चिन्नेहरूले पनि त्यति वास्ता गरेजस्तो उनलाई लाग्दैन ।‘समयक्रमसँगै आफ्नै सन्तान त टाढा हुँदारहेछन्,’ उनले लामो सुस्केरा हाले, ‘अरूले मलाई वास्ता गरेन भनेर के गुनासो
गर्नु !’

प्रकाशित मिति : २०८० असोज ६ गते शनिबार