नेपालगन्ज ।
बाँकेको नौबस्तामा प्रस्ताव गरिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको काम तत्काल सुरु गर्ने निर्णय गरिएको छ । बाँके प्रमुख जिल्ला अधिकारी विपीन आचार्यको अध्यक्षमा शुक्रबार नेपालगन्जमा बसेको सर्वपक्षीय बैठकले बस्ती व्यवस्थापन गर्दै जाने तर तत्कालका लागि पूर्वाधार निर्माणको काम पनि सुरु गर्ने सहमति जुटाएको छ । सम्भवतः हप्तादिनभित्र नै टेन्डर आह्वान गरिनेछ ।
प्रस्तावित जग्गामा बसोबास गर्नेहरूले आफूहरूको उचित व्यवस्थापन गर्नुपर्ने माग अघि सारेका कारण यसअघि काम सुरु हुन सकेको थिएन । तर शुक्रबार बसेको जनप्रतिनिधि, उद्योग मन्त्रालयका अधिकारी, सांसद, व्यवसायीहरूको भेलाले नौबस्ता औद्योगिक क्षेत्रको नाममा रहेको खाली जग्गाबाट काम सुरु गर्ने सहमति जुटाएको हो ।
प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माणका लागि बाँकेको बैजनाथ गाउँपालिका–३ मा छुट्याइएको ३ सय ३८ बिघा क्षेत्रफल जमिनभित्रै २ सय ६८ स्थानीयले घरटहरा बनाएको हुँदा उनीहरूको अवरोधकै कारण हालसम्म निर्माण कार्य सुरु गर्न नसकेको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
पटक–पटक प्रयास गरे पनि जग्गा अतिक्रमण हटाउन नसक्दा हालसम्म पनि औद्योगिक क्षेत्र परियोजनाको काम अगाडि बढाउन सकिएको छैन ।
स्थानीयको अवरोधकै कारण परियोजनाको काम सुरु नहुँदा औद्योगिक क्षेत्रको जमिनमा घरटहरा थपिने क्रम बढेको पाइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको तथ्यांकमा २ सय ६८ घर टहरा रहे पनि त्यहाँ बसोबास गर्दै आएका स्थानीयले सो संख्या बढेको बताएका छन् ।
सरकारले गत आर्थिक वर्षमा नौबस्ता औद्योगिक क्षेत्रमा जग्गा विकास कार्य गर्न ७५ करोड, वन व्यवस्थापनका लागि २ करोड र प्रशासकीय भवन निर्माणका लागि एक करोड विनियोजन गरेको थियो । तर, काम सुरु नहुँदा सो रकम अन्यत्र रकमान्तर गरिएको थियो । चालू आवमा ४५ करोड विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि पनि सरकारले सो औद्योगिक क्षेत्रका लागि बजेट विनियोजन गरे पनि काम हुने–नहुने निश्चित नरहेको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
औद्योगिक क्षेत्रको जग्गामा रहेको बस्ती व्यवस्थापनका लागि पटक–पटक प्रयास गरे पनि सफल हुन नसकेपछि निर्माण कार्य अगाडि बढ्न नसकेको हो । ६ वर्ष बितिसक्दासम्म परियोजनाको डीपीआर र ईआईएबाहेक अरू कुनै काम गर्न सकिएको छैन ।
नौबस्ता औद्योगिक क्षेत्रको डीपीआर बमोजिम त्यहाँ ३ सय उद्योग स्थापना हुनेछन् । ३ सय ५० बढी उद्योगी व्यवसायीले उद्योग सञ्चालनका लागि आशयपत्रसमेत दर्ता गरिसकेका छन् ।
नेपालगन्ज औद्योगिक क्षेत्रमा उद्योग खोल्न जग्गा समाप्त भइसकेकाले नौबस्ता औद्योगिक क्षेत्र छिटोभन्दा छिटो सञ्चालनका लागि उद्योगीको दबाब बढ्दै गएको छ । २०७२ साल चैत १ गते नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्